ब्रिजटाउन (बार्बाडोस, वेष्ट इण्डिज), १५ आषाढ । आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा भारतले दक्षिण अफ्रिकाविरुद्ध जितका लागि १ सय ७७ रनको लक्ष्य प्रस्तुत गरेको छ।
वेस्ट इन्डिजको व्रिजटाउनस्थित किङ्सटन ओभलमा टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७६ रनको योगफल तयार पारेको हो।
पाचौँ विकेटका लागि विराट कोहली र शिभम् दुवेले ५७ रनको साझेदारी गर्दै भारतलाई विशाल योगफलतर्फ पुर्याए।
ओपनर विराट कोहली ७६ रन बनाएर क्याच आउट भए। उनले ५९ बलमा ६ चौका र २ छक्का हाने । कोहली १८.५ ओभरमा मार्को जानसेनको बलमा कागिसो रवाडाको हातबाट क्याच आउट भए।
शिवम दुवे २७ रनमा क्याच आउट भए। १६ बलमा ३ चौका र १ छक्का हानेका दुवे अन्तिम ओभरको चौथो बलमा एनरिच कोर्टेजको बलमा क्याच आउट हुन पुगे।
पावर प्लेमा नै ३ विकेट गुमाएको भारतका लागि चौथो विकेटका लागि विराट कोहली र अक्षर पटेलले ७२ रनको साझेदारी गरेका थिए।
भारत एक समय ४.३ ओभरमा ३४ । ३ को अवस्थामा थियो। ३१ बलमा १ चौका र ४ छक्का हान्दै ४७ रन बनाएका पटेल १३.३ ओभरमा रन आउट भए।
भारतले दोस्रो ओभरमा नै महत्वपुर्ण दुई विकेट गुमायो। दोस्रो ओभरको चौथो बलमा कप्तान रोहित शर्मा ९ रन बनाउँदा केशव महाराजको बलमा क्याच आउट भए।
सोही ओभरको अन्तिम बलमा ऋषभ पन्त महाराज कै बलमा शून्य रनमा आउट भए। सूर्यकुमार यादव ३ रन बनाउँदा कागिसो रवाडाको बलमा क्याच आउट भए।
रविन्द्र जडेजा २ रनमा क्याच आउट भए। हार्दिक पाण्ड्या ५ रनमा अविजित रहे।
दक्षिण अफ्रिकाका लागि केशव महाराज र एनरिच कोर्टेनले समान २ । २ विकेट लिए। कागिसो रवाडा र मार्को जोनसनले समान १ । १ विकेट लिए।