Prakash Adhikari March 23, 2024

 

मस्को(रुस), १० चैत्र(बीबीसी) । मस्कोको एउटा कन्सर्ट हलमा बन्दुकधारीहरूले गरेको आक्रमणमा मारिनेको सङ्ख्या १ सय १५ पुगेको रुसका अनुसन्धान अधिकारीहरूले बताएका छन्।

उनीहरूका अनुसार थप शवहरू क्रोकुस सिटी हलभित्र भेटिएका थिए। बन्दुकधारीहरूको आक्रमणका क्रममा ठूलो आगलागी हुँदा हलको छानो खसेको थियो।

घटनामा १ सय ४० जना भन्दा धेरै घाइते भएका थिए।

इस्लामिक स्टेट समूहले जिम्मेवारी लिएको उक्त आक्रमणलाई अधिकारीहरूले आतङ्कवादी हमला भनिरहेका छन्।

अधिकारीहरूले पक्राउ परेका ११ जना शङ्कास्पद व्यक्तिहरूमध्ये चारजना घटनामा प्रत्यक्ष संलग्न भएको बताएका छन्।

एक जना रुसी सांसदका अनुसार घटनाका मुख्य आरोपी चारजना कारमा भागेर घटनास्थलभन्दा सयौँ किलोमिटर टाढा रुसको दक्षिण पश्चिमी क्षेत्र पुगिसकेका थिए।

किएभका अधिकारीहरूले घटनाका आरोपितहरू युक्रेनी सीमातर्फ भाग्दै गरेको भन्ने रुसी सुरक्षा अधिकारीहरूको दाबीप्रति आपत्ति जनाएका छन्।

सामाजिक सञ्जालमा राखिएका भिडिओमा सैन्य पोसाक लगाएका कम्तीमा चार जना व्यक्तिहरूले क्रास्नोगोर्स्कमा रहेको क्रोकुस सिटी हलको लबीमा प्रवेश गर्ने क्रममा गोली चलाइरहेको देख्न सकिन्छ।

अमेरिकी अधिकारीहरूले आफ्नो गुप्तचरी सूचना इस्लामिक स्टेटको दाबीसँग मेल खाएको जनाएका छन्।

दुई हप्ताअघि अमेरिकी राजदूतावासले उग्रवादीहरूले आक्रमणको योजना बुनिरहेको भन्दै मस्कोमा रहेका आफ्ना नागरिकहरूलाई भिडभाड हुने ठाउँमा नजान भनेको थियो।

रुस र युक्रेनबीच लडाइँ चलिरहेको समयमा भएको यो गोली काण्डमा आफू संलग्न नरहेको किएभले बताएको छ।

संसारभरबाट निन्दा

नेपालले मस्कोमा भएको आक्रमणको निन्दा गरेको छ।

परराष्ट्र मन्त्रालयले शनिवार एक विज्ञप्ति जारी गर्दै रुसी जनता र सरकार, घटनाका पीडित र उनीहरूका परिवारप्रति सहानुभूति व्यक्त गरेको छ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उक्त हमलाबारे प्रत्यक्ष सम्बोधन गरिसकेका छैनन् तर सरकारी सञ्चारमाध्यमहरूले उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको उल्लेख गरेको छ।

रुसको न्यास्नल गार्डले आक्रमणकारीहरूको खोजी गरिरहेको विवरण आएका छन् ।

संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्ले उक्त आक्रमणलाई ‘अक्षम्य र लाछी आतङ्कवादी हमला’ भन्दै आतङ्कवाद अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका लागि सबैभन्दा ठूलो चुनौती रहेको जनाएको छ।

रुसी विदेश मन्त्रालयले उक्त ‘बर्बर आक्रमण’ लाई निन्दा गर्न त्यसअघि विश्वलाई अपिल गरेको थियो।

अमेरिकामा ह्वाइट हाउसका प्रवक्ताले पनि गोलीकाण्डका पीडितहरूप्रति आफ्नो सहानुभूति रहेको जनाएको छ।

ह्वाइट हाउसले आफूले रुसी अधिकारीहरूलाई मार्चको सुरुवातमा मस्कोमा ठूला भीडहरूमा निशाना बनाउँदै आक्रमण हुनसक्ने चेतावनी दिएको पनि उल्लेख गरेको छ।

फ्रान्स, स्पेन र इटलीले पनि आश्चर्य प्रकट गर्दै हमलाको निन्दा गरेका छन्।

घटना कसरी भयो?

