काठमाडौँ, १ फागुन : नेपाली टोलीकी प्रमुख महिला खेलाडी रुविना क्षेत्रीको उत्कृष्ट ब्याटिङमा नेपालले एसिसी महिला प्रिमियर लिग क्रिकेट प्रतियोगितामा माल्दिभ्सलाई जितका लागि २ सय २८ रनको चुनौती दिएको छ ।
मलेसियाको क्वालालाम्पुरमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै २ सय २७ रनको योगफल बनायो । नेपालका लागि रुविनाले सर्वाधिक १ सय १८ रनको योगदान दिइन् ।
उनी नेपालबाट अन्तर्राष्ट्रिय क्रिकेट खेलमा शतक प्रहार गर्ने पहिलो महिला नेपाली खेलाडी बनिन् । रुविनाले ५४ बलमा शतक पूरा गरेकी हुन् । यसअघि नेपालबाट अन्तर्राष्ट्रिय महिला क्रिकेट खेलमा नेपालकी सीता रानामगरले सर्वाधिक ८२ रन बनाइएकी थिइन् ।
आजको खेलमा रुविनाले ५९ बलमा १० चौका र ५ छक्कासहित अविजित १ सय १८ रन बनाएको हो । त्यसैगरी नेपालका लागि पूजा महतोले ५९ रनको योगदान गरिन् । उनले ३६ बलमा ५ चौका र १ छक्काको मद्दतमा अविजित ५९ रन बनाइन् ।
त्यस्तै सीता रानामगरले १५ रन जोड्दा कविता कुवँले १३ रन बनाइन् । बलिङतर्फ माल्दिभ्सकी शम्मा अलीले सर्वाधिक तीन विकेट लिइन भने नब्बा नासिमले एक विकेट लिइन् ।
—


















