काठमाडौं, २२ जेठ । आईसीसी पुरुष टी २० विश्वकप २०२४ खेल्ने नेपाली राष्ट्रिय टिमलाई राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाले उत्कृष्ट प्रदर्शनसहित विजयका लागि शुभकामना दिनुभएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी हुन अमेरिका पुगेको नेपाली टोलीलाई उच्च मनोबलका साथ खेल्न शुभकामना दिनुभएको छ ।
राष्ट्रपति पौडेलले नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रतिनिधिमण्डलका सदस्यलाई टेलिफोन गरेर उच्च मनोबलका साथ प्रतियोगितामा सहभागी हुन शुभकामना दिनुभएको हो । उहाँले सम्पूर्ण नेपाली क्रिकेट टोलीका साथमा रहेको भन्दै उच्च मनोबलका साथ मैदानमा उत्रिएर सफलता प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभएको राष्ट्रपति पौडेलको स्वकीय सचिवालयले जनाएको छ ।
राष्ट्रपति पौडेलले नेपालले खेल्ने खेल सम्पूर्ण नेपालीले विश्वभर जहाँ भए पनि हेरेर नेपाली टोलीको हौसला बढाउने पनि विश्वास व्यक्त गर्नुभएको छ । अमेरिका र वेस्टइन्डिजले संयुक्त रुपमा आयोजना गरेको आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिता यही जेठ १९ गतेदेखि सुरु भएको छ । उक्त प्रतियोगिताअन्तर्गत नेपालले आफ्नो पहिलो खेल यही जेठ २२ गते राति ९ः१५ बजे नेदरल्याण्ड्ससँग खेल्दै छ ।
प्रधानमन्त्रीको शुभकामना
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वकपमा उत्कृष्ट प्रदर्शनका लागि नेपाली क्रिकेट टोलीलाई शुभकामना दिनुभएको छ । आज एक वक्तव्य जारी गर्दै उहाँले विश्वकपले नेपालको पहिचान थप उच्च बनाउने विश्वास व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री दाहालले नेपाली टोलीलाई ऐतिहासिक सफलता प्राप्त हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो । सगरमाथा र बुद्धको देश भनेर चिनिने नेपाल अब क्रिकेटको देशका रूपमा समेत स्थापित हुन लागेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले आफ्नो नेतृत्वको सरकारले खेलक्षेत्रको विकास र खेलाडीको प्रोत्साहनका लागि निरन्तर महत्त्वपूर्ण निर्णय गरी कार्यान्वयन गर्दै आइरहेको बताउनुभयो ।
“एक दशकपछि आज नेपाली क्रिकेट टिम विश्वकपमा खेल्दैछ, यसले नेपालको गौरव थप बढाएको छ, विश्वको ध्यान नेपालतर्फ खिचिएको छ । देशको प्रतिष्ठा बढाउन निरन्तर मेहेनत, सङ्घर्ष र सफलता प्राप्त गरेकामा नेपाली क्रिकेट टिमप्रति धन्यवाद व्यक्त गर्दछु”, प्रधानमन्त्री दाहालले भन्नुभएको छ ।


















