Prakash Adhikari April 6, 2024

डेभिड ग्रिटन /बीबीसी न्यूज

जेनेभा(स्वीजरल्याण्ड) , २४ चैत्र । गाजा स्ट्रिपमा हमासविरुद्ध गरिरहेको लडाइँको शैलीलाई लिएर पश्चिमा देशका सरकारहरूलाई इजरायलविरुद्ध हतियार विक्री रोक्न दबाब परिरहेको छ।

इजरायल मुख्य अस्त्र निर्यातकर्ता हो। तर उसको सेना भने उच्च रूपमा विदेशी विमान, नियन्त्रित बम र क्षेप्यास्त्रहरूमा निर्भर छ।

इजरायलले पछिल्लो समय निकै कडा र विध्वंसकारी हवाई हमलामा तिनको प्रयोग गरिरहेको विज्ञहरू बताउँछन्।

अभियान समूह र इजरायलको पश्चिमा साझेदार देशका केही नेताहरूले इजरायलले नागरिकहरूको जीवन बचाउन पर्याप्त काम गर्न विफल भइरहेको भन्दै अस्त्र निर्यात रोकिनुपर्ने बताइरहेका छन्।

उनीहरूले मानवीय सहायता आवश्यकतामा रहेकाहरूसम्म पुर्‍याउने काम समेत सुनिश्चित गर्न नसकिरहेको बताएका छन्।

शुक्रवार राष्ट्रसङ्घीय मानव अधिकार परिषद्ले अस्त्र प्रतिबन्धलाई साथ दिएको छ। जस क्रममा २८ देशले पक्षमा, छ देशले विपक्षमा मतदान गरेका छन् भने १३ वटा देशले मतदान प्रक्रियामै भाग लिएनन्।

इजरायललाई उच्च मात्रामा अस्त्र निर्यात गर्ने अमेरिका र जर्मनी दुवैले विपक्षमा मतदान गरे।

जर्मनीले उक्त प्रस्तावले प्रस्ट रूपमा हमासको निन्दा नगरेको भन्दै त्यसो गरेको जनाएको छ।

७ अक्टोबरमा हमासले इजरेलमा झण्डै १ हजार २ सय जनाको ज्यान जाने गरी गरेको हमलापछि यो युद्ध सुरु भएको थियो। इजरायलले मारिनेमा मुख्य रूपमा सर्वसाधारणहरू रहेको जनाएको छ।

त्यसपछि गाजामा भएका लडाइँमा ३३ हजारभन्दा धेरै मानिसहरू मारिएका छन्।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार ज्यान गुमाउने ७० प्रतिशत बालबालिका र महिला छन्।

इजरायलले आफ्ना फौजले नागरिक हताहत हुनबाट बचाउने गरी काम गरेको भन्ने गर्छ।

उसले हमासले सर्वसाधारणलाई जबर्जस्ती जोखिममा पारेको र सहायता आपूर्तिका लागि कुनै सीमा नतोकिएको जनाएको छ।

अहिलेसम्ममा अमेरिका इजरायलको सबैभन्दा ठूलो अस्त्र आपूर्तिकर्ता हो।

जसकै सहयोगमा इजरायल प्राविधिक दक्षताका हिसाबले संसारको सबैभन्दा विशिष्ट सेना बनेको छ।

स्टकहोम इन्टरन्याश्नल पीस रिसर्च इन्स्टिच्युट एसआइपीआरआईका अनुसार इजरायलमा सन् २०१९ देखि २०२३ बीचमा भएका अस्त्र आयातमा अमेरिकाको हिस्सा ६९ प्रतिशत छ।

अमेरिकाले इजरायललाई वार्षिक सैन्य सहायताका रूपमा ३.८ अर्ब अमेरिकी डलर दिन्छ।

छिमेकका देशहरूको भन्दा गुणस्तरीय सैन्य क्षमता कायम गर्नका लागि भन्दै दुई देशबीच भएको एउटा १० वर्षे सम्झौता अनुसार त्यसो गर्ने गरिएको छ।

