Prakash Adhikari June 29, 2024

 

काठमाडौं, १५ आषाढ । गए राती परेको बर्षाका कारण आएको पहिरोमा परेर गुल्मी, स्याड.जा र बाग्लुड.मा जनधनको क्षति भएको छ ।

गुल्मीमा पहिरोले घर पुरिंदा पाँच जनाको मृत्यु भएको छ ।

मालिका गाउँपालिका–६ कडेल पाटामा भेषबहादुर कामीको घर पहिरोले पुर्दा एकै परिवारका ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सूर्यमान चौधरीले बताउनुभयो ।

स्याङ्जामा पहिरोले घर पुरिंदा आमाछोरीको मृत्यु

यस्तै स्याङ्जामा पहिरोले घर पुरिंदा आमाछोरीको मृत्यु भएको छ ।

फेदीखोला गाउँपालिका(५ मा शुक्रबार राति साढे ११ बजे आएको बाढीले घर बगाउँदा दुर्गा जिटी र उनकी तीन वर्षीया छोरीको मृत्यु भएको हो ।

सुतिरहेको बेला घरभन्दा २५ मिटर माथिबाट खसेको पहिरो उनीहररुलाई पुरेको प्रहरीले जनाएको छ ।

वृद्ध दम्पती घरसहित पहिरोमा पुरिए

बागलुङको गलकोट नगरपालिका–८ काँडेबाँसको बिसौनामा वृद्ध दम्पती घरसहित पहिरोमा पुरिएका छन् ।

बिसौनाका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीया वसन्ती गए राति पहिरोमा पुरिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिनुभयो । अहिले घटनास्थलमा प्रहरी टोली पठाइएको छ ।

यसैबीच पहिरोले मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ । । यस क्षेत्रमा शुक्रबारदेखि लगातार पानी परिरहेको छ । कालीगण्डकी करिडोर र बागलुङ–कुश्मीशेरा सडक पनि अवरुद्ध छ ।

Share Now