Prakash Adhikari June 26, 2024

 

क्यानबेरा(अष्ट्रेलिया), १२ आषाढ(बीबीसी) । संयुक्त राज्य अमेरिकाको एउटा अदालतले मुक्त गर्ने आदेश दिएपछि विकिलीक्सका संस्थापक जुलिअन असान्ज अस्ट्रेलिया फर्किनु भएको छ।

अमेरिकाको न्याय मन्त्रालयसँगको एउटा सम्झौताअन्तर्गत उहाँ बुधवार प्रशान्त महासागरस्थित टापु क्षेत्रको अदालतमा उपस्थित हुनुभयो। उक्त भूभाग अमेरिकाको स्वामित्वमा छ।

उक्त अदालतले असान्जलाई षड्यन्त्रसम्बन्धी एउटा मामिलामा मात्र दोषी ठहर गरेको थियो र तत्कालै उहाँलाई मुक्त पनि गर्ने आदेश दिएको थियो।

यद्यपि अमेरिकाको न्याय मन्त्रालयले असान्जलाई बिनाअनुमति अमेरिका आउन निषेध गरिएको जनाएको छ।

असान्जकी पत्नी स्टेलाले क्षमादानका लागि अनुरोध गरिने जानकारी दिनुभएको छ। क्षमादान पाए भने असान्ज अमेरिकी भूमिमा पुनः जान पाउनु हुने छ।

उक्त अमेरिकी अदालतका न्यायाधीशले असान्ज स्वतन्त्र व्यक्तिका रूपमा अदालतबाट बाहिर जान सक्ने आदेश दिनुभएको थियो।

असान्ज अमेरिकी न्याय मन्त्रालयसँग भएको एउटा सम्झौताबमोजिम मङ्गलवार यूकेको एउटा जेलबाट रिहा हुनुभयो। उहाँ बुधवार नोर्दन म्यारियाना आइल्यान्ड्सको अदालतमा उपस्थित हुनुभयो।

ुयूएस कमनवेल्थु मा रहेको उक्त क्षेत्र हवाई वा अमेरिकी सङ्घीय अदालतहरूभन्दा अस्ट्रेलिया नजिक अवस्थित छ।

उक्त अदालतको आदेशसँगै असान्ज जासुसीको आरोपमा अमेरिका सुपुर्दगी गर्न लागिएको अवस्थाविरुद्धको एक दशकभन्दा लामो सङ्घर्षपछि स्वतन्त्र व्यक्तिका रूपमा अस्ट्रेलिया फर्किनुभएको हो।

असान्ज अस्ट्रेलियाली नागरिक हुनुहुन्छ। अहिले उहाँ ५२ वर्षको हुनुभयो।

उहाँ मुक्त भएपछि अस्ट्रेलियामा उत्सव मनाइएको छ। अस्ट्रेलियाका प्रधानमन्त्री एन्थनी एल्बनिजीले असान्जको मुक्तिका लागि बोल्दै आउनुभएको थियो। गत सेप्टेम्बर महिनामा अस्ट्रेलियाली सांसदहरूको एउटा समूहले वाशिङ्टन डीसीको भ्रमण गरेर असान्जको मुक्तिका लागि आफ्ना समकक्षीहरूलाई दबाव दिएका थिए।

स्थानीय समयानुसार साँझ अस्ट्रेलियाको राजधानी क्यान्बरा पुग्दा उहाँलाई उहाँकी पत्नी र पिताले स्वागत गर्नुभएको थियो।

असान्जका एक वकिलले विकिलीक्सले आफ्नो काम जारी राख्ने र असान्ज वाक् स्वतन्त्रता र सरकारमा पारदर्शिताको पक्षमा उभिइराख्ने बताउनुभएको छ।

असान्जमाथि कस्तो आरोप

असान्ज् लन्डनस्थित एक्वडोरको दूतावासबाट सन् २०१९ को एप्रिलमा पक्राउ पर्नुभएको थियो। उहाँ त्यहाँ सन् २०१२ देखि बस्दै आउनुभएको थियो।

उहाँलाई स्वीडनमा बलात्कार र यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो। उहाँले ती आरोपहरू अस्वीकार गर्दै आउनु भयो। यद्यपि स्वीडन सुपुर्दगी हुनबाट जोगिन उहाँले एक्वेडोरको दूतावासमा शरण लिनुभएको थियो।

त्यस बेला सुरुमा स्वीडन र अन्ततः आफूलाई अमेरिकाको जिम्मा लगाउने उहाँको दाबी थियो।

गिरफ्तारीपछि सुरुमा उहाँलाई जमानतका सर्तहरू उल्लङ्घन गरेको आरोपमा ५० साताको जेल सजाय तोकिएको थियो।

त्यसपछिदेखि उहाँ लन्डनको सबैभन्दा धेरै सुरक्षा दिइएको भनिने बेल्मार्श जेलमा रहनु भयो ।

जुलिअन असान्जको मुद्दामा प्रमुख घटनाक्रम र मिति

सन् २००६ : असान्जले विकिलीक्सको स्थापना गरे। उनी त्यसका सहसंस्थापक थिए। त्यो वेबमा आधारित डेड लेटरबक्स हो। त्यसमा मानिसहरूले संवेदनशील सूचनाहरू चुहावट गर्ने गर्छन्।

२०१० एप्रिलः विकिलीक्सले इराकमा सर्वसाधारणमाथि अमेरिकी हेलिकप्टरबाट गोली चलाइएको फुटेज सार्वजनिक गरिदियो

२०१० अगस्टः स्वीडनका अभियोजनकर्ताहरूले पहिलो पटक असान्जविरुद्ध दुई फरकफरक यौन दुर्व्यवहारसम्बन्धी आरोपमा पक्राउपुर्जी जारी गरे। त्यसलाई असान्जले निराधार भनेर खण्डन गर्दै आउनुभएको छ ।

