काठमाडौं, ९ जेठ(बीबीसी) । क्रिकेटर सन्दीप लामिछानेले आईसीसी टी-२० विश्वकपमा सहभागी हुन जान संयुक्त राज्य अमेरिकाले भिसा नदिएको बताएका छन्।
उनले सामाजिक सञ्जाल फेसबुकमा यसबारे खुलाएका हुन्।
काठमागौं जिल्ला अदालतले एक किशोरीसँगको सहबासमा करणीका लागि दोषी ठहर गरेपछि उनलाई नेपाल क्रिकेट सङ्घ (क्यान)ले निलम्बन गरेको थियो।
तर गत साता उच्च अदालतले उनलाई सफाइ दिएपछि उनको निलम्बन फुकुवा भएको थियो।
क्यानका अध्यक्ष चतुरबहादुर चन्दले अब प्रधानमन्त्रीलाई अनुरोध गरेर परराष्ट्र मन्त्रालयमार्फत् उनलाई भिसा दिलाउन पहल गरिने बताएका छन्।
अदालतको निर्णय आउनुअघि नै लामिछानेले कीर्तिपुरमा नियमित प्रशिक्षण गरिरहेका थिए।
क्यानले अब के गर्छ ?
अदालतको निर्णय आएपछि उनलाई विश्वकप प्रतियोगितामा खेल्न पठाउन खोजिएको थियो।
“अब एक पटक पहल पर्छु प्रधानमन्त्री ज्यूलाई। परराष्ट्रमन्त्रीलाई जानकारी भइसक्यो होला। खेलकुदमन्त्रीले फोन उठाउनुभएन, यो देशसँग जोडिएको कुरा हो,” क्यानका अध्यक्ष चन्दले बीबीसी न्यूज नेपालीसँग भने।
उनका अनुसार अमेरिकाले भिसा अस्वीकृत हुनुको कारण खुलाएको छैन। “के कारण उसले भन्दैन। आज उनीहरूले भिसा अस्वीकृत गरे। यो क्रिकेटका लागि नै नराम्रो भयो,” उनले भने।
क्यानका अनुसार अमेरिकी दूतावासले भिसा अन्तर्वार्ताका लागि बिहीवारको समय दिएको थियो। तर सो दिन बुद्ध जयन्तीको सार्वजनिक बिदा भएका कारण अनुरोध गरेर बुधवारका लागि भिसा अन्तर्वार्ताको समय सारिएको थियो।
“अदालतको आदेश, आईसीसीको पत्र, क्यानको पत्रसहितको प्रक्रिया गर्दा पनि अस्वीकृत भयो,” चन्दले भने। लामिछानेको पुरानो भिसा २०२५ सम्मको भए पनि अमेरिकाले यसअघि रद्द गरिसकेको चन्दले बताएका छन्।
क्यानले के गरेको थियो ?
क्यानले अदालतको निर्णयबारे जानकारी गराउँदै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आईसीसी० लाई सन्दीप लामिछानेलाई विश्वकपमा सहभागी गराउने विषयमा पत्राचार गरेको बताएको थियो।
क्यानका सचिव पारस खड्काले मङ्गलवार राति लामिछानेको भिसा प्रक्रिया सुरु भएको जानकारी दिएका थिए।
लामिछानेलाई यसअघि सन् २०१९ मा पनि अमेरिकाले भिसा दिन अस्वीकार गरेको थियो। तर दूतावासले त्यसमा त्रुटि भएको भन्दै पछि उनलाई भिसा दिएको थियो।
अमेरिका र वेस्ट इन्डिजमा हुन लागेको २० ओभरको विश्वकपमा नेपालले पनि सहभागी हुन लागेको छ।
सन्दीपका पक्षमा पहल
क्यानले अदालतको निर्णयको जानकारी गराउँदै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आइसीसी० लाई सन्दीपलाई विश्वकपमा सहभागी गराउने विषयमा पत्राचार गरेको बताएको थियो।
आईसीसीबाट जबाफ आइसकेको छैन, तर ‘क्लीन चिट’ पाइसकेको अवस्थामा उनलाई रोक्नुपर्ने कारण नभएको मौखिक जानकारी आईसीसीका पदाधिकारीहरूले दिइसकेको क्यान अध्यक्ष चन्दले यसअघि बताएका थिए।
क्यानले यसअघि नै विश्वकपका लागि अन्तिम १५ सदस्य भएको नेपाली टोलीको घोषणा गरिसकेको छ। तर आईसीसीको नियमानुसार आगामी जेठ १२ गतेसम्म खेलाडीहरू परिवर्तन गर्न पाउने व्यवस्था भएकोले सन्दीप लामिछानेको नाम थप्ने विषयमा कुनै समस्या नहुने बताइएको थियो।
काठमाडौं जिल्ला अदालतले उनलाई आठ वर्षको जेल सजाय तोकेपछि निलम्बनमा परेका उनले त्यसयता कुनै प्रतियोगितामा खेलेका थिएनन्। उनको तन्दुरुस्ती जाँच्न क्यानले उनको ‘फिटनेस टेस्ट’ लिने बताएको थियो।
क्यानका ‘इन्ट्रेस्ट एन्ड कन्डिशनिङ’ प्रशिक्षक भारतीय अब्दुल सट्टा अहिले नेपाली राष्ट्रिय क्रिकेट टोलीसँगै अमेरिकामा छन्। उनको निर्देशनमा सन्दीप लामिछानेको शारीरिक परीक्षा लिइने छनोट समितिका संयोजकले बताएका थिए।


















