Prakash Adhikari June 22, 2024

बर्लिन(जर्मनी), ८ आषाढ (एजेन्सी) । युरो कप २०२४ अन्तरगत शुक्रबार राति सम्पन्न खेलहरुमा नेदरल्यान्ड्स र फ्रान्स गोलरहित बराबरीमा रहे भने युक्रेनले स्लोभाकियालाई पराजित गरेको छ । त्यस्तै अष्ट्रियाले पोल्याण्डलाई हराएर दोस्रो चरणमा जाने बाटो रोकेको छ।

शुक्रबार राति सम्पन्न खेलमा फ्रान्स र नेदरल्याण्ड्सले गोलरहित बराबरीमा अंक बाँडेका छन् ।

नेदरल्याण्ड्स र फ्रान्सबीचको गोलरहित बराबरीको यो खेल युरो २०२० को समुह चरणमा इङ्गल्याण्ड र स्कटल्याण्ड पछिको पहिलो गोलरहित खेल हो।

लेइपजिग स्टेडियम जर्मनीमा शुक्रबार राति भएको खेलमा केलियन एमबाप्पे बिनाको फ्रान्सले बल पोसेसन राखेपनि फिनिसिङमा चुक्दा अंक बाड्न बाध्य बन्यो ।

यता, नेदरल्यान्ड्सले दोस्रो हाफमा गोल गरेपनि रेफ्री र भिडियो सहायता रेफ्री (भिएआर) को विवादास्पद निर्णयले गोलले मान्यता नपाउँदा जितबाट वञ्चित बन्न पुग्यो । खेल बराबरीमा सकिएसँगै दुवै टोली नकआउट चरण नजिक पुगेको छ । तर, यस खेलमा जित निकाल्ने टोलीले नकआउट चरणमा स्थान बनाउने थियो ।

नेदरल्यान्ड्सविरुद्धको खेलमा कप्तानी गरिरहेका एन्टोइन ग्रिजमनले पहिलो हाफमा चार आक्रमण बुनेपनि त्यसलाई गोलमा परिणत गर्न सकेन । उनको दुई प्रयासलाई गोलरक्षक बार्ट भरब्रुगेनले विफल पारे । दोस्रो हाफमा डचका कोडी गाक्पोको प्रयासलाई फ्रान्सका गोलरक्षक माइक म्याग्नानले विफल पारे ।

त्यसपछि पनि खेलमा फ्रान्सले दवाव जारी राख्यो । एड्रिएन राविओट र ओस्मान डेम्वेलेको प्रहार क्रसबारबाट थोरै बाहिरियो । ओरेलिएन चुआमेनीको सशक्त हेडर पनि सफल भएन । ग्रिजमनले वान भर्सेस वानको स्थितिमा अर्को सुवर्ण अवसरलाई बार्ट भरब्रुगेनले विफल पार्दा फ्रान्स निराश बन्न पुग्यो ।

६९औं मिनेटमा युवा स्टार जाभी सिमोन्सले सानदार गोल गरेपनि उक्त गोलले मान्यता पाएन । २१ वर्षीय सिमोन्सले दाया कर्नरतर्फ गरेको प्रहार गोलमा परिणत भएको थियो । तर, उक्त गोलको मुभमा डेन्जेल डम्फ्रिज गोलरक्षक म्याग्नानको छेउमै रहेपछि उक्त गोललाई भिएआरले मान्यता दिएन ।

दुबै टोलीको दुई खेल पछि चार अंक पुगेको छ । गोलअन्तरमा नेदरल्यान्ड्स समूह ‘डी’ मा शीर्षस्थानमा तथा फ्रान्स दोस्रोमा छ । अस्ट्रिया दोस्रो तथा पोल्यान्ड पुछारमा छ । आब नेदरल्यान्ड्सले अस्ट्रियासँग तथा फ्रान्सले पोल्याण्डसँग खेल्नेछ ।

