Prakash Adhikari May 12, 2024

काठमाडौं, ३० बैशाख । संघीय संसदमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सिर्जना गरेको अवरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहालले पहल सुरु गर्नुभएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच छलफल सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, राष्ट्रिय सभा संसदीय दलका नेता कृष्ण प्रसाद सिटौला र प्रमुख सचेतक रमेश लेखक सहभागी हुनुहुन्छ ।

आगामी जेठ १ गते साँझ ६ बजेका लागि बोलाइएको संसद् बैठक सहज रुपमा सञ्चालन हुने वातावरण सिर्जना गर्न प्रधानमन्त्री दाहालले प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताहरुसंग वार्ता गर्न लाग्नुभएको हो ।

शुक्रबार (वैशाख २८)गतेबाट प्रारम्भ भएको बजेट अधिवेशनको बैठक नेपाली कांग्रेसले सहकारी ठगीका सम्बन्धमा छानबीन गर्न संसदीय समिति बनाउने अडानका कारण चल्न सकेन । दुई चरण गरेर बसेको प्रतिनिधिसभा बैठकमा नाराबाजी  गरेपछि बैठक जेठ १ गतेसम्मका लागि स्थगित भएको थियो।

सरकारले जेठ १ गते नै सरकारको बार्षिक नीति तथा कार्यक्रम राष्ट्रपतिबाट बाचन गराएर संसदको संयुक्त बैठकमा पेश गराउँदै छ । राष्ट्रपतिको संबाधन हुने बैठकमा अवरोध नहोस् भनेर प्रधानमन्त्री दाहालले आज कांग्रेस सभापति देउवासंग भेटवार्ता गर्न लाग्नुभएको हो ।

शनिवार पार्टी सभापति देउवाको निवास बुढानीलकण्ठमा पदाधिकारी बैठक बसेर सरकार नै संसद् चलाउने कुराबाट पछि हटेको निष्कर्ष निकालेको छ। यसले निकास झन कठिन बनाउने सरकार पक्षको बुझाई छ ।

आज प्रधानमन्त्री दाहाल र नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच वार्ता भएपछि अन्य दलहरूसँग पनि  छलफल गर्ने तयारी रहेको बताइएको छ ।

नेपाली कांग्रेसले सोमबार (जेठ १) दिउँसो १ बजेका लागि संसदीय दलको बैठक बोलाएको छ। सोही बैठकबाट कसरी अघि बढ्ने भन्नेबारे निर्णय हुने कांग्रेस महामन्त्री गगन कुमार थापाले बताउनभएको छ।

 

Share Now