सो अनुदानलाई इजरेलले एफ(३५ जोइन्ट स्ट्राइक फाइटर किन्नमा प्रयोग गरेको छ।

छक्क्याउँदै हमला गर्न सक्ने उक्त विमान हालसम्मकै सबैभन्दा परिष्कृत मानिन्छ। हालसम्म ७५ वटा उक्त लडाकु जहाजका लागि सम्झौता गरेकामा ३० भन्दा धेरै इजरायलले पाइसकेको छ।

इजरायल एफ ३५ पाउने अमेरिकाबाहेक पहिलो र त्यसलाई युद्धमा प्रयोग गर्ने पहिलो देश हो।

उक्त सहायताको हिस्साकै रूपमा वार्षिक ५० करोड अमेरिकी डलर क्षेप्यास्त्र प्रतिरोधी कार्यक्रममा जान्छ जुन संयुक्त रूपमा विकास गरिएका आइरन डोम, एरो र डेभिड्स स्लिङ्स प्रणालीहरूमा खर्च हुन्छ।

युद्धका बेला गाजाका सशस्त्र सैन्य समूहका साथै लेबनन, सिरिया र इराकमा रहेका इरान समर्थित सशस्त्र समूहबाट हुने रकेट, क्षेप्यास्त्र र ड्रोनबाट बच्नका लागि यी प्रणालीमा इजरायल भर पर्ने गरेको छ।

७ अक्टोबरको हमलापछि अमेरिकी राष्ट्रपति जो बाइडनले इजरायललाई थप सैन्य सहायता बढाउने बताएका थिए।

यस युद्ध सुरु भएपछि इजरायललाई गरिएका दुई अस्त्र विक्री मात्र सार्वजनिक गरिएका छन्।

आपत्कालीन स्वीकृतिपछि दिइएका अस्त्रमा एउटा ( ट्याकका १४,००० राउन्ड अस्त्र (१०.६ करोड डलर बराबर) र अर्को १५५ एमएमका तोपहरू बनाउने तत्त्व (१४.७ करोड डलर बराबर) छन्।

अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार बाइडन प्रशासनले गोप्य रूपमा विभिन्न १०० भन्दा बढी सैन्य उपकरण इजरेललाई विक्री गरिसकेको छ जुन अधिकांश संसद्लाई औपचारिक जानकारी गराउनुपर्ने रकम सीमा भन्दा कम छन्।

ती नियन्त्रित हतियारमा साना आकारका बम, बङ्कर बुस्टर्स र साना हतियारहरू छन्।

संसद्को स्वीकृति आवश्यक पर्ने १८ अर्ब अमेरिकी डलर बराबरको एउटा ठूलो सम्झौता ५० वटा एफ १५ लडाकु जेट खरिदसम्बन्धी छ।

कङ्ग्रेसले अझै त्यसमा स्वीकृति दिइसकेको छैन।

जर्मनी
इजरेललाई दोस्रो धेरै हतियार निर्यात गर्ने देश जर्मनी हो।

सन् २०१९ देखि सन् २०२३ बीचमा इजरायलले किनेका हतियारको ३० प्रतिशत हिस्सा जर्मनीको रहेको एसआइपीआरआईको विवरण छ।

नोभेम्बरको सुरुतिरको विवरणका आधारमा उक्त युरोपेली देशको गत वर्षको इजरायललाई गरिएको अस्त्र विक्री २५.५ करोड डलर बराबरको छ।

त्यो सन् २०२२ को तुलनामा १० गुणा धेरै हो।

तीमध्ये ७ अक्टोबरको हमलापछि अधिकांश अस्त्रको अनुमति दिइएको थियो।

डीपिए समाचार संस्थाका अनुसार हवाई प्रतिरक्षा प्रणाली र सञ्चार उपकरणका सामग्रीले विक्रीको अधिकांश हिस्सा ओगटेका छन्।

