कीर्तिपुर(काठमाडौं), ५ जेठ । आज ललितपुर मेयर्स महिला टी २० च्याम्पियनशिपको फाइनल हुँदै छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने फाइनल खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लब र सुदुरपश्चिम प्रदेशको टिम भिड्दै छन् । खेल बिहान १०ः०० बजे सुरु हुने छ ।
एपीएफ लिग चरणका सबै खेलमा बिजयी बन्दै ८ अंकसहित फाइनलमा पुगेको हो भने सुदूरपश्चिम ललितपुर मेयर्स महिला टी २० च्याम्पियनशिपको फाइनलमा प्रवेश गर्ने दोस्रो टोली हो । उसले लिग चरणको अन्तिम खेलमा बागमती प्रदेश विरुद्ध १ सय ९ रनको फराकिलो जित दर्ता गर्दै फाइनलको बाटो तय गरेको हो । सुदूरपश्चिमले ४ खेलमा तीन खेल जित्दै ६ अंक बटुलेको थियो।
एपीएफले बिहीबार आफ्नो चौथो खेलमा सुदूरपश्चिम प्रदेशलाई ३ विकेटले पराजित गरेको थियो ।
सुदुरपश्चिमले दिएको १ सय १२ रनको लक्ष्य एपीएफले दुई बल बाँकी छँदै पूरा गरेर बाजी मारेको थियो ।


















