Prakash Adhikari March 11, 2024
काठमाडौँ, २८ फागुन : सरकारले सञ्चालन गरेको दादुरा–रुबेलाविरुद्धको खोप अभियानअन्तर्गत मुलुकका ४ सय १३  स्थानीय तहका सबै बालबालिकाले खोप लगाएका छन् । देशका २४ जिल्लाका ती स्थानीय तहमा सबै बालबालिकालाई खोप लगाइएको छ ।
बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमका अनुसार ४३ जिल्लाका १ सय ८० स्थानीय तहमा खोप अभियान जारी छ । हालसम्म करिब ६६ प्रतिशत अर्थात् ३७ लाख ९२ हजार ४ सय ६८ बालबालिकाले खोप लगाइसकेका छन् ।
शाखा प्रमुख डा गौतमले हिमाली भेगका आठ जिल्लाका १ सय २२ स्थानीय तहमा हिमपातका कारण खोप अभियान सञ्चालन हुन नसकेको बताउनुभयो । यही फागुन १३ गतेदेखि दादुरा–रुबेलाको सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी सरकारले पश्चिम रुकुम र जाजरकोट जिल्लाबाहेक ७५ जिल्लामा खोप अभियान सञ्चालन गरेको हो । ती जिल्लाका कूल ५७ लाख ४२ हजार ९ सय ९३ बालबालिकालाई खोप लगाउने लक्ष्य छ ।
भारतसँग सीमा जोडिएका दादुरा–रुबेलाबाट अति सङ्क्रमित २१ जिल्ला तथा काठमाडौँ उपत्यकामा नौ महिनादेखि १५ वर्षमुनिका तथा ५१ जिल्लाका नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई खोप लगाइँदै छ । खोप अभियानका लागि देशभरि ४८ हजार सात सय ९८ खोप केन्द्रको व्यवस्था गरिएको शाखा प्रमुख डा गौतमले जानकारी दिनुभयो । खोप अभियानका लागि ४९ हजार ९ सय ३७ स्वास्थ्यकर्मी र ५९ हजार ९सय ६ स्वयम्सेवक परिचालन गरिएको छ ।
Share Now