Prakash Adhikari June 7, 2024

जनकपुरधाम(धनुषा), २५ जेठ । सी के राउतको जनमत पार्टीले मधेशमा सरकार चलाउने अवसर पाउने भएको छ । नयाँ सत्ता समीकरणमा मधेस सरकारको नेतृत्व सीके राउत नेतृत्वको जनमत पार्टीमा गएको हो ।

जनमतका सतिश सिंहले नयाँ सत्ता गठबन्धनका ५५ जना सांसदहरुको समर्थनसहित शुक्रबार बिहान मधेस प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको छ।

सप्तरी २ (क)बाट निर्वाचित ४२ वर्षीय सिंहले शुक्रबार बिहान ८ बजे मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी समक्ष दावी पेस गर्नुभएको हो।

उहाँलाई एमाले, माओवादी केन्द्र, जनमत, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति र नेपाल संघीय समाजवादीको समर्थन छ।

माओवादी केन्द्र मधेस प्रदेश संसदीय दलका नेता भरतप्रसाद साहले आजै दिउँसो १२ बजे मुख्यमन्त्रीको शपथ ग्रहण कार्यक्रम हुने जानकारी दिनुभएको छ।

१ सय ७ सदस्यीय प्रदेश सभामा ६ राजनीतिक दलका ५५ जना सांसदले सिंहलाई समर्थन गरेका छन्।

मधेस प्रदेशमा जनमत पार्टीको दलका नेता सप्तरी २ (ख) बाट निर्वाचित महेश यादव छन्। तर, जनमतले यादवलाई छाडेर सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो।

मधेशका मुख्यमन्त्री सरोजकुमार यादव अल्पमतमा परेर पदमुक्त भएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदीले आज बिहान १० बजेसम्‍मको समय दिएर नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको थियो ।

Share Now