काठमाडौं,१३ बैशाख । नेपाली काँग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले १६ औं पञ्चवर्षीय योजनाले निर्धारण गरेको ७.३ प्रतिशत आर्थिक विकासको लक्ष्य पूरा नहुने बताउनुभएको छ ।
बिहीबार काठमाडौंमा भएको राष्ट्रिय विकास परिषद्को बैठकमा उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले राजनीतिक स्थायित्व आउन नसकेसम्म लक्ष्य प्राप्त हुन नसक्ने जिकिर गर्नुभयो । डा.महतले आवधिक योजनाको उपादेयता समाप्त भइसकेको उल्लेख गर्दै योजना आयोगको संरचनालाई नीति र कार्यान्वयन अनुगमन संयन्त्रको रुपमा विकास गर्न आवश्यक रहेको बताउनुभयो ।
उहाँले योजनाले लिएका लक्ष्य प्राप्तिका लागि समृद्ध नेपाल र सुखी नेपाली बनाउनको लागि अड्चनहरुको पहिचान गर्न आवश्यक रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘जबसम्म प्रशासनतन्त्रमा पनि स्थायित्व रहन्छ, राजनीतिक तहमा पनि रहन्छ । हाम्रो प्रशासनतन्त्रमा जुन सरुवाको औसत आयु नै पनि सचिव, सहसचिवको हेर्ने हो भने पनि त्यस्तै छ, राजनीतिक तहको आयु हेर्ने हो भनेपनि यसले समग्र हाम्रो आर्थिक बृद्धि र विकासको लक्ष्यलाई प्रभाव पारिरहेको छ । यसमा राजनीतिक दलकै प्रतिनिधिहरुको समेतको उपस्थिति रहेको राष्ट्रिय विकास परिषद् बैठकमा यो उल्लेख गर्नु उपयुक्त ठानेँ । जबसम्म स्थायित्व आउन सक्दैन, तबसम्म हाम्रो लक्ष्य प्राप्त हुन सक्दैन। अहिले पनि १६ औं योजनाले लक्ष्य ७.३ प्रतिशत आर्थिक विकासको लक्ष्य निर्धारण गरेको छ, त्यो लक्ष्य हुने सम्भवाना देखेको छैन ।’
पूर्वअर्थमन्त्री डा. महतले आउने आर्थिक वर्षमा ५ प्रतिशतसम्म मात्रै अर्थिक वृद्धि हुनसक्ने बताउनुभयो । उहाँले लक्ष्यअनुरुपका प्राथमिकता नहुँदा समस्या आइरहेको बताउनुभयो ।


















