Prakash Adhikari June 4, 2024

ड्याल्लास(टेक्सास,संयुक्त राज्य अमेरिका), २२ जेठ । आज नेपाल र विश्वभर रहेका क्रिकेटप्रेमी नेपालीहरु र नेपालप्रेमी विश्वका क्रिकेटप्रेमीहरुले निकै व्यग्रताका साथ नेपाली राष्ट्रिय क्रिकेट टोलीको विश्वकप प्रदर्शनको प्रतिक्षा गरिरहेका छन् । गत जुन १ देखि सुरु भएको टी २० क्रिकेट विश्वकपमा आज अमेरिकाको टेक्सास राज्यको ड्याल्लासस्थित ग्राण्ड प्रेरी क्रिकेट मैदानमा नेपाली राष्ट्रिय टिमले नेदरल्यान्ड्ससँग पहिलो खेल खेल्दै आफ्नो विश्वकप यात्रा सुरु गर्दै छ। खेल नेपाली समय अनुसार राति ९ः१५ मा सुरु हुने छ ।

खेलको पूर्वसन्ध्यामा नेपाली टोलीका कप्तान रोहित पौडलले यो विश्वकप नेपालका लागि विश्वसामु आफ्नो क्षमता प्रस्तुत गर्ने ठूलो अवसर रहेकोले राम्रो खेल प्रदर्शन गर्न चाहेको बताएका छन्।

प्रशिक्षक मोन्टी देसाईले नेपाल विश्वकपमा पुग्ने मात्र नभई उत्तिकै राम्रो गर्न सक्छ भन्ने महसुस गराउनु आफूहरूको मूल उद्देश्य रहेको बताएका छन्।

झन्डै १५ हजार क्षमता रहेको अमेरिकास्थित ड्यालसको ग्रान्ड प्रेरी क्रिकेट रङ्गशालामा नेपाली प्रशंसकहरूको ठूलो उपस्थिति रहने अनुमान छ। टेक्सास जस्तो नेपालीहरुको अधिक बसोबास रहेको राज्यमा भएको खेल हुनाले नेपाली राष्ट्रिय टिमलाई गृहमैदानकै झल्को हुने गरी दर्शकको साथ रहने अनुमान गरिएको छ।

पर्याप्त तयारी

अमेरिका र वेस्ट इन्डिजको यो टी २० विश्वकपमा जतिको तयारी गर्न राष्ट्रिय क्रिकेट टोलीले यसअघि नेपालको क्रिकेट इतिहासमै कहिल्यै पाएको थिएन।

नेपाल क्रिकेट सङ्घ क्यानका सचिव पारस खड्काले भनेकै छन्, “क्यानले तयारीका लागि जति सक्थ्यो, त्यति गरेको छ।”

झन्डै वर्ष दिन भन्दाबढी समयदेखि नेपाली टोलीले एकजुट भएर खेल्न थालेको थियो। जसक्रममा टोलीले अभ्यास र प्रतियोगिता गरी दुई दर्जन भन्दा बढी खेल खेल्यो।

खेलाडीहरू यति व्यस्त भए कि लामो यात्रा र विभिन्न खेल स्थलका कारण खेलाडीहरू थकित हुन पुगेको भन्ने गुनासोसम्म सुनियो।

क्यानडासँगको अभ्यास खेलमा नेपाली खेलाडीहरूमा त्यस किसिमको चुस्तता नदेखिएकाले यस्तो आरोप लागेको हुन सक्छ।

तर समग्रमा यसले टिमलाई मजबुत बनाएको छ र जस्तोसुकै परिस्थितिको सामना गर्न टोलीका सदस्यहरू मानसिक रूपमा तयार रहेको प्रशिक्षक मोन्टी देशाईले बताएका छन्।

कस्तो छ नेपाली टोली

नेपाली टोलीका एकजना पूर्वकप्तान पवन अग्रवालको भनाई मान्ने हो भने नेपाल यो विश्वकपको त्यस्तो टोली हो जसलाई अमेरिका र वेस्ट इन्डिजमा केही गुमाउनु छैन।

अग्रवाल थप्छन्, “विश्व क्रिकेटमा नेपाललाई स्थापित गराउन नेपालले पाएको यो अर्को ठूलो अवसर छ। मलाई विश्वास छ खेलाडीहरूले इतिहास दोहोर्‍याउनेछन्।”

