काठमाडौँ, ३ जेठ । दुई प्रमुख वामपन्थी दल नेकपा एमाले र माओवादी केन्द्रले पार्टी एकीकरणको औपचारिक घोषणा गरेका छन्।
गत असोज तेस्रो साताबाट चुनावी गठबन्धनको घोषणाबाट ढोका खुलेको एकता प्रक्रियाले शुक्रवार औपचारिकता पाएको हो।
प्रतिनिधिसभा र प्रदेशसभाका चुनावमा दुई तिहाइभन्दा बढी बहुमत ल्याएका यी दलले गत फागुन ७ मा एकतासम्बन्धी औपचारिक पत्रमा हस्ताक्षर गरेका थिए।
त्यसलाई औपचारिक निचोडमा पुर्याउन दुवै दलले करिब तीन महिना समय लगाए।
आशङ्का
बीचबीचमा एकताको सम्भावना क्षीण हुँदै गएको आशङ्काहरू पनि व्यक्त भए।
तर दुवै दलको नेतृत्वले त्यस्ता आशङ्का नगर्न आग्रह गर्दै गए तथापि एकतालाई निचोडमा पुर्याउन भने सकिरहेका थिएनन्।
कुनै बेला अकस्मात् एकता घोषणा हुने भनी टिप्पणी गरेका एमाले र माओवादी केन्द्रका अध्यक्षहरूले त्यस्तै शैलीमा जेठ ३ गते एकीकरणलाई औपचारिकता दिए।
एमालेका चर्चित दिवङ्गत नेता मदन भण्डारीको स्मृतिदिवसमै एकीकरणलाई औपचारिकता दिएको विषयलाई कतिपयले संयोग माने पनि धेरैले दुई ठूला वाम दलले ‘महत्त्वपूर्ण राजनीतिक सन्देश’ दिन खोजेको रूपमा अर्थ्याएका छन्।
भण्डारी विभिन्न खेमामा विभक्त कम्युनिस्ट पार्टीहरू एक हुनुपर्ने पक्षमा रहने नेताका रूपमा चिनिन्थे।
अबको बाटो
एकीकृत पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी’ राख्ने र पार्टीको मार्गदर्शक सिद्धान्त ‘मार्क्सवाद-लेनिनवाद’ राख्ने सहमति दुवै दलले गरेका छन्।
तर उक्त नाम लिन कानुनी जटिलता रहेको निर्वाचन आयोगका अधिकारीहरूले बताएका छन्।
‘नेपाल कम्युनिस्ट पार्टी’ नाममै अर्को दल आयोगमा दर्ता भइसकेको छ।
एमालेले मार्क्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवादलाई आफ्नो मार्गदर्शक सिद्धान्त मान्दै आएको थियो।
माओवादी केन्द्रले भने मार्क्सवाद, लेनिनवाद र माओवादलाई मार्गदर्शक सिद्धान्त मानेको थियो।
उसको कार्यनीति ‘एक्काइसौँ शताब्दीको जनवाद’ थियो।
तर अब एकीकृत दलको तत्कालीन कार्यनीति ‘जनताको जनवाद’ हुनेछ।
यसैगरी चुनाव चिन्ह ‘सूर्य’ हुने नेताहरूले जनाएका छन्।
आकार
एकीकृत पार्टीको केन्द्रीय समिति ४४१ सदस्यीय हुनेछ।
एमालेबाट २४१ जना र माओवादी केन्द्रबाट २०० जनाको प्रतिनिधित्व हुनेछ।
यस्तै स्थायी समिति ४५ सदस्यीय हुने बताइएको छ।
बीबीसीबाट