Prakash Adhikari February 29, 2024

एलिजाभेटा फोख्ट, इल्या बारबानोफ र ओल्गा इभ्शिना
बीबीसी रुसी सेवा
लण्डन (संयुक्त अधिराज्य), १७ फागुन । रुसले एक वर्षभन्दा अघिदेखि युक्रेनविरुद्ध लड्न कैदीहरूलाई पठाउँदै आएको छ। सुरुमा हिंसात्मक अपराधमा कैद भुक्तान गरिरहेका भए पनि लडाइँमा पठाइएका त्यस्ता कैदीलाई छ महिना लडेपछि माफी दिने र मुक्त गरिने भनिएको थियो। तर बीबीसीले त्यस किसिमको क्षमादानको व्यवस्था अहिले कायम नरहेको पत्ता लगाएको छ।

अहिले कैदीहरूले माफी पाउँदैनन्। युद्धमोर्चामा उनीहरूले पहिलेको भन्दा कठिन परिस्थिति खेप्नुपर्छ। उनीहरूले युद्धको अन्त्यसम्म नै अनिवार्य रूपमा लड्नुपर्ने भएको छ।

“तपाईँ अहिले युद्धमा जानका लागि अगाडि सर्नुहुन्छ भने मर्न पनि तयार हुनुहोस्,” युक्रेनमा लडिरहेका रुसी कैदीहरूको एक अनलाइन च्याटरूममा सर्गे नामक एक व्यक्तिले लेखेका छन्।

उनले अक्टोबरदेखि आफू “स्टर्म भी” नामको नयाँ सैन्य टुकडीको सदस्य रहेको र कैदीहरूलाई यही टुकडीमा पठाइने गरेको जानकारी दिएका छन्।

“पहिले छ महिनासम्म जसोतसो बस्न सकिन्थ्यो। अहिले भने युद्धको अन्त्यसम्म बस्नुपर्ने बाध्यता छ,” उनले लेखेका छन्।

सन् २०२२ मा रुसले कैदीहरूको सामूहिक भर्ती सुरु गर्दा त्यसको नेतृत्व वाग्नर नामक निजी सैन्य सङ्गठनका प्रमुख येभ्गेनी प्रिगोजिनले गरेका थिए।

त्यस बेला कैदीहरूले रणभूमिमा छ महिना बिताएपछि पूर्ण माफी पाएर घर जान पाउँथे।

गत वर्ष अगस्ट महिनामा विमान दुर्घटनामा परी मृत्यु हुनुअघि प्रिगोजिनले यो व्यवस्थाअन्तर्गत झन्डै ५०,००० कैदीलाई रुस-युक्रेन युद्धको अग्रमोर्चामा परिचालन गरिएको जानकारी गराएका थिए।

झन्डै त्यतिकै सङ्ख्यामा कैदीहरूलाई प्रयोग गरिएको मानवाधिकारकर्मीहरूले पनि बताएका छन्।

तीमध्ये हजारौँको युद्धमा ज्यान गयो भने हिंसात्मक अपराध गरेका दर्जनौँसहित अन्यले भने घर फर्किने अवसर पाए। त्यसरी घर फर्किएका केहीले फेरि हत्याजस्ता जघन्य अपराध पनि गरे।

विशेषाधिकार अन्त्य गर्न परिवर्तन

सन् २०२३ फेब्रुअरीमा भने कैदीलाई भर्ती गर्ने कामको जिम्मा रुसी सेनाले लियो। सुरुमा रुसी सेनाले पनि प्रिगोजिनले दिएको सुविधा कायम राखेको थियो।

तर बन्दीहरूलाई दिइएको छ महिनापछि घर फर्किन पाउने “विशेषाधिकार”ले गर्दा नियमित सैनिक तथा उनीहरूका परिवार खुसी भएनन्। यसलाई सम्बोधन गर्न सेनाले नयाँ कडा नियमहरू ल्यायो।

च्याटरूममा राखिएका सन्देशहरू पढेर तथा लडाकुहरू र तिनका परिवारसँग कुरा गरेपछि ‘स्टर्म भी’का जवानहरू युक्रेनको दक्षिणमा जापोरिजादेखि पूर्वमा बख्मुटसम्म युद्धको अग्रमोर्चामा लडाइँ गरिरहेको बीबीसीले पत्ता लगाएको छ।

रुसले युद्ध गर्न रिहा गरेका कैदीहरू विरुद्ध फेरि अपराधको आरोप

रुसको सुदूरपूर्वको जाबेकाल्स्की क्राई क्षेत्रमा बसोबास गर्ने एक महिलाले आफ्नो पति सन् २०२३ को शरद्को सुरुमा स्टर्म भी टुकडीमा भर्ना भएको बताइन्। नाम खुलाउन नचाहेकी उनले आफ्नो पति “गम्भीर अपराध” मा जेल गएको बताइन् तर त्यो अपराध के थियो भनेर खुलाइनन्।

