काठमाडौं, १३ जेठ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले शनिवार सामाजिक सञ्जाल एक्समा लेखेको स्टाटस र महानगरपालिकाका फोहरमैला ओसार्ने ट्रकले सडक विभाग सडक डिभिजन कार्यालय, काठमाडौँका गेटमा एक एक फोहरले अहिले काठमाडौंमा चर्र्को बहस निम्त्याएको छ ।
मेयर बालेनले भौतिक योजना तथा यातायात मन्त्री रघुबीर महासेठलाई नै संबोधन गरेर राजधानी काठमाडौं प्रदूषित हुनुको कारण कलंकीदेखि महाराजगञ्जसम्मको सडक विस्तारमा भएको ढिलाईलाई देखाउदै यसमा मन्त्रालयको अकर्मण्यता भएको उल्लेख गर्दै सो सडक निर्माण कार्य अगाडि नबढाएसम्म मन्त्रालय अन्तरगतका पायक पर्ने कार्यालयमा दैनिक एक ट्रक्र झार्ने व्यंग्यात्मक टिप्पणी लेख्नुभएको थियो । र ,शनिवार उहाँको सरसफाई डिभिजन अन्तरगतका ट्रक चालकले त्यस्तो धूलो सडक विभागको गेटमै झारिदिए ।
आफ्नो प्रवेशद्वारमा महानगरपालिककाले फोहोर फालिदिएको घटनालाई लिएर सडक डिभिजनले आपत्ति प्रकट गरेको छ। उसले महानगरले कानुनी राज्यको उपहास गरेको आरोप लगाएको छ।
शनिबार एक विज्ञप्ति जारी गर्दै भनेको छ ‘काठमाडौँ जिल्लाभित्रका सडक निर्माण तथा मर्मत सम्भारको महत्त्वपूर्ण जिम्मेवारी पाएको यस सडक डिभिजनको गेटमा देशकै ठूलो तथा जिम्मेवार स्थानीय सरकारबाट कानुनी राज्यको उपहास हुने गरी बलमिच्याइँ तथा अराजक शैलीबाट भएको यस किसिमको व्यवहारले महानगरको गरिमा कदापि नबढ्ने विषय छर्लंग छ।’
विज्ञप्तिमा उल्लेख भएअनुसार गत शुक्रबार काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह तथा सो डिभिजनका डिभिजन प्रमुख नारायणदत्त भण्डारीबीच महानगरभित्रका सडक सुधारका विविध विषयमा छलफल भई नियमबमोजिम सहकार्य गरेर अगाडि जाने तथा साझा धारणा बनाई महानगरभित्रका सडक सुन्दर तथा व्यवस्थित बनाउन सकारात्मक सहमति भएको थियो।
महानगरपालिकाले सडक डिभिजनको अनुमतिबेगर सकडको चौडाइ घटाउने र जथाभावी संरचना निर्माण गर्ने क्रम निरन्तर चलाएका कारण दुई निकायबीच खटपट सुरु भएको विज्ञप्तिमा उल्लेख गरिएको छ।
‘यसअघि महानगरपालिकाबाट नियमबमोजिम यस डिभिजनमा सडक काट्न माग भई आएका सबै अनुमति दिइएको समेत जानकारी गराइन्छ,’ सूचना अधिकारी प्रमोद खतिवडाको हस्ताक्षरमा जारी डिभिजन कार्यालयको विज्ञप्तिमा भनिएको छ, ‘आज मिति २०६१।०२।१२ गते शनिबार करिब १२ बजे न्यूरोड क्षेत्रमा यस डिभिजनको जिम्मामा रहेको सडकमा बिनाअनुमति सडक काटी सडकको ‘स्ट्यान्डर्ड’ चौडाइ घटाउने कार्यमा महानगरपालिका लागेको बखत बिनाअनुमति सडक काटेर साँघुरो बनाउन नहुने भनी सडक डिभिजनबाट सो कार्यमा रोक लगाइएको विषयलाई विषयान्तर गरी डिभिजनसँग सरोकार नभएको विषयलाई कारण बनाई गरिएको यस किसिमको व्यवहारले कानुनी राज्यको उपहास गरेको ठम्याइ यस सडक डिभिजनको रहेको छ।’
‘सडक डिभिजनको कार्य क्षेत्रभित्र भएका त्रुटि औंल्याई आवश्यक सुझाव दिए डिभिजन सकारात्मक सुझाव सम्झेर कार्यान्वयन गर्ने तर डिभिजनको कार्यक्षेत्रसँग सरोकार नभएको विषय उठाई भएका यस किसिमका अराजक व्यवहार आगामी दिनमा किमार्थ सह्य नहुने र सोको प्रतिकार गर्नसमेत बाध्य हुने व्यहोरा यसै विज्ञप्तिमार्फत जानकारी गराइन्छ,’ विज्ञप्तिमा उल्लेख छ।
उता काठमाडौं महानगरपालिकाले भने चक्रपथ विस्तारका क्रममा नागरिकले धूलो र कष्ट व्यहोर्नुपरेको आरोप लगाएको छ।महानगर प्रमुख शाहले भौतिक पूर्वाधारमन्त्री महासेठको निर्देशनमा चक्रपथ विस्तारको काम रोकिएको भन्दै काम सुचारु नगरेसम्म दैनिक एक ट्रक धुलो उपहार पठाइदिने घोषणा गर्नुभएको छ।
कलंकीदेखि महाराजगन्जसम्म चक्रपथ विस्तारको नाममा १५ वर्षदेखि जनताले सास्ती बेहोर्नुपरेको शाहले लेख्नुभएको छ।


















