कीर्तिपुर(काठमाडौं), १९ बैशाख । नेपाल भ्रमणमा रहेको वेष्ट इण्डिज ए क्रिकेट टिमले नेपाल श्रृखला अन्तरगतका तेस्रो टी २० खेलमा नेपालसामु २ सय २८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिड. रोजेको पाहुना टोलीले २० ओभरको खेलमा ३ विकेट गुमाउदै २ सय २७ रन जोडको थियो ।
उसको लागि ओपनर जोन्सन चाल्र्सले अविजित १ सय १९ रनको शतकीय पारी खेले । उनले ६१ बलमा १३ चौका र ७ छक्काको मद्दतले १ सय १९ रन बनाए । आन्द्रे फिस्नरले सागर ढकालको बलमा दीपेन्द्रसिंह ऐरीबाट क्याच आउट हुनुपहिले ३३ बलमा ५३ रन बनाए । फेबियन एलेन १९ रन बनाएको अवस्थामा करन केसीको बलमा दीपेन्द्रसिंह ऐरीबाटै क्याच आउट भए भने ओपनर एलिक अथनाज १७ रनमा रन आउट भए ।
वेष्ट इण्डिजलाई रोक्ने क्रममा नेपालका सागर ढकाल र करन के.सी.ले एक एक विकेट लिए ।


