बरु दबाब विपक्षी टोलीलाई हुनेछ।

आइतवारबाट विश्वकप क्रिकेट सुरु भएको छ।

नेपाल बाङ्ग्लादेश, नेदरल्यान्ड्स, साउथ अफ्रिका र श्रीलङ्का सम्मिलित समूह डीमा छन्।

बलिया प्रतिस्पर्धीहरू रहेकाले यो समूह अन्तर्गतका हरेक खेल नेपालका लागि चुनौतीपूर्ण हुनसक्छ।

प्रारम्भिक जोडी

कुशल भुर्तेल र आशिफ शेख नेपाली टोलीका खम्बाका रूपमा छन्।

उनीहरूको प्रदर्शनले नै टोलीले आधार तय गर्ने खेल विश्लेषकहरूको भनाइ पाइन्छ। त्यसमा अनिल शाहले पनि राम्रो साथ दिन खोजेको देखिएको छ।

अभ्यास खेलमा भइरहेको प्रयास हेर्दा प्रशिक्षक मोन्टी देशाईले यी तिनैजनालाई सुरुमै मैदानमा उतार्न पनि सक्नेछन्।

तर दीपेन्द्र सिंह ऐरी टोलीमा रहदा अनिलको स्थान निश्चित देखिँदैन।

पछिल्लो समय अभ्यास खेलमा देखाएको प्रदर्शनलाई नियाल्ने हो भने ओपनरहरूको प्रदर्शन स्थिर हुन सकेको छैन। जुन प्रशिक्षक मोन्टीको लागि चिन्ताको विषय हुन सक्छ।

कुशलले क्यानडासँगको अभ्यास खेलमा १० रन मात्र बनाएका थिए। आशिफले २२ रन बनाए।

ग्रान्ड प्रेरी रङ्गशालामा खेलिएको अफिसियल वार्म अप खेलमा अनिल शाहले धैर्यतापूर्वक खेल्दै ४७ रन बनाएका थिए।

खेल अगाडि कुशल भुर्तेलको फर्म राम्रो देखिएको छैन। नेपाली टोलीको मुख्य चिन्ता यसैमा छ।

तर कप्तान रोहित पौडेल भन्छन्स् “जे जस्तो भए पनि विश्वकप अघि ओपनिङ ब्याटिङमा कुनै परिवर्तन गरिनेछैन।”

दीपेन्द्र सिंह ऐरी खेलेमा कप्तान रोहित पौडेल तेस्रो नम्बरमा आउने पक्का जस्तै छ।

मध्यक्रममा सन्दीप जोरा, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी र गुलशन झा छन्।

तर अमेरिका प्रवेश गरेपछिको अभ्यास खेलहरूमा मध्य क्रमका खेलाडीहरूको प्रदर्शन ‘वाह’ भन्न लायकको नदेखिनुलाई चिन्ताको विषयका रूपमा हेरिएको छ। स्थानीय टोलीहरूसँग पनि नेपालको प्रदर्शन त्यस्तो उम्दा देखिएको छैन।

विश्वकपका लागि अमेरिका उड्नु अगाडि नेपालमा खेलिएको वेस्ट इन्डिज ‘ए’ सँगको शृङ्खलामा खेलाडीहरूले दबाब झेलेको आभास मिलेको थियो।

त्यहाँ एक्लै सङ्घर्ष गरेर शतक प्रहार गरेका कप्तान रोहितको ब्याट त्यसपछि भने खासै चल्न सकेको छैन।

अलराउन्डर
नेपाली टोलीमा पक्का अलराउन्डरका रूपमा दीपेन्द्र सिंह ऐरी, गुलशन झा र कुशल मल्ल छन्।

दीपेन्द्र टोलीका मुख्य खेलाडी हुन्। बलिङ, ब्याटिङ र फिल्डिङमा उनी चुस्त छन्।

उनको प्रदर्शनमा नेपाली टोलीको नतिजामा फरक पर्ने देखिन्छ।

वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा घाइते भएका दीपेन्द्र नेदरल्यान्ड्ससँगको खेलमा उत्रने सम्भावना लगभग तय छ।

सोमपाल कामी र करण केसी बलिङ अलराउन्डर हुन्। सोमपालले त १० औँ नम्बरमा ब्याटिङ गरेर कीर्तिमान नै बनाएका थिए। तर त्यो सन् २०१५ को कुरा हो।

