काठमाडौँ, ८ फागुन। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी चुनावमा नेपाली कांग्रेसका मतदाताले रुख चिन्हमा नै मतदान गरेर पार्टीलाई प्रत्यक्ष र समानुपातिक तर्फ जिताउन सम्पूर्ण ऊर्जा खर्च गर्न पाउने अवस्था सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
नेपाली कांग्रेसको हिजोदेखि ललितपुरको गोदावरीस्थित सनराईज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भैरहेको महासमिति बैठकमा सांगठनिक प्रस्ताव पेश गर्दै सो प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।
उहाँले भन्नुभएको छ, ‘पार्टीका सदस्यहरू, शुभेच्छुक तथा समर्थक र आम नागरिकलाई पूर्ण विश्वास दिलाउँदै, दृढ संकल्प गर्छौं हामी भविष्यमा हुने आवधिक निर्वाचनहरू आफ्नै तागतमा एक्लै लड्ने छौँ र हाम्रो मतदातालाई नेपाली कांग्रेसको चुनाव चिह्न ‘रुख’ मा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्ने छौँ ।’
३८ पृष्ठ लामो प्रतिवेदनमा उहाँले सांगठनिक अवस्था, सांगठनिक सुधार र कार्ययोजना २० बुँदामा समेट्नुभएको छ ।
महामन्त्री थापाको प्रतिवेदनमा सदस्यता, नेतृत्व चयन प्रक्रिया, समावेशीता, कार्यसमितिको संरचनागत व्यवस्था, उम्मेदवार छनोट प्रक्रिया,, भ्रातृ संघ, शुभेच्छुक संस्था, नेपाली जनसम्पर्क समिति लगायतका २० विषय समेटिएका छन् । प्रतिवेदनको पूर्णपाठको लागि तल क्लिक गर्नुहोलाः


















