Prakash Adhikari June 25, 2024

लाईपजिड.(जर्मनी), ११ आषाढ(एजेन्सी) । साविक विजेता इटाली युरो कप २०२४ को अन्तिम १६ मा प्रवेश गरेको छ ।
आइतवार राति जर्मनीको लाइपजिड.स्थित रेडबुल खेल मैदानमा भएको प्रतिस्पर्धामा क्रोएसियालाई अन्तिम मिनेटमा बराबरी गोल गर्दै उसले शीर्ष १६ को स्थान सुरक्षित गरेको हो ।

खेलमा एक गोलले पछि परेको अवस्थामा इन्ज्युरी समयको अन्तिममा गोल गरेर क्रोएसिया विरुद्ध १ १ को बराबरी खेल्दै इटाली नकआउट चरणमा पुगेको हो ।

५५औं मिनेटमा लुका मोड्रिचको गोलमा क्रोएसियाले अग्रता लिएको थियो । त्यसअघि मोड्रिच पेनाल्टीमा गोल गर्न असफल भएका थिए । उनको पेनाल्टी इटालियन गोलरक्षक डोनारुमाले बचाएका थिए । मोड्रिचको गोलमा क्रोएसिया दोस्रो चरणको संघारमा पुगेको थियो ।तर क्रोएसियाको प्रयासमा इटाली बाधक बन्यो । इन्ज्युरी समयको आठौं मिनेटमा रिकार्डो कालाफिओरीको पासमा बक्सको छेउबाट माटिया जाकाग्नीले गोल गरेपछि समूहको उप विजेताका रुपमा इटाली अन्तिम १६ मा पुगेको हो।

इटालीको ३ खेलमा ४ अंक छ । क्रोएसियाको ३ खेलमा २ अंक मात्र छ । समूहमा तेस्रो हुने मध्ये शीर्ष ४ मा रहँदै अर्को चरण पुग्ने क्रोएसियाको सम्भावना कम छ ।

अल्बानिया १ अंक सहित समूहको पुछारमा छ ।

अन्तिम खेलमा अल्बानियामाथि १ ० को जित निकाल्दै स्पेन शतप्रतिशत नतिजा सहित समूहको शीर्ष स्थानमा रहेको छ।

Share Now