गुलशनको प्रदर्शनमा एक हदसम्म एकरूपता देखिएको छ। उनको दायाँ हाते मिडियम पेश र बायाँ हाते ब्याटिङले टिममा सन्तुलन बनाउन मदत पुग्नेछ।

बलिङ

एक समय बलिङ नै नेपाली टोलीको प्रमुख हतियार रहने गरेकोमा अहिले ब्याटिङ मजबुत हुन थालेको देखि सकिएको छ।

तर बलिङ र फिल्डिङ क्षेत्र कमजोर नै भयो भन्ने पनि होइन। अझै पनि करण केसी र सोमपाल कामीसँग बलिङमा त्यो धार कायम नै छ।

तर यो विश्वकप हो। उनीहरूले यो स्तरमा प्रदर्शन दिन अहिलेको भन्दा अझै राम्रो खेल्नु जरुरी देखिन्छ।

सन्दीप लामिछानेको अनुपस्थितिमा ललितनारायण राजवंशी र सागर ढकालले स्पिन आक्रमणको जिम्मा लिनेछन्।

त्यसमा दीपेन्द्र र कुशल मल्लको साथ हुनेछ। कामचलाउ स्थितिमा कप्तान रोहित पौडेल र कुशल भुर्तेल पनि तयार छन्।

‘डेथ ओवर स्पेशलिस्ट’ अभिनाश बोहोराको बलिङको धार कस्तो हुन्छ भन्ने कुरालाई समेत धेरैले उत्सुकताका साथ पर्खिरहेका छन्।

रन बढी बेहोर्ने भएकोले बेला बेला समर्थकहरूको आलोचनाको सिकार हुने गरेको ‘योर्कर किङ’ बोहोराले क्यानडासँगको ‘वार्म अप’ मा ‘लेन्थ’ समातेको महसुस भएको छ।

तीव्र गतिमा कमल सिंह ऐरीको लागि यो प्रतियोगिता परीक्षा हुनेछ। कमल युवा छन् भने विपक्षीको लागि उनीहरूको बलिङ आक्रमण नौलो हुने हुँदा प्रशिक्षक मोन्टीले आवश्यक स्थितिमा मात्र उनलाई प्रयोग गर्न सक्नेछन्।

कमल जस्तै प्रतिश जिसीले पहिलो रोजाइमा पर्नका लागि प्रतीक्षा गर्नुपर्ने हुनसक्छ।

नेपाली टोलीको क्षमता हर्दा अब टोली नियमित विश्वकपको हिस्सा हुनुपर्ने देखिन्छ ।कुनै समय यू १९ विश्व कपको नियमति टोली हुने गरेको नेपालले टेस्ट मान्यता न्यूजिल्यान्ड, दक्षिण अफ्रिका जस्ता टोलीलाई पनि निराश पारेको थियो । सिनियर टोली पनि अहिले त्यस्तै अप्रत्यासित नतिजाको प्रतिक्षामा छ ।

यसपटकको विश्वकपको समूह डीमा नेपाल ३ टेस्ट मान्यता प्राप्त श्रीलंका, बंगलादेश, दक्षिण अफ्रिकासहित एसोसिएट राष्ट्र नेदरल्यान्ड्स रहेको छ ।ड्याल्लासको ग्रान्ड प्रेरी क्रिकेट मैदानमा नेदरल्यान्ड्ससँग खेल्दै सुरु हुने नेपालको यसपटकको विश्वकप टेस्ट राष्ट्रहरुलाई पराजित गर्दै अगाडि बढ्नु पर्ने अवस्थामा छ ।

नेपाली टोलीका कप्तान रोहित पौडेलले भनेकै छन्, टी ट्वान्टी त्यस्तो खेल हो यसपमा जसले पनि जित्न सक्छन् ।

ग्रान्ड प्रेरी क्रिकेट मैदान पनि त्रिवि मैदानको झल्को दिने अपेक्षा गरिएको छ । १५ हजार दर्शक क्षमतामा भएको स्टेडियममा ८० प्रतिशत बढी नेपालीको उपस्थिति हुने अनुमान गरिएको छ । कप्तान रोहितले केहि दिन अघि भनेका थिए, ‘कीर्तिपुरपछि हाम्रो लागि ग्रान्ड प्रेरी दोस्रो होम ग्रान्ड हुन सक्छ भन्ने सुनेको छु ।’

(स्रोतःबीबीसी न्यूज र हाम्रो खेलकूद)

 

Share Now