काठमाडौं, २७ जेठ । अध्येता एवम् लेखक उदय अधिकारीको नयाँ पुस्तक ‘अविश्रान्त लखरलखर’को लोकार्पण भएको छ । गत शुक्रबार काठमाडौंको थापागाउँस्थित मण्डला थियटरमा एक समारोहकाबीचमा सो पुस्तकको सामूहिक लोकार्पण गरिएको थियो ।
फिनिक्स बुक्सद्धारा प्रकाशित उक्त पुस्तक पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, साहित्यकार, खरा लेखक तथा सामाजिक अभियान्ता खगेन्द्र संग्रौला, प्रगतिशील लेखक धनकुमारी सुनार, पत्रकार तथा लेखक बसन्त बस्नेत र पुस्तकका लेखक उदय अधिकारीले सामूहिक लोकार्पण गर्नुभएको थियो ।
बामपन्थी राजनीति र साहित्यमा झुकाव राख्ने खरा लेखक खगेन्द्र संगौलाका जीवनका विभिन्न पक्षहरुलाई प्रश्नका माध्यमबाट खोतलेर प्रश्नोत्तर शैलीमा लेखिएको उक्त पुस्तकले जीवनका सक्रिय र उर्बर समय बामपन्थी विचारधारालाई मलजल पुर्याउन खर्चनुभएका संग्रौलाको त्यसप्रतिको विमोहलाई समेत उजागर गरेको छ । उहाँको जुनकिरीको सड.गीत बजारमा आएपछि त्यसबेला जनयुद्धमा रहेको नेकपा माओवादीबाट उहाँलाई भौतिक कारबाही गर्न र उहाँको कृति नपढ्न सो पार्टीका तर्फबाट भएको सर्कूलरले उहाँमा उग्रपन्थप्रति ठूलै वितृष्णा पलाएको देखिन्छ ।
पुस्तक लोकार्पण समारोहमा उहाँले भन्नु पनि भयो, “वास्तवमा कम्युनिष्टहरु भौतिकवादी भएकोले माओवादी आन्दोलनको सुरुमा जसरी टुपी गाई काटेर मन्दिरहरुमा टाउको राखियो ,परिवारमा विचलन ल्यायो भनेर मदिरापान गर्ने र जुवातास खेल्नेलाई भाटे कारबाही गरियो, सांस्कृतिक क्रान्तिको नाममा हामीले पनि यसको विरोध गर्ने आवश्यकता देखेनौ । जातपातविहिन,वर्गविहिन,धर्मविहिन, समतावादी र समाजवादी समाजको सिर्जनामा लागेको पार्टी अधुरो क्रान्ति समाप्त गरेर शासन सम्हालेको बेला माओवादीकै उद्गम भएको रुकुममा आफूलाई माओवादी भन्नेहरुले अन्तरजातीय बिबाह गर्न खोजेको आरोपमा नवराज विक र उनका साथीहरुको जसरी हत्या गरे, त्यसले बलप्रयोगले सांस्कृतिक क्रान्ति हुँदो रहेनछ भन्ने प्रमाणित गरेको छ । माओवादीको र नेपालको वामपन्थी आन्दोलनको त्यसमा पनि सांस्कृतिक विचलनबारे मलाई लेख्न म छ । अब म त्यसलाई पूरा गर्ने तयारीमा छु ।”
कार्यक्रममा प्रमुख अतिथि पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रस्तुत पुस्तकले संग्रौलाको निजी जीवन, साहित्यिक जीवन, बिद्रोही राजनीतिका धेरै पाटाहरु उजागर गरेको उल्लेख गर्नुभयो ।उहाँले व्यक्ति आफूले लेखेका पुस्तकमा आफ्ना अरुचीका विषय छुटाइने भएकोले अरुले लेखेका पुस्तकमा त्यस्ता पक्ष पनि पढ्न पाइने उल्लेख गर्दै भन्नुभयो, “प्रश्न अनुसार उत्तर आउछ । त्यसैले प्रश्नको झन ठूलो महत्व छ ।” उहाँले मानिस सिर्जनशील हुनलाई अलिकति अड्वाड.गे हुनैपर्ने बताउनुभयो । उहाँले आफू राजनीतिको मूलधारबाट हिँडेर यसमा सुधार खोजेको तर संग्रौलाले किनार किनार हिँडेर राजनीति र समाज विकासलाई निरन्तर निगरानी गरिरहनुभएको बताउनुभयो । पूर्वप्रधानमन्त्री भट्टराईले कम्युनिष्टहरु उदार हुन सकेको उल्लेख गर्दै लोकतन्त्र र समाजवादका लागि आफूले कम्युनिष्ट पार्टी नै छोडेर नयाँ शक्ति निर्माण गरेको पनि बताउनु भयो । उहाँले थप्नुभयो,” कांग्रेसहरु नलुकाईकन भन्न सक्छन् जसरी बीपी कोइरालाले भन्नुभयो, तर कम्युनिष्टहरु सक्दैनन् नि ।”
कार्यक्रममा समीक्षक द्धय बसन्त बस्नेत र धनकुमारी सुनारले पुस्तकका विविध पक्षमाथि टिप्पणी गर्नुभएको थियो भने लेखक उदय अधिकारीले पुस्तकको रचना गर्भका बारेमा प्रकाश पार्नुभएको थियो ।
उदय अधिकारीका सोधाइ र खगेन्द्र संग्रौलाको जवाफमा उनिएको अविश्रान्त लखरलखर १ सय ५७ पृष्ठको छ । फिनिक्स बुकद्धारा प्रकाशित यस पुस्तकको मूल्य ४ सय रुपैया रहेको छ।