अशोक दाहाल र विजय गजमेर
बीबीसी न्यूज नेपाली,
चुरियामाई (मकवानपुर), १० चैत्र । नेपालको पूर्व पश्चिम महेन्द्र राजमार्गबाट यात्रा गर्दा बारा जिल्लाको चुरियामाई मन्दिर छेवैमा राजमार्गसँगै एउटा छहारी लगाइएको संरचना छ। राजमार्गको साँधैबाट सुरु भएको छहारी चुरेको पहाडी भित्तासम्म पुग्छ र एउटा कालो रङ लगाइएको ढोकामा पुगेर अन्त्य हुन्छ।
त्यो कालो रङ्ग लगाइएको ढोकाभित्र छ नेपालकै पहिलो गाडी गुडाउन बनाइएको सुरुङ मार्ग। महेन्द्र राजमार्ग तर्फबाट प्रवेश गर्दा यो सुरुङ चुरियामाई मन्दिरमा निस्कन्छ। मन्दिरमा राखिएको एउटा शिलालेखमा सुरुङ मार्गको ऐतिहासिक पक्षबारे चर्चा गरिएको छ।
नेपाली इन्जिनियर डिल्लीजङ थापाले अवधारणा तयार गरेको यो सुरुङलाई शिलालेखमा ‘दक्षिण एशियाकै पहिलो मानव निर्मित सुरुङ मार्ग’ भएको दाबी समेत गरिएको छ।
नेपालका विभिन्न ठाउँ घुमेका भूगोलविद् टोनी हागन सहितका अन्तर्राष्ट्रिय पुस्तकहरूमा समेत चर्चा गरिएको यो सुरुङ विगत कैयौँ दशकदेखि अलपत्र थियो।
हालै पुनर्निर्माण गरिएको यो सुरुङमा अब भने सर्वसाधारणले पनि यात्रा गर्न पाउने भएका छन्। तर एक शताब्दीअघि गाडी गुडाउन मिल्ने गरी बनाइएको यो सुरुङमा अब भने पैदल मात्रै हिँड्न पाइने छ।
सुरुङ यात्राको संस्मरण
नेपालमा सडक सञ्जाल बन्नुअघि नै भारतमा ब्रिटिश शासनकालमा रेल सञ्जाल बनिसकेको थियो। भारतबाट नेपालको अमलेखगन्जसम्म रेल आउने गरेको चर्चा विभिन्न ऐतिहासिक दस्ताबेजहरूमा उल्लेख छ।
“तत्कालीन समयमा त्रिभुवन राजपथ महेन्द्र राजमार्गहरू नहुँदाखेरि भीमफेदीसम्म साना खालका यातायातका साधनहरू गुड्न मिल्ने गरी यो सुरुङ बनाइएको थियो,” वाग्मती प्रदेशको यातायात पूर्वाधार निर्देशनालयका इन्जिनियर हरिप्रसाद ओझा भन्नुहुन्छ ।
त्यसबेला भारतको बाटो हुँदै नेपालको राजधानी काठमाडौं आउने मानिसहरू अमलेखगन्जसम्म रेलमा आएर त्यहाँबाट गाडीमा भीमफेदीसम्म आउने र त्यहाँबाट हिँडेर राजधानी प्रवेश गर्ने गरेको अभिलेखहरूमा भेटिन्छ।
अमलेखगन्जबाट सडक बनाउने क्रममा बीचमा पर्ने चुरेको पहाड छल्न तत्कालीन इन्जिनियर थापाले ५०० मिटर लामो यो सुरुङको अवधारणा तयार गरेका थिए।
सन् १९५० को अक्टोबरमा रक्सौल हुँदै नेपाल आएका भूगोलविद् टोनी हागनले अमलेखगन्जबाट हेटौँडासम्म आउँदा घना जङ्गल रहेको र आसपासमा बस्ती नरहेको आफ्नो संस्मरणात्मक पुस्तक नेपाल द किङ्गडम इन द हिमालयमा उल्लेख गरेका छन्।
“मलाई अमलेखगन्जमा पर्खिरहेको महाराजाले पठाएको अटोमोबाइलले हामीलाई कच्ची बाटो हुँदै चुरिया क्षेत्रमा एउटा सय मिटर जति लामो सुरुङबाट एउटा फराकिलो उपत्यकामा निकाल्यो। भारतबाट काठमाडौं आउँदा यो उपत्यकामा हेटौँडाको सानो बजारबाहेक अन्य बस्ती थिएन”, हागनले आफ्नो पुस्तकमा उल्लेख गर्नुभएको थियो।
उहाँका अनुसार सन् १९५० को दशकमा नेपालमा करिब ३७६ किलोमिटर लामो सडक बनिसकेको थियो र काठमाडौं उपत्यकामा करिब १०० वटा मोटर भित्रिइसकेका थिए।
