Prakash Adhikari June 29, 2024

 

किंग्स्टाउन(बार्बाडोस,वेष्ट इण्डिज), १५ आषाढ(एजेन्सी) । आइसीसी टी २० विश्वकप २०२४ को आज फाइनल खेल हुँदै छ ।

यस पटकको फाइनल खेल भारत र दक्षिण अफ्रिका बीच हुँदै छ ।

वेष्ट इण्डिजको बार्बाडोसस्थित किङ्सटाउन क्रिकेट रंगशालामा हुने फाइनल निकै रोचक हुने अनुमान गरिएको छ । प्रतियोगितामा भारत र दक्षिण अफ्रिका दुवै अपराजित रहँदै अन्तिम दुईमा पुगेका हुन्।

दक्षिण अफ्रिकाले खेलेका सबै ८ खेल जितेको थियो। समूह चरणमा क्यानाडा सँगको खेल रद्द भए बाहेक भारतले पनि खेलेका सबै खेल जितेको थियो। विश्वकपको फाइनल खेल नेपाली समय अनुसार राति ८ः१५ बजे सुरु हुने छ ।

दक्षिण अफ्रिका आइसीसी प्रतियोगिताको पहिलो उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रिदै छ भने भारत ११ वर्षयताको उपाधि खडेरी तोड्ने योजनामा छ ।

सन् २००७ मा दक्षिण अफ्रिकामै आयोजना भएको पहिलो संस्करणको विजेता भारत २०१४ को फाइनलमा श्रीलंकासँग पराजित भएको थियो ।

यस पटक दक्षिण अफ्रिका सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले हराउँदै आइसीसी प्रतियोगिताको फाइनलमा पहिलो पटक प्रवेश गरेको हो ।

भारतको भने टी २० विश्वकपमा यो तेस्रो फाइनल हो ।

भारतले सुपर एटमा एकदिवसीय विश्वकप च्याम्पियन अष्ट्रेलियालाई हराएको थियो। सेमिफाइनलमा साविक विजेता इंग्ल्यान्डलाई पराजित गरेको थियो।

 

Share Now