१० कार्तिक (रासस/एएफपी)। फुटबलको अन्तर्राष्ट्रिय महासंघ (फिफा)ले सन् २०१८ का लागि विश्वकपको पुरस्कार राशीमा सन् २०१४ को तुलनामा १२ प्रतिशतले वृद्धि गरी ४० करोड अमेरिकी डलर बनाउने भएको छ ।
फिफाले पुरस्कार राशी १२ प्रतिशतले वृद्धि गरी ४० करोड अमेरिकी डलर बढाइएको बिषयमा शुक्रबार सन्चारमाध्यमसँगको कुराकानीका क्रममा जनाएको छ ।
ब्राजिलमा भएको विश्वकपमा ३ करोड ५८ लाख अमेरिकी डलरको पुरस्कार तय गरेको थियो भने विश्वकप विजेता जर्मनीले तीन करोड ५० लाख डलर पाएको थियो । त्यसैगरी, उप–विजेता अर्जेन्टिनाको फुटबल समूहले २ करोड २५ लाख पाएको थियो ।
विश्वकप फुटबलको ‘ग्रुप स्टेज’मा पुग्नै नसक्ने सहभागी समूहले पनि ८० लाख डलर पाएका थिए ।विश्वकप फुटबलको सन्चालन समूह फिफा काउन्सिलको कलकत्तामा भएको बैठकले सन् २०२६ मा हुने विश्वकपका लागि आवश्यक पर्ने बोलपत्र सम्बन्धि कानूनलाई शुक्रबार अनुमोदन गरेको छ । बैठकले बोलपत्र मुल्यांकन कार्यसमितिका सदस्यहरूको पनि नियुक्ति गरेको छ ।
त्यसैगरी, परिषद्ले फिफाका आगामी वर्ष संयुक्त राज्य अरब इमिरेट्समा हुने क्लब विश्वकप, सन् २०१९ मा फ्रान्समा हुने महिलातर्फको विश्वकपलगायतको केही प्रतियोगिताहरूको मितिसमेत तोकेको छ ।
सन् २०१८ को क्लब विश्वकप डिसेम्बर १२ देखि २२सम्म हुनेछ भने महिलातर्फको विश्वकप सन् २०१९ को जुन ७ मा सुरु भै जुलाई ७ मा सकिने छ ।