Prakash Adhikari May 10, 2018

प्योड.याड.(उत्तर कोरिया), २७ बैशाख(बीबीसी) । उत्तर कोरियाले तीन जना अमेरिकी नागरिकहरूलाई हिरासतमुक्त गरेको अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी दिएका छन्।

उत्तर कोरियाको त्यस्तो कदमलाई अमेरिकी राष्ट्रपति ट्रम्प तथा उत्तर कोरियाली नेता किम जङ-अनबीच हुने भनिएको ऐतिहासिक शिखरबैठकपूर्व एउटा सद्भावपूर्ण संकेतका रूपमा हेरिएको छ।

हिरासतमुक्त गरिएका ती तीन जना पुरुष अमेरिकी विदेशमन्त्री माइक पोम्पेओसँगै अमेरिका फर्कने ट्रम्पले बताएका छन्।

बिहीवार बिहानै एन्ड्रुज हवाई अखडा पुगी उनीहरूलाई स्वागत गर्ने ट्रम्पले बताएका छन्।’

पक्राउ
किम र ट्रम्पबीच हुने आसन्न शिखरबैठकबारे प्रबन्धहरू मिलाउन पोम्पेओ उत्तर कोरिया पुगेका हुन्।

उत्तर कोरियाले राज्य-विरोधी गतिविधिहरू गरेको भन्दै किम हाक-सङ, किम साङ डुक तथा किम दोङ-चुललाई हिरासतमा लिएको थियो र उनीहरूलाई श्रम शिविरहरूमा राखिएको थियो।

अमेरिकी विदेशमन्त्री पोम्पेओले छ हप्ताभित्रै उत्तर कोरियाली नेता किमसँग दोस्रो पटक भेट गरेका छन्।
तीमध्ये दुई जना सन् २०१७ मा पक्राउ परेका थिए भने अर्का एकजना १८ महिनाअघि नियन्त्रणमा लिइएका थिए।

उनीहरूमाथि लगाइएको आरोप ‘राजनीतिक र मानव अधिकारको उल्लंघन’ भन्दै व्यापक निन्दा गरिएको थियो।

सकारात्मक

ट्रम्पले विदेशमन्त्री पोम्पेओ र उत्तर कोरियाली नेता किमबीच भएको बैठक राम्रो भएको जनाएका छन्।

साथै उनी र किमबीच हुने भनिएको प्रत्यक्ष वार्ताको स्थान तथा समय पनि तय गरिएको बताएका छन्।

तर त्यसबारे थप विवरणहरू भने सार्वजनिक गरिएको छैन।

पोम्पेओले उत्तर कोरियास्थित वरिष्ठ अधिकारीहरूलाई प्योङयाङले उसका परमाणु अस्त्रहरू त्यागे उत्तर कोरियाली जनताले साँच्चि नै पाउनु पर्ने अवसरहरू पाउन सक्ने बताएका छन्।

दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय ब्लू हाउसले अमेरिकी नागरिकहरूको रिहाइलाई स्वागत गर्दै त्यस्तो कदमले अमेरिका तथा उत्तर कोरियाबीच हुने आसन्न वार्तामा ‘सकारात्मक प्रभाव’ पार्ने बताएको छ।

Share Now

Leave a comment.