Prakash Adhikari April 7, 2024
काठमाडौं,२५ चैत्र । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (एमाले) का विभिन्न जिल्ला नेतृत्व छानिने क्रम जारी छ । यसै क्रममा बारा, सोलखुम्बु र कालिकोट जिल्लाको नेतृत्व चयन भएको छ ।
नेकपा एमाले बाराको जिल्ला अध्यक्षमा अध्यानन्द पाण्डेय निर्वाचित हुनुभएको छ । उहाँले तीन सय ७७ मत प्राप्त गर्नुभएको प्रमुख निर्वाचन अधिकृत महम्द रफिक मियाँले बताउनुभयो । उहाँका प्रतिद्वन्द्वी टिना सुवेदीले तीन सय ४३ मत प्राप्त गर्नुभएको थियो ।
यसैगरी उपाध्यक्षमा भुलन चौधरी, सचिवमा अमृत शर्मा बजगाईँ, सहसचिवमा जवाहिर अन्सारी, महिला सहसचिवमा भावना आचार्य निर्वाचित हुनुभएको प्रमुख निर्वाचन अधिकृत मियाँले जानकारी दिनुभयो ।
सोलुको अध्यक्षमा बास्तोला
नेकपा (एमाले) जिल्ला कमिटी सोलुखुम्बुको अध्यक्षमा डुफकुमार बास्तोला दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ  । आज बिहान सम्पन्न आठौं जिल्ला अधिवेशनबाट पार्टीका निवर्तमान जिल्ला अध्यक्ष बास्तोला अर्को कार्यकालका लागि भारी मतसहित विजयी हुनुभएको हो । उहाँले २ सय ५५ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी हर्कबहादुर राईले १ सय २५ मत प्राप्त गर्नुभएको छ ।
यस्तै उपाध्यक्षमा आशकुमार राई २ सय ७७ मतसहित निर्वाचित हुनुभयो । उहाँका प्रतिद्वन्द्वी रामकाजी श्रेष्ठले ८९ मत प्राप्त गर्नुभयो । सचिवमा कल्पना राई, उपसचिव खुलामा मिङमाछिरी शेर्पा, सहसचिव महिलामा मोहनकुमारी कार्की विजयी भएका छन् ।
उपसचिव खुलाका लागि पाँच जना र महिला उपसचिवका लागि चार जना उम्मेद्वार चुनावी प्रतिस्पर्धामा थिए । ९० सदस्यीय जिल्ला कमिटी चयनका लागि चार सय २० जनाले मतदान गरेका थिए । गत शुक्रबारदेखि सुरु भएको आठौँ जिल्ला अधिवेशनमा सहमतिको प्रयास असफल भएपछि शनिबार निर्वाचन भएको हो ।
कालीकोटको अध्यक्षमा मल्ल
नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटीको अध्यक्षमा तुलाराम मल्ल विजयी हुनुभएको छ । शनिबार भएको निर्वाचनमा मल्लले २ सय १८ मत प्राप्त गर्दा अध्यक्षका प्रत्यासी सिम्खडाले १ सय ८६ मत प्राप्त गनुभयो ।
यही चैत २१ गतेदेखि सुरु भएको ११औँ जिल्ला अधिवेशनमा सहमति नभएपछि शनिवार निर्वाचन भएको थियो । पदाधिकारीमा अध्यक्ष मल्लको प्यानल नै विजयी भएको छ ।
साथै, उपाध्यक्षमा टेकबहादुर बुढाले २ सय १० मतसहित निर्वाचित हुनुभयो भने प्रतिद्वन्द्वी कमलबहादुर शाहीले एक सय ७२ मत प्राप्त गर्नुभयो । सचिवमा पुष्पराज आचार्यले २ सय १२ मत ल्याएर विजयी हुँदा प्रत्यासी खडानन्द चौलागाई एक सय ५८ मत प्राप्त गर्नुभयो ।
उपसचिव खुलामा पवित्र शाहीले १ सय ६८ मत प्राप्त निर्वाचित हुनुभयो भने उहाँका प्रत्यासीहरु प्रेमबहादुर बुढाले ९२ र लङ्कबहादुर बमले ९८ मत पाउनु भएको निर्वाचन समितिका सदस्य भरत विष्टले जानकारी दिनुभयो ।
उप(सचिव महिलामा ताराकुमारी शाहीले १ सय १२ मत प्राप्त गरी विजयी हुनुभयो भने प्रत्यासी सुभद्रा सिंहले  १ सय ५७ मत प्राप्त गर्नुभयो ।
निर्वाचनमा कुल ४ सय २८ मतदातामध्ये ४ सय २४ मत खसेको निर्वाचन समितिले जनाएको छ ।
Share Now