Prakash Adhikari February 1, 2024

काठमाडौं, १८ माघ । सरकारले नेपाल वायुसेवा निगमको उपाध्यक्षमा विक्रम राईलाई नियुक्त गरेको छ ।

बिहीबार बसकेको मन्त्रिपरिषद् बैठकले सञ्चालक समिति सदस्य राईलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

सरकारले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई व्यवस्थापन करारमा लैजान समिति गठन गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वगर्भनर दीपेन्द्रबहादुर क्षत्रीको संयोजकत्वमा समिति गठन गरेको हो।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार वायुसेवा निगम करार व्यवस्थापनका लागि योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षत्रीको संयोजकत्वमा समिति बनाइएको हो।

समितिमा व्यवस्थापन विज्ञका रूपमा टीकाराम राई छन् भने अन्य सदस्यमा पर्यटन विभागका महानिर्देशक चक्रबहादुर बुढा, नेवानि सञ्चालक समिति सदस्य रहने अर्थ मन्त्रालयका सहसचिव र वायु सेवा निगम अर्थ विभाग प्रमुख छन्।

व्यवस्थापन करारमा दिने मोडालिटी तय गर्न समितिलाई ४५ दिनको समयावधि दिइएको छ।

क्षत्री र राई यसअघि निगमको व्यवस्थापकीय दक्षता अभिवृद्धि गर्न बनाइएको समितिमा पनि थिए। उक्त समितिले प्रतिवेदन दिइसकेको छ।

त्यस्तै राष्ट्रिय योजना आयोगको रिक्त सदस्यमा रौतहटका उमाशंकर प्रसाद नियुक्त भएका छन् ।

सञ्चार सूचना तथा प्रविधिमन्त्री रेखा शर्माका अनुसार आजको बैठकले नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको सदस्य पदमा सिन्धुपाल्चोकका लेखनाथ लामा र काठमाडौंका साहरा श्रेष्ठलाई मनोनयन गर्ने निर्णय गरेको छ ।

 

Share Now