छिटो रिहा हुने आशामा पति युक्रेनविरुद्ध लड्न गएको र त्यस्तो निर्णय दम्पतीले सल्लाह गरेर लिएको ती महिलाले बीबीसीलाई बताइन्।

“यो फेब्रुअरीमा उनी कारागार चलान भएको १५ वर्ष पूरा हुन्थ्यो। उनको सजायअनुसार उनलाई अर्को चार वर्ष जेलमा बिताउनु थियो,” उनले भनिन्, “कारागारमा अवस्था ठिकै थियो। उनले आफ्नो सजाय पूरा काट्न सक्थे तर उनलाई छिटो घर ल्याउने उपाय यो मात्र थियो।”

ती महिलाले रुसी रक्षा मन्त्रालयले आफ्नो पतिसँग छ महिनाको नभई एक वर्षको सम्झौता गरेको बताइन्। उनीभन्दा अगाडि गएका कैदीहरूले भने छ महिनाको मात्र सम्झौता गर्नुपरेको उनको भनाइ छ।

त्यसका साथै सम्झौता “स्वतः नवीकरण” भइरहने हुनाले सुरुको एकवर्षे अवधि समाप्त भएपछि पनि उनका पतिले माफी पाउने र घर आउन पाउने अवस्था नरहेको उनले बीबीसीलाई बताइन्।

सामाजिक सञ्जालमा नातेदारहरूले गरेका पोस्टहरूले ‘स्टर्म भी’मा रहेर लडिरहेका अन्य कैदीहरूलाई पनि मस्कोले “विशेष सैन्य अभियान” भन्दै आइरहेको यो युद्ध अन्त्य नभएसम्म रणभूमिमा नै रहनुपर्ने बाध्यता रहेको देखाउँछ।

यो व्यवस्थासम्बन्धी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले २०२२ सेप्टेम्बरमा एक आदेश दिएका थिए। त्यसमा सम्झौताको म्याद सकिए पनि त्यो समाप्त नहुने र नवीकरण भइरहने बताइएको थियो। साथै युद्धमा जानुअघि सबै कैदीहरूलाई यस प्रावधानबारे जानकारी गराइन्छ।

यसको अर्थ अब कैदीहरूले राष्ट्रिय सम्मान पाए, स्वास्थ्यका आधारमा असक्षम भए, अधिकतम उमेर पुगे वा युद्ध नै अन्त्य भए मात्र मुक्त हुन पाउने छन्।

ससर्त रिहाइ

नयाँ व्यवस्थाअनुसार कैदीहरूले सेनासँग समय बिताएपछि पूर्ण माफी नभई ससर्त रिहाइ मात्र पाउने छन्।

अर्थात् उनले फेरि कुनै अपराध गरे उनको पुरानो अपराधलाई पनि ध्यानमा राखी सजाय दिइने छ।

राष्ट्रपति पुटिनले पनि व्यक्तिगत रूपमा क्षमादानको आदेशमा हस्ताक्षर गर्ने छैनन्।

यसले गर्दा उनले हत्या र यौन हिंसाजस्ता अपराधमा संलग्न अपराधीहरूलाई माफी दिएको भनी अप्रिय समाचार कम आउने विश्वास गरिएको छ।

‘बाँच्ने सम्भावना २५ प्रतिशत’

बीबीसीले स्टर्म भीबाट लडिरहेको दाबी गर्ने धेरै व्यक्तिहरूले च्याटरूममा राखेका पोस्टहरू हेरेको छ।

“अवस्था राम्रै छ। अन्य सैनिकहरूझैँ तलबभत्ता र सुविधा पाइन्छ,” एक बन्दीले लेखेका छन्।

“तपाई बाँच्ने सम्भावना करिब २५ प्रतिशत छ। म स्टर्म भीमा आएको झन्डै पाँच महिना भयो। मेरो समूहमा सुरुमा १०० जना थिए। अहिले ३८ जना मात्र बाँचेका छन्,” अर्का कैदीले राखेका छन्।

स्टर्म भीका धेरै लडाकुलाई १० दिनभन्दा कम तालिम मात्र दिएर युद्धमा पठाइन्छ। केही दर्जन कैदीलाई तीनदेखि पाँच दिन मात्र तालिम दिएर पठाइएको जानकारी पनि सार्वजनिक भएको छ।

