लाकी (अफगानिस्तान), २९ वैशाख (रासस/एएफपी) । अफगानिस्तानका धेरै प्रान्तमा आएको आकस्मिक बाढीमा दुई सयभन्दा बढी मानिसको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घले शनिबार बताएको छ । अधिकारीहरूले आपत्कालीन अवस्था घोषणा गरी घाइतेहरूलाई बचाउन प्रयास गरिरहेका छन् ।
शुक्रबारको भारी वर्षाले धेरै प्रान्तका गाउँ तथा कृषिभूमिमा पानी र लेदोको नदी बग्दा उत्तरी बघलान सबैभन्दा बढी प्रभावित भएको थियो ।
बघलानमा मात्रै दुई सय भन्दा बढी मानिसको मृत्यु भएको र हजारौँ घर क्षतिग्रस्त भएको संयुक्त राष्ट्रसङ्घको आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आइओएम) ले एएफपीलाई बताएको छ ।
आइओएमको आपत्कालीन प्रतिक्रियाको नेतृत्व गर्ने राष्ट्रिय कार्यक्रमका अधिकारी मोहम्मद फहिम सफीले सरकारी तथ्याङ्क उद्धृत गर्दै बघलानी जादिद जिल्लामा एक हजार पाँच सय घर क्षतिग्रस्त वा नष्ट भएको र ‘एक सयभन्दा बढी मानिसको मृत्यु भएको’ बताउनुभयो ।
तालिबान सरकारका अधिकारीहरूले शुक्रबार रातिसम्म ६२ जनाको मृत्यु भएको बताएका थिए । सयौँ नागरिकले विनाशकारी बाढीमा परी मृयु वरण गरेको सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले शनिबार एक्समा पोस्ट गरिएको विज्ञप्तिमा जनाउनुभएको छ । उहाँले मृतक र घाइतेको सङ्ख्यामा भिन्नता नदेखाई एएफपीलाई दर्जनौँ मारिएको बताउनुभयो ।
शुक्रबारको वर्षाले उत्तरपूर्वी बदख्सान प्रान्त, मध्य घोर प्रान्त र पश्चिमी हेरातमा पनि ठूलो क्षति पुर्याएको अधिकारीहरूले बताए । रक्षा मन्त्रालयका अनुसार आपत्कालीन कर्मचारीहरू घाइते र फसेका मानिसहरूलाई बचाउन हतारिएका छन् ।
मानवीय हताहतका अतिरिक्त, बाढीले ठूलो आर्थिक क्षति पनि पुर्याएको छ । उत्तरी तखर प्रान्तको प्राकृतिक प्रकोप व्यवस्थापन विभागका प्रमुख अहमद सेयर साजिदले बाढीमा २० जनाको मृत्यु भएको अनुमान गर्नुभएको छ ।
रक्षा मन्त्रालयले धेरै शाखाहरूलाई सबै उपलब्ध स्रोतहरूका साथ यस घटनाबाट पीडितहरूलाई कुनै पनि प्रकारको सहायता प्रदान गर्न आदेश दिएको छ ।
वायु सेनाले शनिबार मौसम सफा भएपछि निकासी अभियान सुरु गरेको र सयभन्दा बढी घाइतेहरूलाई अस्पतालमा सारिएको बताएको छ ।
बाढी प्रभावित क्षेत्रहरूमा आपत्कालीन अवस्था घोषणा गरेर राष्ट्रिय रक्षा मन्त्रालयले प्रभावित मानिसहरूलाई खाना, औषधि र प्राथमिक उपचार वितरण गर्न थालेको छ ।
सामाजिक सञ्जालमा शुक्रबार देखिएको भिडियो फुटेजमा सेतो र कालो कपडाले ढाकिएका शवहरू र सडकहरूमा माटो र पानीको दलदलको देखाइएको छ ।
एउटा भिडियो क्लिपमा बच्चाहरू रोइरहेका सुनिन्छन् र मानिसको समूहले बाढीको पानी हेरिरहेका छन्, जसमा घरहरूबाट भाँचिएको काठ र भग्नावशेषको टुक्रा देख्न सकिन्छ ।
अधिकारीहरूका अनुसार अप्रिलको मध्यदेखि आकस्मिकरूपमा आएको बाढी र अन्य बाढीले अफगानिस्तानका दश वटा प्रान्तमा लगभग एक सय जनाको ज्यान लिएको थियो ।
करिब चार करोडभन्दा बढी जनसङ्ख्यामध्ये ८० प्रतिशत बाँच्नका लागि कृषिमा निर्भर रहेको देशमा कृषिभूमि बाढीले दलदल बनेको छ ।