Prakash Adhikari February 20, 2024

गोदावरी (ललितपुर), ८ फागुन : नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेसकै सुझबुझपूर्ण कार्यशैलीकै कारण लोकतान्त्रिक समाजवादी संविधान बनेको बताउनुभएको छ ।

ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी पार्टीको महासमिति बैठकमा नीति प्रस्ताव प्रस्तुत गर्नुहुँदै उपसभापति खड्काले भन्नुभयो, ‘‘नेपाली कांग्रेसले चाहेकै जस्तो संविधान बन्ने अवस्था नहुँदा पनि कांग्रेसको सुझबुझपूर्ण कार्यशैलीले गर्दा लोकतान्त्रिक समाजवादी संविधान बन्यो । देश लोकतान्त्रिक बाटोमा गयो । यद्यपि केही असन्तुष्टि भने बाँकी रहने अवस्था रह्यो ।”

उहाँले यस विषम परिस्थितिलाई सम्हाल्दैै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वको गठबन्धन सरकारले दुई पटक तीन वटै तहको निर्वाचन सम्पन्न गरेको उल्लेख गर्नुभयो । यद्यपि संविधानले प्रत्याभूत गरेको मौलिक हकलगायत संविधान पूर्ण कार्यान्वयनका लागि आवश्यक कानुनको निर्माणमा अझै बाँकी रहेको उहाँको भनाइ थियो ।

उपसभापति खड्काले राजनीतिक स्थायित्व, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र आर्थिक वृद्धि तथा उन्नतिका पक्षमा भरपर्दाे र दिगो काम द्रुत गतिमा अगाडि बढ्न नसक्दा सङ्क्रमणकालीन अवस्था लम्बिइरहेको बताउनुभयो । सत्यनिरूपण तथा मेलमिलापका काम अझै निष्कर्षमा पुग्न नसकेको उल्लेख गर्नुहुँदै यसका कारण तीन तहको सरकारबाट अपेक्षा गरिएजस्तो छिटोछरितो सेवा प्रवाह हुन नसकेको बताउनुभयो ।

उहाँले नीति प्रस्ताव समयानुकूल बदलिनुपर्ने नीति, नियम, ऐन तथा कानुन अझै बन्न नसकेको बताउनुभयो । जसले गर्दा नागरिकका दुःख तथा कष्टमा आशा गरेअनुसार सुधार आउन नसकेको उहाँको भनाइ थियो ।

पूर्णपाठको लागि तल क्लिक गर्नुहोस् :

 

PBKhadka-Prastab

Share Now