काठमाडौं, ३० वैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसका नेताहरुले आफ्नो माग बमोजिम सहकारी ठगी प्रकरणमा संयुक्त संसदीय छानबिन समिति गठन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल तयार हुनुभएको बताएका छन् ।
संघीय संसदको प्रतिनिधि सभामा उत्पन्न गतिरोध खुलाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग वार्ता गर्न गएको नेपाली कांग्रेसका शीर्ष नेताहरुको टोलीका सदस्य एवम् नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आज बिहान प्रधानमन्त्री् दाहालसंग भएको छलफल सकारात्मक भएको बताउनुभएको छ ।
छलफलपछि पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेता लेखकले भन्नुभयो, ‘हामीले हाम्रो पूर्व अडान राख्यौं, प्रधानमन्त्री यसमा सकारात्मक हुनुहुन्छ ।’
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान भएको छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, राष्ट्रिय सभा संसदीय दलका नेता कृष्ण प्रसाद सिटौला र प्रमुख सचेतक रमेश लेखक सहभागी हुनुहुन्थ्यो ।
नेपाली कांग्रेसका नेताहरूले सहकारी ठगी प्रकरणमा मुछिनुभएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने उपर छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग राख्दै आएको छ । आफ्नो माग पूरा गर्न कांग्रेस संसदमा समेत अवरोध गर्दै आएको छ ।
आगामी जेठ १ गते सरकारले आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका प्रस्तुत गरिसकेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले गर्नुहुने संबोधन निर्वाध सम्पन्न होस् भन्ने हेतुले गतिरोध अन्त्य गर्न प्रधानमन्त्री प्रचण्डले कांग्रेस नेताहरूलाई छलफलका लागि आज बिहान बालुवाटारस्थित निवासमा बोलाउनु भएको थियो ।