वापी(गुजरात, भारत), २० चैत्र । नेपालले भारतमा जारी एसएमएस फ्रेन्डसिप टी २० कप क्रिकेट प्रतियोगितामा बरोडालाई १ सय ५७ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरेको खेलमा ६ विकेट गुमाउँदै १ सय ५६ रन बनायो । नेपालका कुशल मल्लले २५ बलमा ३ चौका र २ छक्काको सहाराले सर्वाधिक ४० रन बनाए ।
खेलमा सन्दीप जोराले २९ रन बनाएर रनआउट भए ।ओपनर आसिफ शेख र कुशल भुर्तेल ९–९ रनमा आउट भएका थिए । अनिल कुमार शाह २७ बलमा २ चौका र १ छक्कासहित २५ रनमा क्याच आउट भए । कप्तान रोहित पौडेल १३ बलमा ३ चौकासहित १८ र गुलशन झा १३ रनमा आउट भए । दीपेन्द्र सिंह ऐरी ५ रनमा नट आउट रहे ।
नेपाललाई रोक्ने क्रममा भारतका बाबा खानले २, मोहित मोंगिया र परिक्षित पाटिदारले १–१ विकेट लिए । नेपालले पहिलो खेलमा गुजरातलाई ८ विकेटले हराएको थियो । दोस्रो खेलमा गुजरातले बरोडालाई ५ विकेटले हराएको थियो ।


















