Prakash Adhikari April 25, 2024

गौर(रौतहट), १३ बैशाख । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमसहित ४ जनालाई रौतहट जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ।

न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले कर्तव्य ज्यानसम्बन्धी कसुर ठहर गर्दै उक्त सजाय सुनाएको हो। फैसलामा घाइतेलाई इँटा भट्टामा लगेर पोलेको भन्ने अभियोग पुष्टि नहुने उल्लेख छ।

जिल्ला प्रहरी कार्यालय, रौतहटकी डीएसपी एजिला गिरीका अनुसार, सोही मुद्दामा उनका भाइ मोहम्मद महताब आलमले पनि जन्मकैदको सजाय पाएका छन्। यो सजाय पाउनेमा अर्का शेख सरोज भन्ने शेख सराज र बद्री सहनी पनि छन्। फरार रहेका ६ जनाको हकमा मुद्दा मुल्तबीमा राख्ने निर्णय अदालतले सुनाएको छ। अभियुक्त फेला परेपछि उनीहरूको हकमा पनि मुद्दा ब्युँतिनेछ।

अभियुक्त मुक्ति साहले सफाइ पाएका छन्।

संविधानसभा निर्वाचनताका २०६४ चैत २७ गते रौतहटको साविक राजपुर फरहदवा–४ मा रहेको कांग्रेस उम्मेदवारसमेत रहेका मोहम्मद अफताब आलमको घरमा बम विस्फोट भएको थियो।सो विष्फोटमा घाइतेभएकालाई इँटाभट्टामा पोलिको भन्दै परेको जाहेरीमा अफताब आलमलाई पक्राउ गरी पुर्पक्षका लागि पक्राउ गरिएको थियो ।

 

Share Now