क्रोकुस सिटी हलमा एउटा रक कन्सर्ट सुरु हुन लाग्दा बन्दुकधारीहरू लबी र कार्यक्रमस्थलभित्र प्रवेश भित्र प्रवेश गरेका थिए।

उक्त भवनमा आगो लागेको छ र छानोको अधिकांश हिस्सा जलेको छ।

रुसी विदेश मन्त्रालयले हताहत हुनेमा बालबालिका पनि रहेको जनाएको छ र आक्रमणलाई आतङ्कवादी हमला भनेको छ।

रक समूह पिकनिकले आयोजना गर्न लागेको कन्सर्ट हेर्न ६ हजार भन्दा बढी मानिसहरू क्रोकुस सिटी हल र कन्सर्ट आयोजना हुने परिसरमा पुगेका थिए। एक जना प्रत्यक्षदर्शीले सो ब्यान्ड स्टेजमा आउनु केही मिनेटअघिमात्रै आक्रमण सुरु भएको जनाएका छ। ब्यान्डका सदस्यहरू भने सुरक्षित रहेको भनिएको छ।

एक जना सुरक्षा गार्डले भारी हतियारसहित आएका आक्रमणकारीले प्रवेशद्वारबाटै गोली चलाउन थालेको र त्यसबेला आफू र आफ्ना साथीहरूले प्रवेशद्वारमा काम गरिरहेको बताए।

“त्यहाँ अरू तीन जना सुरक्षा गार्डहरू पनि थिए र उनीहरू विज्ञापनको एउटा बोर्ड पछाडि लुकेका थिए,” उनले रुसी टेलिग्राम च्यानल बाजालाई भनेका छन्। “र ती हमलाकारीहरू हामीबाट १० मिटर परबाट गए। उनीहरूले भुईँ तल्लामा रहेका मानिसहरूलाई जथाभाबी गोली हानेका थिए।”

अडिटोरियमभित्र रहेकी एक जना महिलाले आगन्तुकहरूले गोली चलेको थाहा पाएपछि उनीहरूले स्टेजतर्फ जाने प्रयास गरेको बताइन्। उनले आफू घिस्रिएर एउटा लाउडस्पीकर पछाडि लुक्ने प्रयास गरेको रुसी टेलिभिजनलाई बताएकी छन्।

हमलाकारीले एक प्रकारको उपकरण फ्यालेपछि आगो लागेको जस्तो विवरण आएका छन्।

एक जना व्यक्ति भिटालीले कन्सर्ट थीअटरको कौसीमा आफू बसिरहेको र हमलाकारीले गोली चलाइरहेको आफूले देखेको बताए। “उनीहरूले केही पेट्रोल बम हाने र त्यसपछि सबै कुरा जल्न थाल्यो। हामीलाई त्यहाँबाट बाहिर लगियो।”

कन्सर्ट हलमा रहेका कतिपय स्टेजबाट पार्किङ क्षेत्रहुँदै भागेका थिए। अन्य कतिपय माथिल्लो तल्लातर्फ गएका थिए। रुसी अधिकारीहरूले १०० जना जति भुईँ तल्लाबाट भागेको जनाएका छन्।

घटनास्थलमा तुरुन्तै एम्बुलेन्सहरूलाई पठाइएको थियो। मस्कोका मेयर सार्गेइ सोब्यानीनले सप्ताहान्तका लागि राजधानीमा तय भएका सबै कार्यक्रमहरू रद्द भएको जनाइएको छ। त्यस लगत्तै रुसले देशको दोस्रो ठूलो सहर सेन्ट पिटर्सबर्गसहित अन्य क्षेत्रहरूमा पनि कैयौँ कार्यक्रमहरू रद्द गरिदिएको छ।