तर कुलेखानीदेखि फर्पिङबीचमा करिब ४० किलोमिटर जटिल पहाडी भूभागमा सडक नहुँदा ती गाडीहरू चित्लाङको बाटो बोकाएर काठमाडौंं ल्याइने गरिएका थिए।
राजा त्रिभुवनको उपचारका लागि नेपाल आएकी जर्मन थेरापिस्ट एरिका लुकेटागले आफ्नो पहिलो नेपाल यात्राको संस्मरणमा पनि यो सुरुङबारे चर्चा गरेकी छिन्।
आफू अमलेखगन्जबाट चढेको गाडी उकालो लागेको र एउटा मन्दिरको छेउमा पुगेपछि पानी चुहिरहने सुरुङ भित्रबाट यात्रा गरेको उक्त पुस्तकमा उल्लेख गरिएको छ।
“एक पटक हाम्रो बाटो एक चौथाइ माइल जति एउटा सुरुङबाट अघि बढ्यो। त्यो सुरुङ लामो र शीतल थियो अनि पानी चुहिरहेको ओडार जस्तो थियो जहाँ आवाजको प्रतिध्वनि गुन्जिन्थ्यो,” आफ्नो पुस्तक एरिका एन्ड द किङ्गमा उहाँले भीमफेदीसम्मको यात्रा स्मरणमा उल्लेख गर्नुभएको छ।
‘सुरुङमै बाल्यकाल बिताएँ’
सुरुङ नजिकै हुर्किएका स्थानीय बासिन्दा राजु नगरकोटी
हाल ५३ वर्षका राजु नगरकोटी चुरियामाई मन्दिरका मुख्य पुजारी हुनुहुन्छ। मन्दिर आसपासमै जन्मिएका नगरकोटीले थाहा पाउँदा यो सुरुङबाट सवारी साधनहरू गुड्न छोडिसकेका थिए। उहाँका हजुरबुबालाई सुरुङको प्रवेशद्वारमा पाले राखिएको थियो।
पूर्व पश्चिम महेन्द्र राजमार्ग र काठमाडौं जोड्ने अन्य सडक मार्ग खुलेपछि सानो गाडी मात्रै अटाउने यो सुरुङ मार्गमा यातायातका साधन गुड्न छोडे।
त्यसपछि स्थानीय बालबालिकाहरूका लागि खेल्ने ठाउँ बनेको यो सुरुङ माथिबाट माटो भास्सिँदै गएपछि अन्ततः बन्द भयो।
“सुरुङमा कोही हिँड्ने आउने जाने नै गर्दैन थियो। हामी हिउँद बर्खामै यहीँ भित्र बस्थ्यौँ। गुच्चा खेल्नेदेखि सुत्नेसम्म यहीँ हुन्थ्यो हाम्रो। गर्मीमा भित्र शीतल र जाडो मौसममा भित्र न्यानो हुन्थ्यो बाहिर आउनै मन नलाग्ने,” सुरुङमा खेलेर बिताएको आफ्नो बाल्यकालबारे नगरकोटीले बीबीसीलाई सुनाउनुभयो।
उहाा करिब तीन दशक अघिसम्म पनि आफूहरू यो सुरुङबाट वारपार गर्ने गरेको सम्झनुहुन्छ।
“बीचमा माथिबाट भस्कियो। त्यसपछि पनि हामी सुतेर छिर्थ्यौँ। अलि पछि माथिबाट पानी र बाटो बगेर टालियो,” उहाँले सुनाउनुभयो।
सुरुङ छेवैको मन्दिरका मुख्य पुजारी नगरकोटी सुरुङ खन्ने क्रममा मानिसहरू बिरामी पर्ने र मृत्युसमेत भएपछि तत्कालीन प्रधानमन्त्री चन्द्रशम्शेर जबराले चुरियामाई मन्दिर बनाउन लगाएको उहाँले सुनाउनुभयो। मन्दिर छेवैमा रहेको आफू बस्ने ठाउँमा श्री ३ लेखिएका इँटाहरू समेत भेटिने गरेको उहाँको दाबी छ।
सुरुङ मर्मत सकिए पनि अहिलेसम्म सर्वसाधारणहरूका लागि यो खुला गरिएको छैन। तर आफ्नो बाल्यकाल सुरुङ वरपर बिताएका नगरकोटीले पुनर्निर्माण सकिएपछि यसको ढोका बन्द गरिनु अगावै सुरुङबाट वारपार गरिसके।
सर्वसाधारणका लागि खुला गरिने
बाग्मती प्रदेशको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले करिब चार करोड रुपैयाँ खर्च गरेर पुनर्निर्माण गरेको यो सुरुङ मार्ग अब छिट्टै पर्यटकीय र अध्ययन प्रयोजनका लागि खुला गरिने यातायात पूर्वाधार निर्देशनालयका इन्जिनियर ओझा बताउँनुहुन्छ।
