एण्टिगुवा(वेष्ट एण्डिज), १० आषाढ (एजेन्सी) । सहआयोजक वेस्ट इन्डिजमाथि ३ विकेटको विजय निकाल्दै दक्षिण अफ्रिका आईसीसी टी २० विश्वकप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ ।
सुपर एट चरणको आफ्नो अन्तिम खेलमा सोमबार ३ विकेटको जित निकालेको दक्षिण अफ्रिका समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।
डकवर्थ लुइसका आधारमा १७ ओभरमा १ सय २३ रनको लक्ष्य पाएको दक्षिण अफ्रिकाले सो लक्ष्य ५ बल बाँकी छँदै हासिल गरेको थियो ।
अन्तिम दुई ओभरमा १३ रन चाहिएकोमा चेजको १६औं ओभरमा केशव महाराजको विकेट सहित ८ रन आएको थियो । १९ औं ओभरको अन्तिम बलमा कागिसो रबाडाले चौका प्रहार गरेपछि दक्षिण अफ्रिकाका लागि केही सहज अवस्था सिर्जना भएको थियो ।
अन्तिम ओभरको पहिलो बलमा नै मार्को यान्सनले छक्का प्रहार गरेपछि दक्षिण अफ्रिका विजयी भयो । यान्सनले १४ बलमा २० रन बनाएर अविजित रहे ।
दक्षिण अफ्रिकाले लक्ष्य पछ्याउने क्रममा इनिङको सुरुवातमै वर्षाले खेल प्रभावित भएपछि २० ओभरमा १ सय ३६ रनको लक्ष्य संशोधित भई १७ ओभरमा १ सय २३ रन कायम गरिएको थियो ।
दक्षिण अफ्रिकाका ट्रिस्टन स्टब्सले २७ बलमा २९ रन बनाएका थिए । हेनरिक क्लासेनले १० बलमा २२ रन बनाउँदा मार्क्रमले १८ रन जोडे ।
वेस्ट इन्डिजका लागि रोस्टन चेज एक्लैले ३ विकेट लिएका थिए भने आन्द्रे रसेल र अल्जारी जोसेफले समान २ । २ विकेट लिए ।
एण्टिगुवाको नर्थसाउण्डस्थित क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय मिटर ३५ रन बनाएको थियो । वेस्ट इन्डिजको लागि रोस्टन चेजले ४२ बलमा ३ चौका र २ छक्का सहित सर्वाधिक ५२ रन बनाए । काइल माएर्सले ३४ बलमा ३५ रन बनाए भने आन्द्रे रसेलले ९ बलमा १५ रन जोडे ।
दक्षिण अफ्रिकाका तब्रेज शम्शीले ३ विकेट लिए भने मार्को यान्सन, एइडन मार्क्रम, केशव महाराज र कागीसो रबाडाले समान १ । १ विकेट लिए ।
सुपर एट समूह २ बाट यसअघि नै इङ्ल्यान्ड सेमिफाइनलमा प्रवेश गरिसकेको थियो । इङ्ल्यान्डले ३ खेलमा ४ अंक हासिल गरेको थियो । दक्षिण अफ्रिकाको भने ३ खेलमा ६ अंक हासिल गरेर समूहमा शीर्षमा रहदै सेमिफाइनल यात्रा तय गरेको हो । यस समूहबाट वेस्ट इन्डिज २ अंकसहित तेस्रो रहदै र अमेरिका बिना अंक अन्तिममा रहदै खेलको यो चरणबाट बाहिरिएका छन् ।