Prakash Adhikari April 8, 2024

काठमाडौं, २६ चैत्र। सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय छानबिन समितिको गठनको मागबाट नेपाली कांग्रेस एक इन्च पछि नहट्ने भएको छ ।

संसद्‌मा रहेका पूर्व र वर्तमान कांग्रेस पदाधिकारीको सोमबार बिहान बसेको बैठकले छानबिन समितिबाट नहट्ने निर्णय लिएको महामन्त्री गगन थापाले जानकारी दिनुभयो ।

‘संसदीय छानबिन समिति कस्तो बनाउने त्यसको क्षेत्राधिकार खुलेर छलफल गर्न हामी तयार नै छौं,’ महामन्त्री थापाले भन्नुभयो, ‘संसदीय छानबिन समिति बनाएर जाने सामान्य माग हो । सरकार यसमा संवेदनशील हुनुपर्छ भन्ने पोजिशन हाम्रो रहन्छ ।’

संसदीय छानबिन समितिका विषयमा शीर्ष तहको बैठकमा सबै एकमत रहेको थापाले जानकारी दिनुभयो ।

कांग्रेसले माग गरिरहेको संसदीय छानबिन समितिका बारेमा छलफल गर्न सभामुख देवराज घिमिरेले दलका नेताहरूलाई २ः३० बजे बोलाउनुभएको छ ।

कांग्रेसबाट सभापति शेरबहादुर देउवा र प्रमुख सचेतक रमेश लेखक उक्त बैठकमा सहभागी हुनुुहुने भएको छ ।

Share Now