Prakash Adhikari February 13, 2024

क्वालालम्पुर(मलेशिया), १ फागुन । प्रतिस्पर्धी माल्दिभ्समाथि फराकिलो जित निकाल्दै नेपाली राष्ट्रिय महिला क्रिकेट टोली समूह विजेताका रुपमा एसीसी महिला प्रिमियर कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

मंगलबार क्वालालम्पुरको युनिभर्सिटी केवनसांग मलेसिया ओभलमा भएको खेलमा नेपालले माल्दिभ्सलाई २ सय १४ रनको विशाल जित निकालेको हो।

नेपालले दिएको २ सय २८ रनको विशाल लक्ष्य पछ्याएको माल्दिभ्स १३.५ ओभरमा १३ रनमै अलआउट भयो। माल्दिभ्सका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

माल्दिभ्सलाई रोक्ने क्रममा अस्मिना कर्माचार्यले ४ विकेट लिइन्। उनले ४ ओभरमा मात्र ७ रन दिइन्।

पूजा महतो र रुविना क्षेत्री बेलबासेले समान ३ । ३ विकेट लिए। पुजाले ३ ओभरमा २ रन दिइन्। रुविनाले ३.५ ओभरमा मात्र २ रन खर्चिइन्।

त्यसअघि मलेसियाको वांगीमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ सय २७ रनको योगफल तयार पारेको थियो।

नेपालको महिला टिमले टी–२० आई मा बनाएको यो सर्वाधिक स्कोर हो।

पाँचौँ विकेटका लागि रुविना र पूजा महतोले १ सय ६६ रनको कीर्तिमानी साझेदारी गरेपछि नेपालले विशाल योगफल तयार गरेको थियो।

नेपालबाट कुनै पनि विकेटका लागि भएको महिला टी २० आईको अहिलेसम्मकै उच्च साझेदारी हो।

खेलमा रुविना १ सय १८ र पूजा ५९ रनमा नटआउट रहे। रुविनाले ५९ बलमा १० चौका र ५ छक्का प्रहार गरिन्। रुविनाले ५४ बलमा १० चौका र ३ छक्का मद्दतमा शतक पूरा गरिन्।

नेपालबाट अन्तराष्ट्रिय क्रिकेटमा शतक हान्ने रुविना पहिलो खेलाडी हुन्। पूजाले ३६ बलमा ५ चौका र १ छक्का हानिन्।

त्यसअघि ओपनर कविता कुँवर १३ रन बनाउँदै क्याच आउट भइन्। सीता राना मगर १५ रनमा क्याच आउट नै हुन पुगिन्।

कप्तान इन्दु वर्मा गोल्डेन डग आउट भइन्। डली भट्ट ६ रनमा पेभेलियन फर्किन्।

नेपाललाई रोक्ने क्रममा माल्दिभ्सका लागि सम्मा अलीले ३ विकेट लिइन्। नबा विन्तु नसिमको नाममा एक विकेट रह्यो ।

Share Now