Prakash Adhikari April 2, 2024

 

वापी(गुजरात,भारत),२० चैत्र । भारतको गुजरातमा जारी एसएमएस फ्रेन्डसिप कप अन्तर्गत लिगको तेस्रो खेलमा आज नेपाल र बरोडा खेल्दैछन् ।

खेल नेपाली समय अनुसार दिउँसो २ः४५ बजे वापीस्थित साइ मेघपन स्पोर्ट्सलाइफ (एसएमएस) मैदानमा हुनेछ ।

रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टोली लगातार दोस्रो जितको लक्ष्यमा हुनेछ । नेपालले पहिलो खेलमा गुजरातलाई ८ विकेटले हराएको थियो । नेपाली बलरले उत्कृष्ट प्रदर्शन गर्दा गुजरात ९८ रनमा अल आउट भएको थियो ।

उक्त खेलमा गुलसन झाले चार, करण केसीले ३ तथा सोमपाल कामीले १ विकेट लिएका थिए । जवाफी ब्याटिङमा कप्तान रोहित ३३ र अनिल साह ३२ रनमा नटआउट रहे ।

दोस्रो खेलमा गुजरातले बरोडालाई ५ विकेटले पराजित गरेको थियो । बरोडाले १ सय ४२ रन जोड्ने क्रममा परीक्षित पाटिडारको सर्वाधिक ३७ र अभिमन्यु राजपुतले ३२ रनको साथ पाएको थियो । गुजरातले १८ ओभरमा लक्ष्य पूरा गरेको थियो ।

एसीसी मेन्स प्रिमियर कप र टी २० विश्वकपको तयारीका लागि नेपाली सिनियर टोली भारत भ्रमणमा गएको हो ।
नेपाली टोली:

रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दिप जोरा, अनिल शाह, गुलशन झा, करण केसी, सोमपाल कामी, अभिनाश बोहरा, आकाश चन्द, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, प्रतिश जिसी

एसएमएस फ्रेन्डसिप कप तालिका:

मार्च ३१ : नेपाल – गुजरात : नेपाल ८ विकेटले विजयी

अप्रिल १ : गुजरात – बरोडा : गुजरात ५ विकेटले विजयी

अप्रिल २ : नेपाल – बरोडा

अप्रिल ३ : नेपाल – गुजरात

अप्रिल ४ : बरोडा – गुजरात

अप्रिल ५ : नेपाल – बरोडा

अप्रिल ७ : फाइनल (शीर्ष २ टोली)

Share Now