२०१० डिसेम्बरः असान्जलाई लन्डनमा गिरफ्तार गरियो र उहाँले तुरुन्तै जमानत पाउनुभयो। उहाँविरुद्ध अन्तर्राष्ट्रिय पक्राउपुर्जी पनि जारी भयो ।

जुलिअन असान्ज

एक्वडोर दूतावासमा उनको प्रवेश

मे २०१२ : यूकेको सर्वोच्च अदालतले उहाँमाथि लागेका आरोपबारे सोधपुछका लागि उहाँलाई स्वीडन सुपुर्दगी गर्नुपर्ने आदेश दियो ।

जुन २०१२ः असान्ज लन्डनस्थित एक्वडोरको दूतावासमा प्रवेश गर्नुभयो ।

अगस्ट २०१२ः असान्जलाई आधिकारिक रूपमा दूतावासले शरण दियो र दूतावासको कौसीबाट पत्रकारहरूलाई सम्बोधन गर्दै उहाँले आफूलाई सन्दिग्ध व्यक्तिका रूपमा लिँदै पछि लाग्ने काम गर्न छाडिदिन अमेरिकासँग माग गर्नुभयो ।

फेब्रुअरी २०१६ः संयुक्त राष्ट्रसङ्घीय एउटा समितिले असान्जलाई यूके र स्वीडेनका अधिकारीहरूले स्वेच्छाचारपूर्वक हिरासतमा राखेको र उहाँलाई स्वतन्त्रता दिन आह्वान गर्‍यो ।

मे २०१७ : स्वीडनका अभियोजनकर्ताले असान्जमाथिको यौन दुर्व्यवहारको अभियोग फिर्ता लिएको घोषणा गरे ।

असान्जका समर्थकहरूले उनलाई अमेरिका सुपुर्दगी गर्न नहुने भन्दै मे महिनामा यूकेस्थित एउटा अदालतबाहिर भेला भएका थिए

असान्जका समर्थकहरूले उनलाई अमेरिका सुपुर्दगी गर्न नहुने भन्दै मे महिनामा यूकेस्थित एउटा अदालतबाहिर भेला भए

अक्टोबर २०१८ः असान्जलाई एक्वेडोरको दूतावासले केही नियमहरू पालना गर्न लगायो। त्यसै महिना उहाँले एक्वेडोर सरकारविरुद्ध कानुनी कारबाही सुरु गर्न लागेको खुलासा भयो। उहाँले मौलिक हक र स्वतन्त्रताको उल्लङ्घन गरेको आरोप लगाउँदै कानुनी उपचार खोज्नुभएको थियो ।

एप्रिल २०१९ः लन्डन प्रहरी दूतावासभित्र प्रवेश गर्‍यो। एक्वेडोर सरकारको अनुमतिमा उहाँलाई पक्राउ गरियो। उहाँलाई सन् २०१२ मा जारी गरिएको पक्राउपुर्जीका आधारमा अदालतमा आत्मसमर्पण नगरेको भन्दै हिरासतमा लिइयो ।

जुलिअन असान्ज

बेल्मार्श जेल

मे २०१९ः असान्जलाई जमानतका सर्त उल्लङ्घन गरेको आरोपमा ५० साताको जेल सजाय सुनाइयो ।

मे २०१९ः स्वीडनले यौन दुर्व्यवहारबारे पुनःअनुसन्धान गर्दै अभियोजनको प्रक्रिया थाल्यो। अमेरिकाले असान्जविरुद्ध आफ्नो आरोपको पनि जानकारी दियो। उहाँले ब्रिटेनको अदालतमा सुपुर्दगीविरुद्ध कानुनी लडाइँ सुरु गर्नुभयो।

नोभेम्बर २०१९ः स्वीडनका अभियोजनकर्ताहरूले उहाँमाथिको बलात्कारसम्बन्धी अभियोग फिर्ता लिए ।

ज्यानुअरी २०२१ः यूकेका एक न्यायाधीशले असान्जको मानसिक स्वास्थ्यमा असर परेको भन्दै अमेरिकामा सुपुर्दगी गर्नुपर्ने अनुरोधलाई अस्वीकार गर्नुभयो। तर डिसेम्बरमा अमेरिकाले त्यसविरुद्ध मुद्दा जित्यो ।

जुन २०२२ः यूके सरकारले असान्जलाई अमेरिका सुपुर्दगी गर्ने आदेश दियो तर उहाँले गरेका पुनरावेदनमा अन्तिम निर्णय हुन बाँकी थियो ।

फेब्रुअरी २०२४ः असान्जका वकिलहरूले इङ्ल्यान्ड र वेल्सको सबैभन्दा माथिल्लो अदालतमा उहाँको सुपुर्दगी रोक्नको लागि अन्तिम कानुनी लडाइँ सुरु गर्नुभयो ।

मे २०२४ः असान्जले अमेरिकामा गरिने सुपुर्दगीविरुद्ध पुनः पुनरावेदन गर्न सक्ने उच्च अदालतले आदेश दियो ।

१९ जुन २०२४ः असान्जले अमेरिकासँग एउटा सम्झौतामा हस्ताक्षर गर्नुभयो र उच्च अदालतले उहाँलाई जमानत दियो ।

२४ जुन २०२४:असान्ज जेलबाट जमानतमा रिहा हुनुभयो र अमेरिकी न्याय मन्त्रालयसँगको सम्झौताअनुसार प्रशान्त क्षेत्रस्थित एउटा अमेरिकी अदालतमा उपस्थित हुन जानुभयो।

Share Now