काठमाडौं, २५ जेठ । निजी क्षेत्रले निर्माण गर्न लागेको २ सय ८५ मेगावाट जडित क्षमताको माथिल्लो तमोर जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन (फाइनान्सियल क्लोजर) सम्पन्न भएको छ ।
एभरेष्ट बैंक लिमिटेडको नेतृत्वमा नेपालका बैंकहरुले आयोजनामा ऋण लगानी गर्ने भएका छन् । बिहिबार राजधानीमा आयोजित एक भव्य समारोहबीच ऋण लगानीको व्यवस्थापन संझौता पत्रमा औपचारिक रुपमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ। सहवित्तीयकरण (कन्सोर्टियम) को तर्फबाट एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र तमोर इनर्जी प्रालिका अध्यक्ष पुष्पज्योति ढुंगानाले सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो ।
आयोजनामा सहवित्तीयकरणको नेतृत्व गर्ने एभरेष्ट बैंकले ५ अर्ब रुपैयाँ (१२.९५ प्रतिशत) लगानी गर्नेछ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) र कृषि विकास बैंक लिमिटेडले ४ ।४ अर्ब रुपैयाँ (दुवैले १०.३६ प्रतिशत) लगानी गर्नेछन् ।
आयोजना निर्माणमा कामना सेवा विकास बैंकले १ अर्ब रुपैयाँ (२.५९ प्रतिशत),गरिमा विकास बैंकले १ अर्ब रुपैयाँ (२.५९ प्रतिशत), प्रभु बैंकले ३ अर्ब रुपैयाँ(७.७७ प्रतिशत),लक्ष्मी सनराइज बैंकले २ अर्ब रुपैयाँ (५.१८ प्रतिशत), नेपाल एसविआई बैंकले १ अर्ब रुपैयाँ(२.५९ प्रतिशत) र राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब रुपैयाँ(७.७७ प्रतिशत) लगानी गर्नेछन् ।
यो आयोजना निर्माणका लागि ब्याजबाहेक ४५ अर्ब ९५ करोड ३९ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । ब्याज सहितको कुल लागत करिब ५५ अर्ब रुपैयाँ छ। आयोजनामा बैकहरुले करिब २४ अर्ब रुपैयाँ ऋण लगानी गर्ने छन् । भने १४ अर्ब ६० करोड रुपैयाँ (३७.८२ प्रतिशत) लगानीका लागि खुल्ला आह्वान गरिएको छ । बाँकी रकम इक्विटी (सेयर)बाट जुटाइने बताइएको छ । करिब १५ अर्ब रुपैयाँ शेयबाट जुटाउने लक्ष्य राखिएको छ।
आयोजनाको प्रतिमेगावाट उत्पादन लागत १९ करोड ३५ लाख हुने अनुमान गरिएको छ।
माथिल्लो तमोर आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार भएको छ भने वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन समेत स्वीकृत भइसकेको छ ।
अर्धजलाशय प्रकृतिको यो आयोजनाले नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता (पीपीए) समेत गरिसकेको छ ।आयोजनाबाट उत्पादित विद्युतलाई सुक्खायामको पिकिङमा १०.५५ रुपैयाँ प्रतियुनिट र औसतमा ६.२७ रुपैयाँ प्रतियुनिटमा खरिद गर्ने गरी प्राधिकरणले पीपीए गरेको हो ।
प्रस्तावित जलविद्युत आयोजना फक्ताङलुङ गाउँपालिका र फुलङलिङ नगरपालिकामा निर्माण हुनेछ । यो आयोजनाका लागि ८.५ किलोमिटरको मुख्य सुरुङमार्ग निर्माण गर्नुपर्नेछ ।
सुक्खायाममा दैनिक ६ घण्टा पूर्णक्षमतामा विद्युत उत्पादन हुन सक्ने गरी डिजाइन गरिएको यो आयोजना देशमा ऊर्जाको माग र आपूर्तिको सन्तुलन मिलाउन सहयोगी हुने अपेक्षा गरिएको छ । यो आयोजनाबाट वार्षिक सरदर १४७९.८८ गिगावाट आवर विद्युतीय ऊर्जा उत्पादन हुनेछ ।
आयोजनाबाट उत्पादित विद्युत २२० के.भी. डब्बल सर्किट प्रशारण लाइनमार्फत १५ कि.मीको दूरीमा पर्ने ढुगेसाँघु सबस्टेशनमार्फत केन्द्रीय प्रशारण लाईनमा जोडिने छ ।
पर्वत जिल्लामा १ मेगावाट क्षमताको पातीखोला जलविद्युत निर्माण गरेर ऊर्जा क्षेत्रमा लगानी गरेको माथिल्लो तमोरको प्रबर्धक समूहले पाँचथरमा १४.९ मेगावाट क्षमताको हेवा ए,कास्कीमा ४४ मेगावाट क्षमताको सुपर मादी निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ । ३७.५ मेगावाटको तमोर ५ र २१ मेगावाटको पालुन खोला आयोजना निर्माणाधीन छन् ।
संघीय संसदको प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलगायतको उपस्थितिमा भएको उक्त कार्यक्रममा जलविद्युत क्षेत्रका व्यवसायी , बैंकर्स र राजनीतिक दलका नेताहरुको सहभागिता रहेको थियो ।
वित्तीय व्यवस्थापन संझौतामा हस्ताक्षर समारोहमा बोल्दै तमोर इनर्जी प्रा.लि.का अध्यक्ष पुष्पज्योति ढुंगानाले २१ बर्ष अगाडि १ मेगावाट क्षमताको जलविद्युत उत्पादन थालेको समूहले दुई दशकको अवधिमा २ सय ८५ मेगावाटको आयोजना आन्तरिक स्रोत साधनबाट बनाउने अवस्था आउनु निकै सन्तोषको विषय रहेको बताउनुभयो । उहाँले नेपालको प्राकृतिक स्रोतको रुपमा रहेको जलस्रोतको उपयोगका सम्बन्धमा नोपली कांग्रेसकी नेतृ शैलजा आचार्यले लिनुभएको “स्मल इज ब्युटिफुल”को अवधारणाले नेपालको निजी क्षेत्रले अनुभव आर्जन गर्दै ठूला आयोजना निर्माणको क्षमता हासिल गरेको बताउनुभयो ।
कार्यक्रममा ऋण लगानी कर्ता समूहका तर्फबाट नेतृत्वदायी एभरेष्ट बैंकका प्रमुख कार्यकारी अध्यक्ष सुदेश खालिड.ले २ सय ८५ मेगावाट क्षमतासम्मका जलविद्युत आयोजनामा लगानी जुटाउन नेपाली बैंकहरु नै सक्षम हुने अवस्था आउनु सकारात्मक कुरा भएको उल्लेख गर्नुभयो । उहाँले जलविद्युतको उत्पादनको क्षेत्रमा नेपालको वित्तीय,प्राविधिक र व्यवस्थापकीय क्षमता बढ्दै गएको बताउनुभयो ।
कार्यक्रममा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पानका अध्यक्ष गणेश कार्कीले नेपालको निजी क्षेत्रको लगानी क्षमता, प्राविधिक क्षमता र वित्तीय क्षमता पनि बढ्दै गएकोले अब ५ सय मेगावाट जडित क्षमता भएका आयोजना स्वेदेशी निजी क्षेत्रलाई नै बनाउन दिनुपर्ने कुरा राख्नुभयो ।


