युद्धभर जर्मन चान्स्लर ओलाफ सोल्ट्स इजरेलको प्रतिरक्षाको अधिकारको दृढ समर्थक हुुनुहुन्छ।

यद्यपि उहाँको अभिव्यक्तिको लय पछिल्लो समय फेरिएको छ र जर्मनीमा त्यसबारे बहस भएका छन्। तर पनि अस्त्र विक्री रोकिने जोखिममा छैन।

इटली
इटली इजरेललाई अस्त्र निर्यात गर्ने तेस्रो मुख्य देश हो।

यद्यपि सन् २०१९ र २०२३ बीचमा उक्त देशले ०.९ प्रतिशत हिस्साको मात्र अस्त्र बेचेको देखिन्छ।

विवरणहरूका अनुसार त्यसमा हेलिकप्टर र नौसेनाका अस्त्र सामग्री छन्।

राष्ट्रिय तथ्याङ्क ब्युरो आइएसटिएटीका अनुसार गत वर्ष त्यस्तो विक्री १.४८ करोड बराबरको छ।

इटलीले लडाइँ सुरु गर्न लागेको वा मानव अधिकार उल्लङ्घन गर्ने देशलाई आफ्नो देशको कानुनले अस्त्र विक्री प्रतिबन्ध गर्ने बताउँछ।

तर अक्टोबर र डिसेम्बर महिनाबीचमा झण्डै २१ लाख युरो बराबरका निर्यात स्वीकृत भएका छन्।

त्यहाँका रक्षामन्त्री गुइदो रोसेतोले गत महिना आफ्नो देशको संसद्मा बोल्दै इटलीले आफूहरूबीचका सम्झौताको सम्मान गर्दै प्रत्येक विषयवस्तु केलाउँदै ती सर्वसाधारणहरूविरुद्ध प्रयोग हुने चिन्ता भएका सामग्री नभएको सुनिश्चित गरेको बताउनुभएको थियो।

अन्य देशहरू

इजरायललाई यूकेको अस्त्र निर्यात तुलनात्मक रूपमा सानो रहेको ब्रिटिश सरकारले जनाएको छ जुन सन् २०२२ मा ५.३ करोड डलर बराबर मात्रै थियो।

अस्त्र व्यापारविरुद्धको अभियान सीएएटीका अनुसार सन् २००८ यता यूकेले इजरेललाई ५७.४ करोड डलर बराबरको अस्त्र निर्यातको अनुमति जारी गरेको छ।

ती धेरैजसो अमेरिकामा बनेका युद्ध विमानमा प्रयोग हुने सामग्रीहरू छन्।

तर त्यस्ता निर्यात समेत निलम्बन गर्नका लागि ब्रिटिश सरकारमाथि दबाब बढिरहेको छ।

क्यानडा सरकारको इजरेलसँगको अस्त्र विक्री सन् २०२२ मा १ करोड ५७ लाख अमेरिकी डलर बराबरको रहेको देखिन्छ।

ज्यानुअरीमा उसले त्यो क्यानडाको कानुन बमोजिम रहेको प्रयोग हुने सुनिश्चितता नहुँदासम्म थप निर्यातका अनुमति रोकिएको जनाएको छ।

यद्यपि पुरानै अनुमतिहरू भने कायमै रहेको जनाइएको छ।

इरानको धम्कीपछि इजरायलले जीपीएस नचल्ने बनायो

इरानसँग तनाव बढ्दै गएपछि क्षेप्यास्त्र र ड्रोन हमला रोक्नका लागि इजरायलले आफ्नो देशका विभिन्न भागमा जीपीएसलाई नचल्ने बनाएको छ।

इरानले गत सोमवार सिरियास्थित आफ्नो वाणिज्य दूतावासको भवनमा आक्रमण भएपछि त्यसको कडा प्रतिक्रिया दिने वाचा गरेको छ।