६ दिनअघि मात्रै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पाँचौँ कार्यकालका लागि राष्ट्रपतिमा चुनिएका थिए।

शुक्रवारको आक्रमण वर्षौँ यता मस्कोमा नागरिकहरूमाथि गरिएको सबैभन्दा खराब हमला हो। यसले सन् २००२ मा चेचेन उग्रवादीहरूले एउटा थीअटर नियन्त्रणमा लिएर ९०० मानिसहरूलाई बन्धक बनाएको घटनलाई याद दिलाएको छ।

रुसी सुरक्षा निकायहरू त्यसबेला निन्द्रा लगाउने ग्यास प्रयोग गर्दै उक्त थीअटरभित्र प्रवेश गरेका थिए। त्यसबेला झन्डै १ सय ३० जना बन्धकको ज्यान गएको थियो।

पछिल्लो आक्रमणपछि रुसमा विमानस्थल र स्टेसनहरूमा सुरक्षा व्यवस्था कडा बनाइएको छ।

इस्लामिक स्टेटले किन रुसमाथि आक्रमण गर्छ ?

इस्लामिक स्टेटको एउटा भातृ सङ्गठले मस्कोमा भएको आक्रमणमा आफ्नो हात रहेको जनाएको छ।

यदि त्यो सत्य प्रमाणित भएमा, इस्लामवादी उग्रवादीहरूले रुसभित्र वा रुसलाई निशाना बनाएर गरेको यो पछिल्लो हमला हुनजान्छ।

सन् २०१५ मा इजिप्टको साइनाइ मरुभूमिमा २ सय २४ जना यात्रु सवार एउटा रुसी विमानलाई खसालिएको थियो। २ सय २४ जना सवार उक्त विमानमा अधिकांश यात्रु रुसी थिए।

आगो निभाउँदै अग्नि नियन्त्रक

इस्लामिक स्टेटले सो आक्रमणको जिम्मा लिएको थियो र पछि उसले विस्फोटक सामाग्रीको फोटोसमेत सार्वजनिक गरेको थियो।

आईएस नाइके लुकेर बसेको ठाउँमा यसरी गर्‍यो अमेरिकी सेनाले कारबाही
सन् २०१७ मा सेन्ट पिटर्सबर्गको मेट्रोमा भएको आक्रमणमा १५ जनाको मृत्यु भएको थियो। सो हमलामा पनि उक्त उग्रवादी समूह जोडिएको थियो।

उग्रवादी समूहहरू रुसी सुरक्षा बलसँग नर्थ कोकसस क्षेत्रमा दशकौँदेखि लड्दै आएका छन्।

१० वर्षअघि इस्लामिक स्टेट समूह गठन हुँदा उनीहरूमध्ये ठूलो सङ्ख्या त्यसमा आबद्ध हुन सिरिया गएका थिए। रुसको नर्थ कोकससमा रहेका केही उग्रवादीहरूले उक्त समूहसँगको आफ्नो आबद्धता घोषणा गरेका छन्।

तर मस्को नजिकैको कन्सर्ट स्थलमा भएको आक्रमणको जिम्मेवारी आईएसआईएस(के अर्थात् इस्लामिक स्टेट इन खोर्सानले लिएको छ। खोर्सान एउटा पुरानो शब्द हो जसले इरान, तुर्किमिनिस्तान र अफगानिस्तानका कतिपय क्षेत्रहरू जनाउँछ।

प्रतिआतङ्कवादका विज्ञहरूले रुसलाई आईएसआईएस(केले बारम्बार निशाना साँध्ने गरेको र राष्ट्रपति पुटिनलाई आफ्ना प्रोपगान्डा सामाग्रीमा आलोचना गर्ने गरेको बताउने गरेका छन्।

उक्त समूहले क्रेम्लिनले मुसलमान व्यक्तिहरूमाथि चेचेन्या र सिरिया अनि सोभियतकालीन अफगानिस्तानमा अत्याचार गरेको आरोप लगाउने गरेको पाइन्छ।

 

Share Now