खाँदबारी ३० जेठः सङ्खुवासभाको चिचिला गाउँपालिका–३ सोलाखानीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छभने अन्य दुईजना घाइते भएका छन् ।
मङ्गलबार रातिको अविरल वर्षापछि खसेको पहिरोमा परी अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुर बर्दियाका घोराभिट्टाका गङ्गाराम थारुको मृत्यु भएको तथा मकवानपुरका उमेश कार्की र गोविन्द थारू घाइते भएका प्रहरीले जनाएको छ । उनीहरू निदाएका बेला पहिरो खसेको हो । जलविद्युत् आयोजनाले कामदारका निम्ति निर्माण गरेका १४ वटा कोठामध्ये ३ वटा पुरिएका छन् ।
कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी–नुम खण्डको ठूलोढुङ्गा अरुणथान चार किलोमिटर क्षेत्रमा वर्षाले क्षति भएको छ ।
यो खण्डमा कालोपत्रका लागि गरिएको ‘सवबेस’, ग्याविन पर्खाल र नाली बगाएको उत्तरदक्षिण कोशी सडक आयोजनाका प्रमुख सविन कोइरालाले राससलाई बताउनुभयो ।
कोशी राजमार्गअन्तर्गत खाँदबारी किमाथाङ्का खण्डको ठूलो ढुङ्गा–पाङ्मा अरुणथानमा सबैभन्दा बढी क्षति भएको छ । वर्षाका कारण मकालु गाउँपालिकाको नुममा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।
आयोजना प्रमुख कोइरालाले अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको बताउनुभयो । वर्षाले पिच गर्न तयार गरिएको सडक बगाउँदा करिब रु एक करोडको क्षति भएको उहाँले जानकारी दिनुभयो । –––