उक्त हमला इजरायलले गरेको ठानिएको छ। त्यो आक्रमणमा एक जना वरिष्ठ सैन्य जेनरलसहित १३ जनाको ज्यान गएको थियो।

इजरायल डिफेन्स फोर्सेस (आईडीएफ)ले पनि युद्ध एकाइमा कार्यरत आफ्ना सैनिकहरूलाई कुनै पनि प्रकारको बिदा नदिने घोषणा गरेको छ।

उसले रिजर्भिस्ट भनिने जगेडा सैनिकहरूलाई आफ्नो वायु रक्षा एकाइलाई थप प्रभावकारी बनाउन भन्दै बोलाएको भोलिपल्ट बिदा स्वीकृत नगर्ने घोषणा गरेको हो।

इजराली अधिकारीहरूले इरानले तत्कालै प्रतिक्रयास्वरूप हमला गर्न सक्ने ठानेको देखिन्छ। त्यो यो शुक्रवारलगत्तै हुन सक्छ।

मुस्लिमहरूको पवित्र महिना रमजान अन्तिम शुक्रवार कुड्स डे वा जेरुसलेम डे पनि हो।

यस दिन प्रायः प्यालेस्टीनको समर्थन र इजरायलको विरोधमा जुलुसहरू प्रदर्शन हुने गर्छन्। त्यस्ता जुलुसहरू विशेषगरी इरानमा निस्कने गर्छन्।

कहाँ कहाँ अवरोध

बिहीवार इजरायलका मध्य भागहरूमा जीपीएस प्रणाली अवरुद्ध पारिएको थियो।

जीपीएसमा निर्भर भएर स्थान चयन गर्न र आक्रमण गर्न प्रयोग हुने अस्त्रहरूलाई रोक्नका लागि त्यस्तो गर्ने गरिन्छ।

इजरायली नागरिकहरूले युद्ध भइरहेका क्षेत्रभन्दा टाढा तेल अभिभ र जेरुसलेमजस्ता प्रमुख सहरहरूमा पनि लोकेशनमा आधारित एपहरू प्रयोग गर्न आफूहरूले नसकेको जनाएका छन्।

जीपीएस निगरानी गर्ने वेबसाइट जीपीएसजामले इजरायलभरि लोकेशन देखाउने कुरामा व्यापक अवरोध भएको देखाएको छ।

बीबीसीका एक जना निर्माताले उनी आफू जेरुसलेममा हुँदा पनि उनलाई जीपीएसले कायरोमा भएको देखाएको बताइन्।

सामाजिक सञ्जालमा पनि कैयौँले यस्तै कुराहरू साझा गरेका छन्।

आईडीएफका प्रवक्ताले इजरायलले जीपीएस ब्लकिङप्रयोग गरिरहेको पुष्टि गरे। त्यसरी गरिने अवरोधलाई कहिलेकाही स्पूफिङ पनि भनिन्छ।

टाइम्स अफ इजरायलका अनुसार इजरायलीहरूलाई क्षेप्यास्त्र आक्रमणबारे अलर्ट जारी गर्ने एपमा उनीहरूको वास्तविक लोकेशन सेट गर्न भनिएको छ।

नआत्तिन आग्रह

इजरायल र इरानको समर्थन पाएको हिजबुल्लाह समूहबीच विगत ६ महिनादेखि दैनिकजसो गोलाबारी भइरहेको लेबननसँग सीमा जोडिएको उत्तरी इजरायलका क्षेत्रहरूमा पहिलेदेखि नै जीपीएस प्रणाली अबरुद्ध गरिएको छ।

अर्को छुट्टै प्रसङ्गमा आईडीएफका प्रवक्ताले सामाजिक सञ्जाल एक्समा लेख्दै मानिसहरूलाई नआत्तिन आग्रह गरेका छन्।

