Prakash Adhikari April 1, 2024

नयाँदिल्ली(भारत), १९ चैत्र(बीबीसी) । अर्को महिना हुने आम चुनावको पूर्वसन्ध्यामा भारतका विपक्षी गठबन्धनका समर्थकहरूले राजधानी दिल्लीमा एउटा प्रमुख र्‍याली आयोजना गरेका छन्।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल भ्रष्टाचारको आरोपमा पक्राउ परेयता आयोजना भएको त्यो पहिलो विपक्षी प्रदर्शन हो।

विपक्षी दलहरूले सत्तारूढ भारतीय जनता पार्टीले देशका अनुसन्धान निकायहरूलाई प्रयोग गरी आफ्ना नेताहरूलाई गिरफ्तार गरेको र उनीहरूलाई चुनावी अभियानबाट रोक्न खोजेको आरोप लगाइरहेका छन्।

सरकारले ती आरोपहरू अस्वीकार गर्दै आएको छ।

भारतमा आगामी अप्रिल १९ बाट चरणबद्ध रूपमा निर्वाचनहरू तय गरिएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकाल निर्वाचित हुने प्रयास गरिरहनुभएको छ ।

दिल्ली र अन्य छिमेकी राज्यहरूबाट आएका हजारौँ विपक्षी समर्थकहरूले सो र्‍यालीमा भाग लिएका ठानिएको छ।

विपक्षी समर्थकहरूले के भने

प्रमुख विपक्षी नेताहरूले भारत निरङ्कुशतावादतर्फ अघि बढिरहेको चेतावनी दिँदै त्यसलाई निन्दा गर्न र लोकतन्त्र र संविधानको रक्षा गर्न आफूहरू भेला भएको बताएका छन्।

दिल्लीमा आयोजना भएको सो कार्यक्रममा हजारौँ सहभागी छन्। भारतीय जनता पार्टीले त्यसलाई भ्रष्ट्राचार र्‍याली भएको टिप्पणी गरेको छ।

दिल्लीबाट बीबीसीका दक्षिण एशिया संवाददाता अनबरसन इथिराजन भन्नुहुन्छ, विपक्षी समर्थकहरूले १० दिनअघि भ्रष्टाचारको आरोपमा पक्राउ गरिएका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको रिहाइको माग गर्दै नारा लगाएका थिए।

मत सर्वेक्षणहरूले आगामी चुनावमा मोदीले लगातार तेस्रो पटक जित हासिल गर्ने अपेक्षा गरिएको जनाइरहेका छन्।

विपक्षी कांग्रेस पार्टीलाई चुनावअघि कर विभागले नियम मिचेको भन्दै २० करोड अमेरिकी डलर भन्दा बढी जरिवाना गराएको छ।

‘म्याच फिक्सिङ’ भएको राहुल गान्धीको आरोप

रामलीला मैदानमा भएको भारत गठबन्धनको र्‍यालीमा कांग्रेस नेता राहुल गान्धीले लोकसभा चुनावमा भाजपाले ‘म्याच फिक्सिङ’ गर्न प्रयास गरिरहेको आरोप लगाउनुभयो।

भारतीय कांग्रेस पार्टीका नेता राहुल गान्धीले भन्नुभयो, ूयदि तपाईँहरूले आफ्नो सम्पूर्ण शक्ति लगाएर भोट दिनुभएन भने उनीहरूको म्याच फिक्सिङ सफल हुन्छ। उनीहरूको म्याच फिक्सिङ सफल हुँदा हाम्रो संविधान समाप्त हुन्छ।ू

उहाँले संविधान समाप्त भए सबै सबैको मनमा ठूलो चोट लाग्ने बताउनुभयो।

“यो सामान्य चुनाव होइन, यो संविधान बचाउन, देश बचाउन, वञ्चित र गरिबको अधिकार बचाउने चुनाव हो। यो चुनावमा म्याच फिक्सिङ स्पष्ट देखिन्छ र भाजपाका मानिसहरू त्यसमा सामेल छन्,” राहुलले भन्नुभयो।

उहाँले प्रधानमन्त्री मोदी ‘आफ्ना मानिसहरूलाई निर्वाचन आयोगमा नियुक्त’ गरेको आरोप लगाउनुभएको छ।

“मुख्यमन्त्री समेत रहेका देशका दुई प्रमुख नेताहरूलाई जेलमा हालियो”, गान्धीले भन्नुभयो।

“उनीहरूले हाम्रो ब्याङ्क खाता बन्द गराए। यदि यो सबै गर्नु पर्ने भए छ महिना अगाडि वा छ महिना पछि पनि गर्न सकिन्थ्यो। यो सबै चुनावको लागि गरिएको हो।”

केजरीवालकी श्रीमती सुनिताको भनाइ

 

विपक्षी नेताहरूको गिरफ्तारीको विरोधमा निकालिएको र्‍यालीलाई अरविन्द केजरीवालकी श्रीमती सुनिताले सम्बोधन गर्नुभएको थियो।

 

“प्रधानमन्त्री नरेन्द्र मोदीले मेरा श्रीमान्‌लाई जेल हाल्नुभएको छ। के उहाँको यो काम सही हो? भारतीय जनता पार्टीका मानिसहरूले केजरीवाल जेलमा भएका कारण राजीनामा दिनुपर्छ भनिरहेका छन्। के उहाँले राजीनामा दिनुपर्छ? सम्बोधनका क्रममा उहाँले भन्नुभयो।

 

सुनिता केजरीवालले थप्नुभयो “तपाईँहरूका केजरीवाल सिंह हुनुहुन्छ, उहाँलाई लामो समय उहाँहरूले जेलमा राख्न सक्नुहुन्न।”

 

यो र्‍यालीलाई ‘लोकतन्त्र बचाउ र्‍याली’ नाम दिइएको थियो।

Share Now