काठमाडौँ, ३ असारः यही असार ४ गतेदेखि ७ गतेसम्म काठमाडौँमा हुने ‘आइडिए (अन्तर्राष्ट्रिय विकास सङ्घ) को २१ औं रिप्लेनिसमेन्ट बैठको नेतृत्व गर्न नेपाल आइपुग्नुभएका विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोस्टसेन्बर्गले आज प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री बर्षामान पुनसंग भेट गर्नुभएको छ ।
बालुवाटारमा आज साँझ प्रधानमन्त्री भएको भेटमा उहाँहरूबीच नेपालको विकास र विश्व बैंकले नेपाल पु¥याउँदै आएको सहयोगलगायत विविध विषयमा छलफल भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।
सो अवसरमा प्रधानमन्त्री दाहालले स्थिर विकास साझेदार विश्व बैंकले विगत छ दशकभन्दा बढी समयदेखि नेपालको विकास र वित्तपोषणमा भरपर्दो स्रोत उपलब्ध गराउँदै आएको बताउनुभयो । आफू नेतृत्वको सरकारले आगामी आर्थिक नीति र बजेटमार्फत आर्थिक सुधारको थालनी गरेको बताउँदै उहाँले वैदेशिक लगानी र विवेकपूर्ण वित्तीय व्यवस्थापनका लागि नेपालमा अनुकूल वातावरण सिर्जना गर्ने विश्वास दिलाउनुभयो ।
प्रधानमन्त्रीले ऊर्जा, पर्यटन, कृषि व्यवसाय, र सूचनाप्रविधिजस्ता क्षेत्रहरूमा लगानी गर्दा तुलनात्मकरूपमा फाइदा लिन सकिने बताउनुभयो । नेपालमा जलवायु परिवर्तनको असरबाट नराम्रोसँग प्रभावित भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले जलवायु न्यायका लागि नेपालले निरन्तर विभिन्न अन्तर्राष्ट्रिय मञ्चमार्फत वकालत गर्दै आएको र त्यसमा विश्व बैंकको महत्त्वपूर्ण सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।
सो अवसरमा विश्व बैंकका निर्देशक ट्रोस्टसेन्बर्गले नेपालको आर्थिक विकासमा विश्व बैंकबाट आवश्यक पर्ने सहयोग गर्न तयार रहेको बताउनुभयो । यही असार ४ गतेदेखि ७ गतेसम्म काठमाडौँमा हुने ‘आइडिए (अन्तर्राष्ट्रिय विकास सङ्घ) २१ पुनःपूर्ति (रिप्लेनिसमेन्ट)’ बैठकका विषयमा पनि सो अवसरमा छलफल भएको छ ।
बैठकमा विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक ट्रोस्टसेन्वर्गलगायत उच्च पदाधिकारीसहित ६१ देशका दुई सयभन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहनेछ ।
बैठकको उद्घाटन समारोहलाई प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने कार्यक्रम छ । बैठकले आगामी तीन वर्षसम्म नेपाललाई प्रदान गर्ने अनुदान, सहुलियतपूर्ण ऋण एवं अन्य सहयोगका प्राथमिकताबारे छलफल हुनेछ ।
अर्थमन्त्री पुनसँग भेट
विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोटसनबर्गले अर्थमन्त्री वर्षमान पुनसँग भेटवार्ता गर्नुभएको छ । ट्रोटसनबर्गले आज सिंहबारस्थित अर्थ मन्त्रालयमा मन्त्री पुनसँग शिष्टाचार भेट गर्नुभएको हो ।
काठमाडौँमा मङ्गलबारदेखि सुरु भइ चार दिनसम्म चल्ने विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास सङ्घ (आईडा)को तेस्रो रिप्लेनिसमेन्ट बैठक आईडा–२१ मा सहभागी हुन ट्रोटसनबर्ग नेपाल आउनुभएको हो । भेटमा ट्रोटसनबर्गसँगै विश्व बैंकका उपाध्यक्षद्वय आकिहिको निसिओ र मार्टिन रेजर तथा तथा नवनियुक्त नेपाल निर्देशक डेभिड सिस्लेनलगायत सहभागी हुनुहुन्थ्यो ।
आकीहिको विश्व बैंकको विकास वित्त (डिएफआई) परिचालन र रेजर दक्षिण एसिया हेर्ने उपाध्यक्ष हुनुहुन्छ । भेटमा मन्त्री पुनले नेपालमा आइडीए–२१ बैठकको आयोजना हुँदा नेपालको अन्तर्राष्ट्रियस्तरमा ख्याती बढ्ने बताउनुभयो । उहाँले बैठकका लागि नेपाललाई छनोट गरेकामा विश्व बैंक व्यवस्थापनलाई धन्यवाद दिनुभएको अर्थमन्त्री पुनको सचिवालयले जनाएको छ ।
बैठक भव्यरुपमा सफल पार्न नेपाल सरकारका तर्फबाट सम्पूर्ण सहयोग हुने प्रतिबद्धता उहाँको थियो । विश्व बैंकसँग नेपालको छ दशक लामो साझेदारी रहेको चर्चा गर्दै मन्त्री पुनले नेपालको विकासमा बैंकले उदारतापूर्वक गरेको सहयोगको प्रशंसा गर्नुभयो । मन्त्री पुनले पाइपलाइनमा रहेका माथिल्लो अरुण र दूधकोशी जलविद्युत् आयोजना निर्माणमा विश्व बैंकले देखाएको निरन्तरको चासो र प्रतिबद्धताको सराहना गर्नुभयो ।
उहाँले नेपाल ती दुवै आयोजना अघि बढाउन तत्पर रहेको जानकारी दिँदै वित्तीय व्यवस्थापनको टुङ्गो छिट्टै लाग्ने विश्वाससमेत व्यक्त गर्नुभयो । सुशासन र संस्थागत क्षमताको सुदृढीकरण तथा आगामी सन् २०२६ भित्र नेपाललाई विकासशील मुलुक (एलसिडी) मा स्तरोन्नति, जलवायु परिवर्तनका प्रभावसँग जुध्न र सार्वजनिक सेवा प्रवाह प्रभावकारी बनाउन तथा रोजगारी सिर्जनालगायत योजनाका लागि नेपाललाई सहुलियतपूर्ण कर्जामा जोड दिन मन्त्री पुनले आग्रह गर्नुभयो । उहाँले २१औँ आइडीए बैठकमार्फत विश्व बैंकले वित्तीय सहयोगलाई मात्र नभई ज्ञान र नवप्रवर्तनका क्षेत्रलाई समेत प्राथमिकतामा राख्न अनुरोध गर्नुभयो ।
फरक प्रसङ्गमा मन्त्री पुनले नेपालको अर्थतन्त्रको आकार सानो नभई मध्यमस्तरको भएको उल्लेख गर्नुभयो । विश्व बैंकका प्रबन्ध निर्देशक ट्रोटसनबर्गले आईडीए–२१ को तेस्रो रिप्लेनिसमेन्ट बैठक आयोजना गरेकामा नेपाललाई बधाई र धन्यवाद दिनुभयो । नेपाल र विश्व बैंकबीच लामो साझेदारी रहेको चर्चा गर्दै उहाँले नेपाललाई बैंकले सधैं उच्च प्राथमिकतामा राखेको बताउनुभयो । आगामी दिनमा समेत सहकार्य थप मजबुत भएर जाने उहाँको भनाइ थियो ।



