उनले त्यहाँ लेखेका छन्, ूजेनेरेटरहरू किन्न, खाना भण्डारण गर्न र एटीएमबाट पैसा निकाल्न आवश्यक छैन।ू

ूआजसम्म हामीले जे गरेका छौँ त्यस्तै गरी यदि कुनै पनि परिवर्तन भएमा आधिकारिक र व्यवस्थित रूपमा तुरुन्तै अद्यावधिक गरिहाल्छौँ।ू

इजरायली सञ्चारमाध्यमहरूले देशका केही दूतावासहरूलाई सम्भावित इरानी आक्रमणको डरका कारण सतर्क अवस्थामा राखिएको वा खाली गराइएको जनाएका छन्।

ती विवरणहरूलाई बीबीसीले स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन र इजरायलले पनि त्यसबारे केही बताएको छैन।

इजरायलले सिरियाको राजधानी दमास्कसमा रहेको इरानको कूटनीतिक परिसरस्थित एउटा भवनलाई निसाना बनाएकोबारे इजरायलले कुनै प्रतिक्रिया दिएको छैन।

तर इरानी नेता आयातोल्लाह अलि खामेनाईले इजरायलले उक्त आक्रमण गरेको आरोप लगाउनुभएको छ ।

इरानी राष्ट्रपति इब्राहिम रइसीले उक्त आक्रमणको प्रतिक्रिया दिइने वाचा गर्नुभएको छ त्यो प्रतिक्रिया कस्तो हुनेछ भन्ने स्पष्ट छैन।

उक्त आक्रमणमा मारिने १३ जनामा सात जना इरानी रिभोल्युशनरी गार्ड्सका अधिकृतहरू रहेका छन्।

मारिनेमा वरिष्ठ जनरल मोहम्मद रेजा जाहेदी पनि थिए।

जाहेदी इजरायलले लामो समयदेखि चलाइरहेको ठानिएको उच्च इरानी अधिकारीलक्षित हमलामा मारिने सबैभन्दा उच्च इरानी व्यक्तित्वमध्ये एक हुन्।

इजरायलको स्वीकारोक्ति

इजरायलले यसअघि सिरियामा इरानसँग सम्बन्ध भएका सशस्त्र समूहहरूलाई लक्षित गरेर आक्रमण गरेको स्वीकारेको थियो।

बिहीवार सुरक्षासम्बन्धी मन्त्रिपरिषद्को बैठकमा बोल्दै प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायलले इरान र उसका छद्म युद्धविरुद्ध रक्षात्मक र आक्रामक कामहरू गरिरहेको बताउनुभएको थियो।

उहाँले आफूहरूलाई कसरी आफ्नो देशको रक्षा गर्ने थाहा भएको र त्यसै अनुसार काम गरिरहेको बताउनुभएको थियो।

यसैबीच सात जना अन्तर्राष्ट्रिय सहायता कर्मचारीहरू मारिएसँगै इजरायलमाथि अन्तर्राष्ट्रिय दबाव परिरहेको छ।

परोपकारी संस्था वर्ल्ड सेन्ट्रल किचन (डब्ल्यूसीके)का ती कर्मचारीहरू चढेका कारलाई लक्षित गरेर नै हमला गरेको बताएको छ।

त्यसपछि अन्य परोपकारी संस्थाहरूले पनि त्यस्तै घटना दोहोरिने डरले उत्तरी गाजामा सहायता पुर्‍याउन छाडेका छन्।

आईडीएफका प्रमुखले उक्त घटनाप्रति माफी माग्दै नचिनेका कारणले उक्त घटना भएको र त्यो ठूलो गल्ती भएको बताएका छन्।

अमेरिकी राष्ट्रपति जो बाइडनले पनि नेतन्याहुलाई गाजाको समग्र मानवीय अवस्था स्वीकार गर्न सकिने खालको नभएको बताउनुभएको छ।

उहाँले तत्काल युद्धविरामका लागि पनि आग्रह गर्नुभएको छ ।

Share Now