युक्रेनद्धारा स्लोभाकिया पराजित

युरो २०२४ अन्तर्गत आफ्नो दोस्रो खेलमा युक्रेनले स्लोभाकिया विरुद्ध  जित दर्ता गरेको छ । डसेलडोर्फमा भएको समूह ई अन्तर्गतको खेलमा युक्रेनले २-१ को जित हार पारेको हो ।

१७औं मिनेटमा इभान स्क्रान्जलिए लुकास हरासलिनको क्रसमा हेडर मार्फत गोल गर्दै स्लोभाकियालाई अग्रता दिलाएका थिए ।

५४औं मिनेटमा युक्रेनका लागि माईकोला शापारेन्कोले बराबरी गोल गरे ।

ओलेकसान्दर जिन्चेन्कोको क्रसमा उनले बक्स भित्रबाट गोल गर्न सफल भएका थिए ।

८०औं मिनेटमा युक्रेनको विजयी गोल आयो । शापारेन्कोको सुन्दर पास नियन्त्रणमा।लिँदै रोमन यारेमचुकले गोल गर्दै युक्रेनको जित सुनिश्चित गरे ।

यूक्रेनको जित पछि समूह ई मा तीन टोलीको समान ३ अंक भएको छ । एक खेल खेलेको रोमानिया तथा समान २-२ खेल खेलेका स्लोभाकिया र युक्रेनको ३-३ अंक छ ।

स्लोभाकियाले पहिलो खेलमा बेल्जियमलाई १-० ले हराएको थियो । बेल्जियम भने अंकविहिन छ । बेल्जियम र रोमानिया भोलि खेल्दै छन ।

अष्ट्रियासंगको हारले पोल्याण्ड बाहिरियो

पोल्यान्ड युरो कप २०२४ बाट बाहिरिने पहिलो टोली बनेको छ । अस्ट्रियासँग ३–१ को हारसँगै पोल्यान्ड समूह चरणको एक खेल बाँकी छँदै युरोबाट बाहिरिएको हो ।

पोल्यान्डविरुद्धको जितसँगै अस्ट्रियाको भने नकआउट चरणमा पुग्ने आशा कायम रहेको छ । बर्लिनमा शुक्रबार राति भएको खेलमा अस्ट्रियाको जितमा गेर्नोट ट्राउनर, क्रिस्टोफ बाउमगार्टनर र मार्को एर्नाउटोभिकले गोल गरे । पोल्यान्डका क्रिस्जटोफ पिएटेकले एक गोल फर्काए ।

खेलको नवौं मिनेटमा नै गेर्नोट ट्राउनरको गोलबाट अस्ट्रियाले खेलमा अग्रता कायम गर्यो । ३०औं मिनेटमा क्रिस्जटोफ पिएटेकले गोल गर्दै खेललाई पहिलो हाफमा १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि अस्ट्रियाले दोस्रो हाफमा दुई गोल थप्दै जीत सुनिश्चित गर्यो ।

६६औं मिनेटमा क्रिस्टोफ बाउमगार्टनरले गोल गर्दै अस्ट्रियालाई २–१ ले अघि बढाए । ७८औं मिनेटमा मार्को एर्नाउटोभिकले पेनाल्टीमा गोल गर्दै अस्ट्रियाको जित पक्का गरे ।

यस जितले अस्ट्रियाको दुई खेलबाट ३ अंक पुगेको छ । समान खेलबाटै पोल्यान्डले अंक जोड्न सकेको छैन । यो समूहमा नेदरल्यान्ड्स र फ्रान्सको समान ४ अंक छ ।

अब समूह चरणको अन्तिम खेलमा अस्ट्रियाले नेदरल्यान्ड्ससँग तथा पोल्यान्डले फ्रान्ससँग खेल्ने छन्। पोल्यान्डले फ्रान्सलाई हराएपनि टोलीलाई अघिल्लो चरण पुग्न पर्याप्त हुने छैन ।

Share Now