Prakash Adhikari June 6, 2024

नयाँदिल्ली(भारत), २४ जेठ । भर्खरै सम्पन्न लोकसभा निर्वाचनमा बहुमत सिटमा विजय हासिल गरेको भारतको नेशनल डेमोक्रेटिक एलाइन्स(एनडीए)का नेताहरुले भावि सरकारको नेतृत्व पनि वर्तमान प्रधानमन्त्रीले नरेन्द्र मोदीले नै गर्नुपर्ने निर्णय गरेपछि उहाँ तेस्रो कार्यकाल सम्हाल्ने तरखरमा हुनुहुन्छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले निरन्तर तेस्रो कार्यकालका लागि शनिवार शपथ ग्रहण गर्ने तयारी गर्नुभएको छ। भारतीय जनता पार्टीको संयोजनमा रहेको नेशनल डेमोक्रेटिक एलाइन्स अर्थात एनडीएले ५ सय ४५ सदस्यीय भारतको लोकसभामा निर्वाचन भएका ५ सय ४३ सीट मध्ये २ सय ९३ सीटमा विजय हासिल गरेको छ ।

बुधबार बसेको एनडीएको बैठकले उनलाई तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बनाउने निर्णय गरेको थियो। भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीले ८ जून अर्थात आगामी शनिबारका दिन शपथ ग्रहण गर्ने कार्यक्रम तय गर्नुभएको छ।

उहाँको शपथ ग्रहण समारोहमा भारतका छिमेकी राष्ट्रहरुले पनि सहभागिता जनाउने भारतीय मिडियाले बताएको छ।
मिडियाका अनुसार सो समारोहमा नेपाल, श्रीलंका, बंगलादेश,मालद्धीप,भुटान लगायतका छिमेकी राष्ट्रका नेताहरु सहभागिता हुने कार्यक्रम छ।

सुत्रलाई उल्लेख गर्दै भारतीय मिडियाहरुले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सो समारोहमा सहभागी हुने बताएका छन्। बुधबार भएको नेपालका प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन सम्बादमा यस विषयमा कुराकानी भइसकेको बताइएको छ। औपचारी निमन्त्रणा भने बिहीबार पठाइने भारतीय मिडियाले बताएका छन्। शपथ ग्रहण समारोहमा भुटानका प्रधानमन्त्री छिरिंग तोबगे र मरिशसका प्रधानमन्त्री प्रविन्द जगन्नाथलाई पनि उक्त समारोहमा आमन्त्रित गरिने छ।

श्रीलंकाका राष्ट्रपति रानिल विक्रम सिंघेको कार्यालयको मिडिया विभागले भारतीय प्रधानमन्त्री मोदीले तेस्रो कार्यकालको शपथ ग्रहणका लागि आमन्त्रित गरेको बताएको छ। राष्ट्रपति विक्रमसिंघेले मोदीलाई चुनावी जीतको बधाई दिँदै उहाँको निमन्त्रण स्वीकार गरेको विभागले जानकारी दिएको छ।

मोदीले बंगलादेशका प्रधानमन्त्री शेख हसीनासँग पनि फोन वार्ता गर्नुभएको छ। सुत्रलाई उल्लेख गर्दै हसीनाले मोदीको निमन्त्रण स्वीकार गरेको भारतीय मिडियाहरुले बताएका छन्।

Share Now