Prakash Adhikari May 26, 2024

काठमाडौं, १३ जेठ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा  शीर्ष नेताको बैठक छलेर आन्तरिक छलफलमा जुटेको जानकारी पाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उहाँलाई भेट्न बुढानीलकण्ठस्थित देउवा निवास पुग्नुभएको छ।

नेपाली कांग्रेसले माग गरे अनुरुप सहकारी ठगीमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिन गर्न गठित समितिको नाम र कार्यादेश टुंगो लगाउन आज प्रधानमन्त्री देउवाले शीर्ष नेताहरुको बैठक आयोजना गर्नुभएको थियो । तर आजै यसै विषयमा जनदबाब सिर्जना गर्न पार्टीले उपत्यकामा सडक प्रदर्शनको कार्यक्रम राखेको, संसदमा सरकारको नीति तथा कार्यक्रममा छलफल गरी पारित गर्ने कार्यक्रम रहेकोले यस मुद्दालाई कसरी लैजान उपयुक्त हुन्छ भनेर उहाँ पार्टीको आन्तरिक परामर्शमा जुट्नु भएको थियो ।

आफ्नै निजी निवासमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, संसदीय दलका प्रमुख सचेतक रमेश लेखक, कार्यदलमा रहेका जीवन परियार र ज्ञानेन्द्रबहादुर कार्की लगायतका नेताहरुसंगको परामर्शमा देउवा व्यस्त भएको जानकारी पाएपछि प्रधानमन्त्री दाहाल नै देउवालाई भेट्न पुग्नुभएको हो ।

सडक प्रदर्शनको कार्यक्रमका कारण नेपाली कांग्रेसका सभापति देउवा शीर्ष नेताहरुको बैठकमा सहभागी हुने संभावना क्षीण छ भने संसदका दुवै सदनमा नेपाली कांग्रेस र विरोध जनाएर सडक प्रदर्शनमा आउने संभावना छ ।
आज प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति देउवाबीच राम्रो समझदारी भएमा कांग्रेसको सडक प्रदर्शनपछि शीर्ष नेताहरुको बैठक बसेर छानबिन समितिमा सहमति गर्ने अनि संसदमा संक्षिप्त छलफल गरेर नीति तथा कार्यक्रम पारित गर्ने अवस्था हुने छ ।

समझदारी बनेन भने कांग्रेस सडकतिर निस्कने छ र सरकारले कुनै विपक्षी दललाई राखेर नीति तथा कार्यक्रम पास गर्ने छ ।

सरकारमा सम्मिलित साझेदारहरुले संसद अधिवेशन अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याउन पनि दबाब दिएका छन् । यसो गर्दा छानबिन समिति नबने पनि सरकारलाई काम गर्न कुनै अवरोध आउदैन । तर यसको राजनीतिक मूल्य प्रतिपक्षी दलहरुले गुमाउने छन् । उनीहरुले बजेटमा छलफल गर्न, संसदको बैठकमा आफ्ना निर्वाचन क्षेत्रका समस्या, राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयहरुमा आफ्ना विचार राख्न पाउने छैनन् ।

Share Now