Prakash Adhikari March 6, 2024

काठमाडौं, २३ फागुन। नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा कायम भएको नयाँ गठबन्धनबाट सरकारमा पठाइने मन्त्रीहरुको लगभग टुंगो लागेको छ ।

गठबन्धनका ठूला साझेदार मानिएका नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीबाट मन्त्री हुनेको टुंगो लागिसकेको छ भने नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुको टुंगो लाग्न बाँकी छ ।

पार्टीबाट नाम टुंगो लागेका र केही बेरमा प्रधानमन्त्रीबाट राष्ट्रपति समक्ष शिफारिस हुने भावी मन्त्रीहरुको शपथ आजै अपरान्ह ५ बजे हुने भएको छ।

बुधबार नयाँ गठबन्धनको कार्यदल र शीर्ष नेतृत्वबाट गठबन्धनका दलहरुबाट सरकारमा प्रतिनिधित्व हुने संख्या निर्धारण गरिएपछि गठबन्धनमा सामेल दलका नेतृत्वले मन्त्रीहरुको नामावली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएका छन् ।

गठबन्धनको समझदारी अनुसार नयाँ सरकारमा एमालेबाट ८ जना, माओवादीबाट ५ जना, रास्वपाबाट ४ जना र नेकपा एकीकृत समाजवादीबाट २ जनाको प्रतिनिधित्व हुने छ ।

नेकपा एमालेले मन्त्रीहरुको नाम पनि टुंग्याएको छ । एमालेले सचिव रघुवीर महासेठको नेतृत्वमा मन्त्रीहरु पठाउने भएको छ । महासेठलाई उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्रीको कार्यविभाजन गरिएको छ ।

एमालेका पदम गिरीले मन्त्री पदको शपथ लिइसक्नुभएको छ । दामोदर भण्डारी, हरि उप्रेती, भगवती चौधरी, राजेन्द्र राई, ज्वालाकुमारी साह र बलराम अधिकारी पनि मन्त्री हुनेछन् ।

माओवादीलाई प्रधानमन्त्रीसहित ६ मन्त्री

नयाँ सरकारमा नेकपा माओवादीका ५ जना मन्त्री रहने गरी भागबण्डा हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा सरकारमा जाने टिममा माओवादीका नारायणकाजी परराष्ट्र, शक्तिबहादुर बस्नेतले जलस्रोत ,ऊर्जा र सिंचाई ; बर्षामान पुनले अर्थ मन्त्रालय, रेखा शर्माले सूचना तथा सञ्चार प्रविधि मन्त्रालय र हितमान तामाड.ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सम्हाल्नु हुनेछ ।

 

रास्वपालाई ४ मन्त्रालय, विराज र सुमना नयाँ अनुहार

 

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागी हुने चार जनाको नाम टुंगो लगाएको छ ।

नयाँ गठबन्धनमा रास्वपाले गृह,श्रम,युवा तथा खेलकुद र शिक्षा मन्त्रालय पाएको छ । रास्वपाले गृह मन्त्रालयमा सभापति रवि लामिछाने, श्रममा उपसभापति डीपी अर्याल, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ र शिक्षामा सुमना श्रेष्ठलाई पठाउने निर्णय गरेको छ ।

गठबन्धनमा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी पनि सामेल हुने भनिए पनि उनीहरुका प्रतिनिधि तय भैसकेका छैनन् । पहिल्यै गठबन्धनमा सामेल हुने संझौता गरिसकेको जनता समाजवादी पार्टीले पनि भावि मन्त्री छानिसकेको छैन ।

Share Now