Prakash Adhikari April 2, 2024

 

वापी(गुजरात,भारत) २० चैत्र । गुजरातमा चलिरहेको एसएमएस फ्रेन्डशिप कप त्रिकोणात्मक टी २० शृंखलामा नेपालले दोस्रो जित दर्ता गरेको छ ।

पहिलो खेलमा गुजरात विरुद्ध ८ विकेटको जित निकालेको नेपालले आज बरोडालाई २७ रनले पराजित गरेको छ ।

नेपालले दिएको १ सय ५७ रनको लक्ष्य बरोडाले हासिल गर्न सकेन । उसले निर्धारित २० ओभरमा सवै विकेट गुमाएर १ सय २९ रन मात्र बनायो ।

बरोडाका लागि भानु पानियाले २६ बलमा सर्वाधिक ३८ रन बनाए । बाबा खानले २७ रन प्रहार गरे । यस्तै कप्तान विष्णु सोलाङ्कीले २५ रन जोडे भने ओपनर अमित पासीले १४ रन जोडे । अन्य ब्याटरले दोहोरो अंक बनाउन सकेनन् ।

बरोडालाई रोक्न करन केसीले ३ तथा सोमपाल कामी र अविनाश बोहोराले २ । २ विकेट लिए । यस्तै गुलशन झा र दीपेन्द्र सिंह ऐरीले समान १ । १ विकेट लिए ।

त्यसअघि वापीमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५६ रन जोडेको थियो ।

नेपालका लागि कुशल मल्लले अविजित रहँदै ४० रन जोडे । नेपालका ओपनिङ ब्याटर कुशल भुर्तेल ९ रन बनाएर आउट भए । आशिफ शेख पनि ९ रन नै बनाएर आउट भए । कप्तान रोहित कुमार पौडेल १८ रन बनाएर आउट भए । तेस्रो नम्बरमा आएका अनिल शाहले २५ रन जोडे । गुलशन झाले १३ रन बनाए ।सन्दीप जोराले २९ रन बनाए । दीपेन्द्र सिंह ऐरी ५ रनमा नटआउट रहे ।

नेपाललाई रोक्न बरोडाका लागि बाबा खानले २ तथा परीक्षित पतिडर र मोहित मोङ्गियाले समान १ । १ विकेट लिए ।

नेपालले अब तेस्रो खेल भोलि गुजरातसंग खेल्दै छ ।
फ्रेन्ड्सिप कप तालिका:

मार्च ३१ : नेपाल – गुजरात : नेपाल ८ विकेटले विजयी

अप्रिल १ : गुजरात – बरोडा : गुजरात ५ विकेटले विजयी

अप्रिल २ : नेपाल – बरोडा : नेपाल २७ रनले विजयी

अप्रिल ३ : नेपाल – गुजरात

अप्रिल ४ – बरोडा – गुजरात

अप्रिल ५ : नेपाल – बरोडा

अप्रिल ७ : फाइनल

 

 

Share Now