“सुरुमा जुन उद्देश्यका लागि निर्माण भयो त्यो उद्देश्य त अब पूरा हुँदैन र आवश्यक पनि छैन। यो ऐतिहासिक पुरातात्त्विक संरचनालाई चाहिँ हामीले एउटा पर्यटकीय दृष्टिले संरक्षण संवर्द्धन गर्दै जाने र एउटा अध्ययन केन्द्रको रूपमा पनि स्थापना गर्न सकिन्छ कि भनेर लागेका छौँ,” उहाँले भन्नुभयो।
ओझाका अनुसार यो सुरुङको व्यवस्थापन स्थानीय सरकारबाट गर्ने वा प्रदेशकै मन्त्रालयले गर्ने भन्नेबारे टुङ्गो लागिसकेको छैन।
“तर यो सर्वसाधारणको लागि खुल्ला गर्ने नै हो,” उहाँले भन्नुभयो।
फेरिएको स्वरूप
सुरुङ पुनर्निर्माणको शिलान्यास गर्ने क्रममा वाग्मती प्रदेशका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले आफू विसं २०१८(१९ सालतिर उक्त सुरुङ भएर हिँडेको बताउनुभएको थियो। त्यस बेलासम्म उक्त सुरुङ मार्ग हुँदै गाडीहरूको आवतजावत गरेको स्थानीय बुढापाकाहरू बताउँछन्।
त्यसबेला ५०० मिटर रहेको सुरुङको लम्बाइ अहिले भने २२६.८ मिटर मात्रै छ। यसको आधा भागलाई भत्काएर महेन्द्र राजमार्गको सडक बनाइएपछि सुरुङको लम्बाइ छोटिएको हो।
“यो ५०० मिटर लम्बाइको थियो। राजमार्ग निर्माण क्रममा आधा भागमा सडकले असर गर्यो,” इन्जिनियर ओझाले भने।
शिलालेखका अनुसार दुई वर्ष लगाएर सन् १९१७ र १९१८मा यो सुरुङ बनाइएको थियो।
चुरेको पहाडलाई मानिसहरूले हाते औजारको प्रयोग गरेर खनेको ठानिएको थियो। सुरुङमा माथिबाट माटो नभासियोस् भनेर फलामका डन्डी, काठ र सिमेन्ट जस्तै लाइम कङ्क्रिट प्रयोग भएको भेटिएको थियो।
“हामीले सकेसम्म यसलाई पुरानै स्वरूपमा पुनर्निर्माण प्रयास गरेका हौँ,” ओझाले भन्नुभयो।
उहाँका अनुसार सुरुङको एक तर्फको वास्तविक प्रवेश मार्ग भने राजमार्ग बनाउने क्रममा मेटिएको छ।
सुरुङको लम्बाइबाहेक यसको स्वरूप पहिलेकै जस्तो देखिएको नगरकोटी बताउँछन्। सुरुङको मन्दिरतर्फको द्वारमा रहेको एउटा शिलालेख भने बेपत्ता भएको उहाँले बताउनुभयो।
“त्यहाँ लेखिएको एउटा ढुङ्गा थियो। कसले लग्यो कि के भयो थाहा भएन,” उहाँले भन्नुभयो।
कस्तो छ सुरुङ
हालै पुनर्निर्माण सकिएको उक्त सुरुङको अवलोकन गर्ने पहुँच बीबीसीले पाएको थियो। नेपालकै पहिलो सुरुङ मार्गमा अहिले दुवै तर्फका प्रवेश बिन्दुमा ढोका लगाइएको छ।
अहिले कङ्क्रिट र रडको प्रयोग गरेर मर्मत गरिएको सुरुङ एक पटकमा तीन जना मानिसहरू सँगसँगै सहजै हिँड्न सकिने किसिमको चौडा छ। निर्देशनालयका अनुसार सुरुङको चौडाइ २.५ मिटर र उचाइ तीन मिटर छ।
सुरुङको महेन्द्र राजमार्गपट्टिको भागबाट केही मिटर प्रवेश गर्ने बित्तिकै अर्को तर्फको बाहिरी भाग देख्न सकिन्छ।
चुरियामाई मन्दिर तर्फबाट भने अर्को तर्फको प्रवेशद्वार नदेखिए पनि बाहिरको उज्यालो हेर्न सकिन्छ।
बिजुली बत्तीको प्रयोगबाट सुरुङको भित्री भाग पनि उज्यालो बनाइएको छ जसकारण मानिसहरू सहजै हिँडडुल गर्न सक्छन्।


















