काठमाडौं, १७ वैशाख । सर्वोच्च अदालतले गण्डकी सरकार गठनविरुद्ध परेको रिट खारेज गरेको छ ।
पूर्वमुख्यमन्त्री तथा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सभामुखको समेत मत गणना गरेर अधिकारीले बहुमतको दावी पेश गर्नुभएको भन्दै आफ्नो नेतृत्वमा सरकार गठन गर्न आदेश मागसहित रिट दायर गर्नुभएको थियो ।
सोमबार न्यायाधीश सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजलासले उक्त रिट खारेज गरेको हो ।
२५ चैत २०७९ मा एमाले संसदीय दलका नेता खगराज अधिकारीले आफूलाई एमाले, माओवादी केन्द्र र स्वतन्त्र उम्मेदवार दीपक मनाङेको समर्थन रहेको भन्दै प्रदेश प्रमुख समक्ष आफूसंग बहुमत भएको दाबी सहित मुख्यमन्त्री नियुक्तिको दावी पेश गर्नुभएको थियो ।
त्यस आधारमा प्रदेश प्रमुख डिल्लीराज भट्टले उहाँलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो।
तर कांग्रेस नेता पाण्डेले माओवादी संसदीय दलभित्र सांसदको गणना गर्दा सभामुख कृष्ण धितालको पनि गणना भएको भन्दै यो संविधान विपरीत हुने दाबी गर्नुभएको थियो ।
सर्वोच्चले रिट खारेज गरेसंगै मुख्यमन्त्री अअिधिकारीलाई सरकार विस्तार गर्ने र विश्वासको मत लिने मार्ग प्रशस्त भएको छ ।