Prakash Adhikari June 17, 2024
काठमाडौँ, ३ असार: राष्ट्रपति रामचन्द्र पौडेल र जर्मनीका राष्ट्रपति डा फ्रयाङ्क वाल्टर स्टाइनमायरबीच जर्मनीको बर्लिनस्थित राष्ट्रपति भवनमा आज भेटवार्ता भएको छ ।
सो भेटवार्तामा राष्ट्रपति पौडेलले नेपालले जर्मनीसँगको सम्बन्धलाई सदैव उच्च महत्व दिएको र बदलिँदो विश्वपरिवेशमा यो सम्बन्ध अझ घनिष्ठ हुने विश्वास व्यक्त गर्नुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । साथै उहाँले सोसियलिष्ट इन्टरनेशनल तथा प्रोग्रेसिभ अलायन्सजस्ता संस्था सामाजिक न्याय, मानवअधिकार, लोकतन्त्र, कानुनी राज्य तथा स्वतन्त्रताका लागि विश्वस्तरमा अझ क्रियाशील रहनुपर्छ भन्ने आफूलाई लागेको बताउनुभएको थियो ।
“दिगो शान्ति, स्थायित्व र विकासको राष्ट्रिय आकाङ्क्षा हासिल गर्न नेपाल तल्लीन रहेको छ, नेपालको शान्ति प्रक्रियामा जर्मनीबाट प्राप्त सहयोगका लागि धन्यवाद व्यक्त गर्दछु, नेपालको विकासको पथमा मित्रराष्ट्र जर्मनीको निरन्तर साथ र सहयोग रहनेमा हामी विश्वस्त छौँ”, राष्ट्रपति पौडेलको भनाइ उदृत गर्दै उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले बताउनुभयो ।
राष्ट्रपति पौडेलले नेपालले हासिल गरेको राजनीतिक उपलब्धिलाई स्थायित्व दिन आर्थिक विकास  गर्नु जरुरी रहेको बताउँदै अन्तर्राष्ट्रिय समुदाय र जर्मनीलगायतका मित्रराष्ट्रले नेपाललाई प्रदान गरिरहेको सहयोगलाई निरन्तरता दिइ नेपालको आर्थिक विकासको आकाङ्क्षा पूरा गर्नमा सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको थियो ।
त्यसैगरी उहाँले विकासशील मुलुकलाई जलवायु परिवर्तनको प्रभावसँग जुध्न जर्मनीले जलवायुसम्बन्धी हानिनोक्सानी कोषमा गरेको सहयोग प्रतिबद्धतालाई स्वागत गर्नुभएको थियो । राष्ट्रपति पौडेलले सहभागितामूलक र समावेशी लोकतन्त्र, मानवअधिकार, मौलिक अधिकार,  लैङ्गिक समानता, जलवायु परिवर्तनजस्ता धेरै सामाजिक–आर्थिक मुद्दामा दुई देशबीच अन्तर्राष्ट्रिय मञ्चहरुमा समान धारणा रहेको पनि बताउनुभएको थियो ।
नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुन प्रयासरत रहेको र यसलाई समस्यारहित, दिगो तथा अपरिवर्तनीय बनाउन आवश्यक भएको उल्लेख गर्दै उहाँले यसका लागि नेपाललाई स्रोतसाधन, प्रविधि, लगानी तथा आर्थिक सहकार्यको आवश्यकता रहेको बताउनुभएको प्रेस सल्लाहकार पोखरेलले जानकारी दिनुभयो ।
नेपालको वर्तमान लक्ष्य कृषिलाई आधुनिकीकरण गर्नु, जलस्रोत तथा ऊर्जा क्षेत्रमा रहेको विशाल सम्भावनालाई उपयोग गर्नु, पूर्वाधार विकासलाई तीव्र पार्नु, पर्यटनका सम्भावनालाई उपयोग गर्नु र जलवायु परिवर्तनको नकारात्मक प्रभावविरुद्ध लड्नु रहेको उहाँले बताउनुभएको थियो । “नेपालको आर्थिक विकासका लागि कृषि क्रान्ति, जलस्रोत र पर्यटनको विकास आवश्यक छ, यसमा नेपालले सहयोगको अपेक्षा गरेको छ”, राष्ट्रपति पौडेलले भन्नुभयो ।
उहाँले बर्लिनको पर्खाल भत्कनु र नेपालमा प्रजातन्त्र पुनःस्थापना हुनु एकैपटक परेको उल्लेख गर्दै आफूले त्यसबेला स्थानीय विकास मन्त्रीका रुपमा जर्मनको भ्रमण गरेको स्मरण गर्नुभएको थियो । उहाँले युक्रेनमा झुक्याएर पु¥याइएका नेपालीलाई छुटाउन पहलका लागि पनि आग्रह गर्नुभएको थियो ।
Share Now