सन् १९७९ देखि १९८९ सम्म चलेको अफगानिस्तान युद्धमा तत्कालीन सोभियत सङ्घले नयाँ सैनिकहरूलाई खटाउनुअघि छ महिनासम्म तालिम दिने गर्थ्यो।

सन् २०२३ को ज्यानुअरीदेखि बीबीसी न्यूज रुसीले रुसी वेबसाइट मिडियाजोना र स्वयंसेवकहरूको एक टोलीसँग सहकार्य गर्दै युक्रेनसँगको युद्धमा मारिएका रुसी लडाकुहरूको पहिचान गरिरहेको छ।

यो युद्ध सुरु भएदेखि ८,००० भन्दा बढी कैदीबन्दीहरू लडाइँका क्रममा मारिएका छन्। तीमध्ये कम्तीमा १,१०० जना स्टर्म भी वा स्टर्म भीले प्रतिस्थापन गरेका टुकडीहरूमा कार्यरत थिए।

हामी हाम्रो डेटाबेसमा अदालतको प्रकाशित फैसलाद्वारा सजाय पुष्टि भएका कैदीहरूको विवरण मात्र समावेश गर्छौँ। तर सबै फैसला डिजिटल माध्यममा उपलब्ध हुँदैनन् र सबै मृत्युको आधिकारिक जानकारी हुँदैन। त्यसैले मारिएका बन्दीहरूको वास्तविक सङ्ख्या योभन्दा बढी रहेको अनुमान गर्न सकिन्छ।

फेरि मारिएकाहरूको शव तुरुन्तै फेला नपर्ने भएकाले ठ्याक्कै कति जनाको मृत्यु भइसक्यो भनेर निर्क्योल गर्न गाह्रो छ। धेरै जनाले गत वर्षको गर्मीमा सम्पर्कविहीन भएका आफ्ना आफन्तहरूको अझै पनि खोजी गरिरहेका छन्।

“यो नर्कको कहिले अन्त हुँदैन। अन्तिम संस्कार गर्न उनको हाडखोर मात्र पाउँदा पनि म खुसी हुन्छु भनेर कहिले सोचेकी थिइनँ,” एक आमाले च्याटरूममा लेखेकी छन्।

विगतमा सेनाले कैदीहरूको विवरण सधैँ दर्ता गर्दैनथ्यो। तर अहिले भने सेनाको अभ्यासमा परिवर्तन आएको छ र ‘स्टर्म भी’का सदस्यहरूको विवरण पनि स्वयंसेवक नभई सैन्य अधिकारीहरूसरह नै राख्न थालिएको छ।

‘अन्तिम पटक छोराको मुख हेर्न पाए हुन्थ्यो, नभए अस्तु भए पनि ल्याइदेऊ सरकार’

युद्धमा ज्यान जोगिएका धेरै जनालाई युक्रेनी सेनाले समातेको छ। युक्रेनी सैन्य अधिकारीहरूले ती युद्धबन्दीहरूसँग सोधपुछ गरिरहेको झैँ देखिने भिडिओहरू बीबीसीले हेरेको छ।

एउटा भिडिओमा एक व्यक्तिले चोरी तथा शारीरिक क्षति पुर्‍याएको अभियोगमा आफू सन् २०१४ देखि थुप्रै पटक जेल गइसकेको बताएका छन्।

बीबीसीले उनको पहिचान गर्न र अदालती अभिलेखका आधारमा उनको सजाय पुष्टि गर्न सकेको छ।

उनी अक्टोबरमा रुसी रक्षा मन्त्रालयसँग सम्झौता गरी लडाइँमा खटेका थिए। पछि उनलाई युक्रेनी पक्षले बन्दी बनायो। दबावको अवस्थामा उनले स्टर्म भीका लडाकुहरूलाई धेरै जनाको मृत्यु हुने “अर्थहीन आक्रमण”मा पठाइने गरेको जानकारी दिए।

यदि कोही जान नमानेमा उनीहरूलाई खाना समेत नदिई खाल्डोमा राखिने गरेको पनि उनले बताए।

अरू कैदीहरूले पनि त्यस्तै जानकारी दिएका छन्। साइबिरियाकी एक महिलाले आफ्ना पतिको यही कुरा अनुभव गरेको बीबीसीलाई बताइन्।

च्याटरूममा सर्गेले आफू र आफू जस्तै स्टर्म भीका लागि लडिरहेका रूसी कैदीहरूको भविष्यबारे चिन्ता गरेका छन्।

“भाग्यले मात्र पुग्दैन,” आफू बाँच्ने सम्भावनाको बारे उनले लेखेका छन्। “म बाँच्ने छैन भनेर मैले थाहा पाइसकेँ।”

Share Now