इस्लामावाद(पाकिस्तान), २७ माघ(बीबीसी) । पाकिस्तानको आम चुनावमा अधिकांश नतिजा आइसक्दा कुनै पनि दलले स्पष्ट बहुमत ल्याउन सकेनन्।
जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानले बिहीवारको चुनावमा जित हासिल गरेको दाबी गरेका छन्। उनको साथ पाएका स्वतन्त्र उम्मेदवारहरूले हालसम्म सबैभन्दा धेरै स्थानमा जित हासिल गरेका छन्।
तर अर्का पूर्व प्रधानमन्त्री नवाज शरिफले आफ्नो दल सबैभन्दा ठूलो बनेको भन्दै अन्यलाई गठबन्धनमा सहभागी हुन आग्रह गर्नुभएको छ।
समाचारहरूका अनुसार शरिफको पीएमएलएन दल र अन्य समूहबीच गठबन्धन बनाउनेबारे छलफल चलिरहेको छ।
आम चुनावको औपचारिक नतिजा घोषणा हुन अझै बाँकी छ।
तर पाकिस्तानका शक्तिशाली सेना प्रमुखले देशलाई अराजकता र ध्रुवीकरणको राजनीतिबाट बाहिर निकाल्न आह्वान गर्नुभएको छ ।
जेनरल असिम मुनिरले एउटा स्थिर नेतृत्व आवश्यक रहेको बताउनुभएको छ।
धेरैतिर इमरान खान समर्थक उम्मेदरवारको जित
चुनाव लड्न प्रतिबन्ध लगाइएसँगै पीटीआईलाई पार्टीको रूपमा मान्यता दिइएको छैन।
एआईद्वारा तयार पारिएको एक भिडिओ सन्देश एक्समा राख्दै इमरान खानले आफ्नो पीटीआई पार्टीले विशाल जित हासिल गरेको बताउनुभएको छ।
खाँनले आफ्नो दलविरुद्धका अनेकौँ कारबाहीबीच आफूहरूले उक्त सफलता हासिल गर्न सकेको बताउनुभयो।
उक्त सन्देशमा भनिएको छ, ूम तपाईँहरू प्रत्येकलाई सन् २०२४ को चुनाव जितेकोमा बधाई दिन चाहन्छ।।।तपाईँहरूले इतिहास रच्नुभएको छ।ू
खान यतिखेर जेलमा हुनुहुन्छ। आफू दोषी पाइएका मुद्दालाई उहाँले राजनीतिक मनसायबाट प्रेरित बताउनुभएको छ।
पीटीआईसँग सम्बन्ध भएका उम्मेदवारहरूको जित अनपेक्षित खालको छ।
किनकि त्यहाँ कैयौँ विज्ञहरूले शरिफलाई देशको शक्तिशाली सेनाको साथ रहेको बताउँदै आएका थिए।
तर चुनाव लड्न प्रतिबन्ध लगाइएसँगै पीटीआईलाई पार्टीको रूपमा मान्यता दिइएको छैन।
नवाज शरिफको दल ‘प्राविधिक रूपमा ठूलो’
त्यसैले प्राविधिक रूपमा शरिफको पाकिस्तान मुस्लिम लीग (नवाफ) वा पीएमएलएल नै औपचारिक रूपमा सबैभन्दा ठूलो राजनीतिक दल हो।
राजनीतिक जोडघटाउ र सांसदहरूलाई आफ्नोतर्फ तान्ने प्रयास जारी रहँदा कसैले पनि तत्कालै पूर्ण रूपमा आफ्नो जित दाबी गरिहाल्ने अवस्था देखिँदैन।
शुक्रवारको भाषणमा शरिफले आफू एक्लैले सरकार गठन गर्ने अवस्था नरहेको स्वीकार गर्नुभएको थियो।
तर आफ्नो पार्टी मुख्यालयबाहिर लाहोरमा समर्थकहरूलाई सम्बोधन गर्ने क्रममा शरिफले अन्य उम्मेदवारहरूलाई आफ्नो गठबन्धनमा सहभागी हुन आग्रह गर्नुभयो।
शरिफले आफूले देशलाई कठिन परिस्थितबाट बाहिर निकाल्न सक्ने समेत बताउनुभयो।
बीबीसीको न्यूजनाइट कार्यक्रमसँग बोल्ने क्रममा शुक्रवार इमरान खानका पूर्व विशेष सहयोगी जुलिफकर बुखारीले भन्नुभयो, ूइमरान खानलाई बुझे अनुसार र हाम्रो राजनीतिक दल पीटीआईमा व्यक्त भावनालाई बुझे अनुसार, मलाई लाग्दैन हामीले कुनै गठबन्धन बनाउँछौँ न त अन्य पार्टीसँग मिलेर सरकार बनाउँछौँ।ू
उहाँले थप्नुभयो ूयद्यपि हामीले।।।संसदमा रहनका लागि, एउटा गठबन्धन बनाउँछौँ, स्वतन्त्र उम्मेदवारका रूपमा नभइ एउटै ब्यानरमुनि, एउटै पार्टीका रूपमा।ू
बहुमत ल्याउन कति चाहिन्छ?
त्यहाँको न्याश्नल असेम्बलीको ३ सय ३६ सिटमध्ये कम्तीमा १ सय ६९ सिट जित्नेले बहुमत पाउँछ।
पाकिस्तानमा करिब १२ करोड ८० लाख मतदाता छन्।
राष्ट्रियसभा भनिने सङ्घीय संसद्सहित प्रान्तीय सभाहरूमा समेत गरेर देशभरि ५, हजार जना उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा छन्।
धाँधलीको आरोपप्रत्यारोपमाझ भएको निर्वाचनको परिणाम विगतका चुनावहरूको भन्दा ढिलो आएको भन्दै विश्लेषकहरूले चिन्ता व्यक्त गरेका छन्।
धेरै विश्लेषकहरूले पाकिस्तानको पछिल्लो निर्वाचनलाई हालसम्मकै कम विश्वसनीय आम चुनाव भनिरहेका छन्।