Prakash Adhikari May 27, 2024

ड्याल्लास(टेक्सास,संयुक्त राज्य अमेरिका), १४ जेठ । आजदेखि आईसीसी पुरुष टी २० विश्वकपका अफिसियल वार्मअप म्याचहरु सुरु हुँदै छन् ।

विश्वकपमा भागलिन अमेरिका पुगेको नेपाली राष्ट्रिय टिमले आज विश्व कपको अफिसियल वार्मअप म्याच क्यानडासंग खेल्दै छ ।

ड्याल्लासको ग्रान्ड प्रेरी स्टेडियममा हुने खेल नेपाली समयानुसार राति सवा ९ बजे सुरु हुनेछ।

विश्वकपअघि नेपालले क्यानडा र अमेरिकासँग दुई अफिसियल वार्मअप म्याच खेल्न लागेको हो।

 

नेपालले बिहिबार मे ३० मा अमेरिकासँग दोस्रो अफिसियल वार्मअप म्याच खेल्ने तालिका छ।

अमेरिकासँगको खेलपछि नेपालले विश्वकपको यात्रा सुरु गर्नेछ।

विश्वकप तयारीका लागि नेपाली टोली वैशाख अन्तिम साता अमेरिका पुगेको थियो।

संयुक्त राज्य अमेरिका र सेन्ट भिसेन्टमा हुने यो विश्वकपमा खेल मैदानसंग अभ्यस्त हुन बैशाखको अन्तिम साता अमेरिका आएको नेपाली टोलीले सेन्टभिसेन्टको स्थानीय टोली विनवार्ड्स भोलक्यानोजविरुद्ध तीन खेलको सिरिज खेलेको थियो। जसमा नेपाल २–१ ले विजयी भएको थियो।

त्यसपछि नेपालले ह्युस्टनमा ह्युस्टन हरिकेन्ससँग दुई अभ्यास खेल खेल्यो। दुवै अभ्यास खेलमा नेपाल विजयी भयो।

नेपालले समूह चरणका दुई खेल अमेरिकामा र दुई खेल सेन्टभिसेन्टमा खेल्ने छ ।

नेपालले जुन ४ मा विश्वकपको पहिलो खेल ड्याल्लासमा नेदरल्याण्ड्ससंग खेल्ने छ । दोस्रो खेल जुन १२ मा लाउडरहिलमा श्रीलंकासंग खेल्ने छ ।

नेपालले तेस्रो खेल १५ जुनमा सेन्ट भिसेन्टको किंग्स्टाउनमा दक्षिण अफ्रिकासंग खेल्ने छ ।

नेपाली राष्ट्रिय टोलीले समूह चरणको अन्तिम खेल १७ जुनमा किग्स्टाउनमा बंगलादेशसंग खेल्ने छ ।

 

 

Share Now