काठमाडौँ, ३ जेठ ।आफ्ना पार्टीको एकीकरण गर्दै संयुक्त नेतृत्वमा पुगेका केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको विगतको सम्बन्धलाई नियाल्ने हो भने त्यसमा न्यानोपनभन्दा चिसोपन बढी देखिन्छ।
माओवादीलाई शान्तिपूर्ण राजनीतिमा आउने आधार बनेको १२ बुँदे समझदारीमा भूमिका निर्वाह गरेका ओली त्यसपछि एमालेभित्र माओवादीका कटु आलोचक नेतामा पर्दथे। त्यो कटुताकाबीच सत्तासमिकरणमा बाँधिएका उनीहरूको सम्बन्ध नौ महिनापछि फेरी तिक्ततापूर्ण बन्न पुग्यो।
“प्रचण्डजीले मलाई भन्नुसम्म भन्नु भएको होला, मैले पनि उहाँलाई बाँकी नराखेको हुँला। त्यही कुरा सम्झेर त्यही कुरा गरेर बस्ने हो भने अगाडि गइँदैन।”
पार्टी एकता गर्ने चरणमा प्रवेश गरेपछि हालसालै एउटा कार्यक्रममा ओलीले राखेको यो भनाइले विगतको आपसी तिक्तताको स्वीकारोक्ति हो।
बाहिर कार्यक्रममा त उनीहरू एकअर्काविरुद्ध खनिएकै थिए, संसद्मा समेत रेकर्ड छ – उनीहरूबीचको वाक्युद्धको।
प्रधानमन्त्रीजीले पटक पटक भन्ने गर्नु भएको छ – मलाई सङ्घीयता मन परेको छैन, यो मैले बाध्य भएर स्वीकार गरिदिएको मात्रै हो। गणतन्त्रबारे त्यही त भन्दिनँ तर मनोवैज्ञानिक र भावात्मक रूपमा हेर्दा प्रधानमन्त्रीजीलाई गणतन्त्र पनि त्यति साह्रै रुचि लागेजस्तो लाग्दैन
पुष्पकमल दाहाल
आरोपप्रत्यारोप
ओली सरकार ढाल्दा संसद्मा प्रचण्डले भनेका थिए, “राजनीति सम्भावनाको खेल हो भन्ने पुष्टि गर्दै म आफैँ प्रधानमन्त्रीप्रति अविश्वासको प्रस्ताव टेबल गराउँदै छु।”
सत्तासहयात्री प्रचण्डलाई ओलीको जवाफ चोटिलो थियो, “दिनमा तीन चोटि फेरिने बोली र राजनीति सम्भावनाको खेल हो भन्ने मान्यताको अपव्याख्या गर्दै जुनसुकै घाटको पनि पानी पिउने बानीले भोलि आफैँलाई कहाँ पुर्याउँछ हेक्का राख्नु बुद्धिमानी हुन्छ कि!”
प्रचण्डले संसद्मै ओलीलाई सङ्घीयता र गणतन्त्रविरोधीको रूपमा प्रस्तुत गरेका थिए।
उनको आरोप थियो, “मन्त्रिपरिषद्को बैठक वा बाहिर प्रधानमन्त्रीजीले पटक पटक भन्ने गर्नु भएको छ – मलाई सङ्घीयता मन परेको छैन, यो मैले बाध्य भएर स्वीकार गरिदिएको मात्रै हो। गणतन्त्रबारे त्यही त भन्दिनँ तर मनोवैज्ञानिक र भावात्मक रूपमा हेर्दा प्रधानमन्त्रीजीलाई गणतन्त्र पनि त्यति साह्रै रुचि लागेजस्तो लाग्दैन।”
प्रचण्डलाई मित्र सम्बोधन गरेर ओलीले हौसिएर आफूमाथि विभिन्न आरोप लगाएको भन्दै त्यसको पनि जवाफ दिए।
उनले भने, “हुन त मैले सोध्ने ठाउँ त छ- मैले राजतन्त्रकाविरुद्ध सङ्घर्ष गर्दा साथीहरू कता हुनुहुन्थ्यो? म राजतन्त्रसँग लडाइँ गरेर जेलमा पर्दा कापीकलम बोकेर कुन स्कूलमा कुद्दै हुनुहुन्थ्यो? सोध्ने ठाउँ छ, तर सोध्दिनँ।”
सत्ताबाट प्रचण्डको अवतरणपछि विगतको कटुता पन्छाउँदै दुवै नेता सहकार्यमा जोडिए।
खुट्टा ताछ्ने प्रण
हुन त मैले सोध्ने ठाउँ त छ- मैले राजतन्त्रकाविरुद्ध सङ्घर्ष गर्दा साथीहरू कता हुनुहुन्थ्यो? म राजतन्त्रसँग लडाइँ गरेर जेलमा पर्दा कापीकलम बोकेर कुन स्कूलमा कुद्दै हुनुहुन्थ्यो? सोध्ने ठाउँ छ, तर सोध्दिनँ
केपी ओली
तर नेताहरुले विश्वास गुमाएनन्। विभिन्न आशङ्का उत्पन्न हुँदै गएपछि हालसालै ओलीले एकता अपरिहार्य रहेको बताएका थिए, “अब त मेरो जुत्ता मिलेन त्यसकारण लाउँदिन भन्ने ठाउँ छैन। जुत्ता मिलेन भने पनि खुट्टा अलि ताछतुछ गरेर पनि मिलाउनु पर्छ।”
एकताको जटिलता झल्काउने त्यस्तो अभिव्यक्ति दिएको केही साताभित्र नेपालको वामपन्थी इतिहासमा एउटा ठूलो परिघटनाको रूपमा दुवै दल एक भएका छन्। त्यो श्रेय ओली र प्रचण्डलाई जानेछ।
तर आफूलाई वास्तविक कम्युनिस्ट पार्टी ठान्ने अहिले सानो आकारका पार्टीले खासगरी प्रचण्डलाई नेपालको कम्युनिस्ट आन्दोलनका धोकेबाजको रूपमा प्रस्तुत गर्न थालिसकेका छन्।
कम्युनिस्ट आन्दोलन छाडेको भनि आलोचित बनेका नेता बाबुराम भट्टराईले समेत प्रश्न गरेका छन्- प्रचण्डले जबजको विरूद्धमा जनयुद्ध गरेकोमा पश्चात्ताप गर्दै ‘मदनपथ’ अङ्गीकार गरेको स्वीकारोक्ति हो?
बीबीसीबाट